‘बाहुनडन’ पूर्ण रूपमा समाजसेवा र राजनीतिमा लाग्ने, कुन पार्टीमा लाग्दै छन् ?

| बैशाख २६, २०८० बुधबार

A A A
A A A

२७ वैशाख, रामेछाप । एक समय ‘बाहुनडन’ नामले चर्चित रामेछाप दुरागाउँका सुजन पौडेल अब सामाजिक जीवनमा फर्किने भएका छन् । उनले भने ‘विगतलाई म, सम्झना चाहन्न अब नयाँ र समाजसेवा, राजनीति गरेर जिल्लाको विकास निर्माणमा टेवा, जनताको सेवा गर्ने योजना छ ।’ अबदेखि केही पनि गलत नगर्ने र राम्रो गर्नको लागि समग्र रामेछाप जिल्ला बासीले सहयोग गर्नु पर्ने उनको भनाई छ ।

 

मङ्गलवार मन्थलीमा रामेछाप टाइम्ससंग छोटो कुराकानी गर्दै पौडेलले यस्तो बताएका हुन् । उनले आफू सरकार र राज्यको नीति, नियम भित्र बसेर समाज र देश निर्माणमा लाग्ने योजना बताएका हुन् । ‘अबका दिनमा त्यस्तो गतिविधि केही हुँदैन । यहीँ बसेर राजनीति गर्छु । समाजसेवा गर्छु । अबको लाईफ् यसरी बिताउन चाहन्छु ।’

 

विगतमा एमाले पार्टीमा आबद्ध रहेको जानकारी दिँदै परिवर्तन हुन चाहेका 'बाहुनडन' पौडेलले केही समयपछि आफू कुन पार्टीमा लाग्ने भनेर बताउने उल्लेख गरे । ‘राजनीतिक माहौल हेरेर अगामी राजनीति बाटो अगाडि बढाउँछु । हेर्दै जाऊ ।’

 

विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा ९ वर्ष जेल जीवन बिताएर छुटेका पौडेल विगतमा गलत गरेको स्वीकार गर्दै अब त्यो बाटो त्याग्ने मनसायमा पुगेको जानकारी दिए । ९ वर्ष पछि गृह जिल्ला रामेछाप आएर एक हप्ता बिताएका पौडेलले यहाँ धेरै परिवर्तन भएको बताए । ‘धेरै परिवर्तन भएको छ । विकास निर्माण भएको छ । मान्छे, भवन, सडक सबै परिवर्तन भएको छ। अज विकास गर्न युवाहरूको खाँचो रहेको छ ।’

 

आफूले शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचार मुक्त भएको समृद्ध रामेछाप देख्न चाहेको बताए । युवाहरूलाई रोजगारी दिन कृषि र व्यवसायहरूमा लगाउन सक्नु पर्नेमा जोड् दिए । उनले विगतका सबै कुरा त्यागेकाले आफ्नो नाम दिएर गलत हुन सक्ने तर्फ सचेत हुँदै कसैले त्यस्तो गरेको खण्डमा ‘मलाई सिधै जानकारी गराउनुहोला’ भने ।