मन्थलीमा पेट्रोल पाउन मुस्किल, के अभाव भएकै हो ?

| बैशाख २७, २०८० बुधबार

A A A
A A A

२७ वैशाख, रामेछाप । जिल्लाको सदरमुकाम मन्थली स्थित पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थ नपाएको गुनासो बढेको छ । केही दिन यता पेट्रोल पम्प पुग्ने अधिकांशले पेट्रोल नपाएको गुनासो गरेका हुन् । 

 

जहाँ जाँदा पनि पेट्रोल छैन भन्छन् हैरान भई सक्यौँ ‘अभियन्ता’ समेत रहेका विपिन भट्टराईले भने ‘पेट्रोलको समस्या ठुलो भयो मन्थली बजारमा । म, खाँडादेवी र गोकुलगङ्गा जाँदा बसपार्कको पम्पमा तेल होला भनेर गए नभए पछि पारी पम्पमा गएर तेल हाले ।’ तीन वटै पेट्रोल पम्प धाए तर पेट्रोल छैन मात्रै भन्छन् अर्का मोटरसाइकल प्रयोग कर्ता कुमार श्रेष्ठले भने ‘तेल हाल्न पम्प गएको रित्तै फर्किनु पर्‍यो ।’ 

 

मन्थली बजारमा लक्ष्मी आयल स्टोर (रामेछाप जाने बाटो), शुभ समृद्धि आयल स्टोर भैसेश्वर र निलकण्ठेश्वर आयल स्टोर बसपार्क रहेका छन् । यी तीन वटा आयल स्टोरबाट पेट्रोलियम पदार्थ नपाए सिन्धुलीको खुर्कोट गएर पेट्रोल हाल्नु कि खिम्ती तर्फ धाउनु पर्ने प्रयोग कर्ता बताउँछन् । 

‘त्यस्तो अभाव त छैन । तर, केही समस्या भने देखिन थालेको छ ।’

यता आयल स्टोरका सञ्चालकहरू भने पेट्रोलियम पदार्थ अभाव नभएको बताउँछन् । जिल्लाकै सबै भन्दा ठुलो आयल स्टोर सञ्चालक जीवन बुढाथोकीले रामेछाप टाइम्सलाई भने ‘त्यस्तो अभाव त छैन । तर, केही समस्या भने देखिन थालेको छ ।’

 

उनका अनुसार आर्थिक मन्दी र बजार बटा पैसा नउठ्दा केही समस्या देखिएको तर अभावै भने छैन । उनका अनुसार बजारमा पेट्रोलियम पदार्थ अभाव देखिनुमा व्यवसायिहरुको चलखेल छ । 

 

 

उनले भने ‘हाम्रो पम्प एक दिन बन्द भयो भने अन्य व्यवसायीहरूले छैन भनेर बजारमा अभाव देखाउन खोज्ने र त्यसबाट २÷४ रुपैयाँ भए पनि नाफा लिन सकिन्छ कि भन्ने नियत देखिन्छ । अहिले हाम्रो पम्प विशेष कारणले २÷४ दिन बन्द भएको हो । त्यसैको फाइदा लिन यस्तो देखिएको हो अभाव हैन ।’

 

उनको बजारबाट ४ करोड बढी पैसा उठ्न बाँकी रहेको सुनाउँदै आर्थिक कारण आयातमा केही समस्या भने देखिएको जानकारी दिए । 

 

जिल्लामा प्रत्येक दिन करिब ३ हजार लिटर पेट्रोलियम पदार्थ आवश्यक पर्ने गरेको छ । जुन समृद्धि आयल स्टोरले १ हजार देखि १५ सय सम्म धान्ने गरेको सञ्चालक बुढाथोकी सुनाउँछन् । 

 

त्यस्तै निवर्तमान रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष समेत रहेका लक्ष्मी आयल स्टोरका सञ्चालक केशव घिमिरेले पनि पेट्रोलियम अभाव नरहेको बताए । ‘हिजो एक दिने सामान्य अभाव जस्तो देखिएको हो । अहिले त्यस्तो अभाव छैन ।’ 

 

डिजेल त अभाव छदै छैन । पेट्रोल हिजो नपाइएको हो, आइसक्यो अब समस्या छैन घिमिरेले थपे भाउ तत्कालै घट्दैन त्यो पनि भाउ घटेमा आफूहरूलाई घाटा लाग्ने भएकाले भएको तेल सबैले बच्ने बताए ।