खाँडादेवी गाउँपालिकाले ‘फ्री’ नेट र टेलिफोन सहित यी सुविधा उपलब्ध हुने ‘स्मार्ट चौतारा’ बनाउँदै (भिडिओ)

| बैशाख २८, २०८० बिहिबार

A A A
A A A

२८ वैशाख, रामेछाप । खाँडादेवी गाउँपालिकाले पालिकालाई स्मार्ट बनाउने उद्देश्यले ‘स्मार्ट चौतारा’ बनाउने भएको छ । ‘स्मार्ट चौतारा’ नेपालमै पहिलो अवधारणा भएको दाबी गरिएको छ । साथै यसको सही प्रयोग गर्न सके आफूहरूले वर्षौँ लगाएर गर्ने काम छोटो समयमै÷सजिलै गर्न सफल हुने पालिकाको भनाई छ । 

 

बुधवार रामेछाप टाइम्ससंग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले पालिकामा ‘स्मार्ट चौतारा’ बनाउने सार्वजनिक गरेका हुन् । ‘हामीले स्मार्ट सिटी, स्मार्ट फोन धेरै सुन्यौँ । त्यस्तै अब गाउँमा रहेका पुराना चौतारीहरूलाई स्मार्ट बनाएर त्यसको सक्दो सदुपयोग गरेर पालिकालाई स्मार्ट बनाउने हो । त्यसको लागि आवश्यक कामहरू अन्तिम चरणमा पुगेका छन् । सुरुवात पनि गरी सकेका छौँ ।’

 

९ वटा वडा रहेको पालिकामा जनघनत्वलाई हेरेर र मागको आधारमा उपयुक्त ठाउँमा ‘स्मार्ट चौतारो’ बनाउने अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले थपे ‘पुराना भएकालाई मर्मत गर्छौँ । नभएका ठाउँमा नयाँ बनाउँछौँ । त्यसमा स्वच्छ पिउने पानी,निःशुल्क टेलिफोन, फ्रिवाइफाई, मोबाइल चार्जिङको व्यवस्था र स्मार्ट ट्याब्लेट (आई प्याड) को व्यवस्था हुन्छ ।’

 

‘हामी सबै मोबाइलमा मात्रै केन्द्रित भयौँ । स्मार्ट चौतारो भयो भने त्यो बानी सुध्रिन्छ । सामूहिक छलफल हुन्छ । वृद्धदेखि युवाहरू सम्म चौतारीमा रमने छन् ।’

 

यी सुविधा भएको ‘स्मार्ट चौतारा’ भएमा विद्यालय, कलेजका बालबालिका, किशोर-किशोरीले अनलाइनबाट पढ्ने, साँझ पखा जमघट हुने, मोबाइलले बनाउँदै गएको एकलौटी बानीलाई सामूहिकमा बदल्ने दाबी अध्यक्ष श्रेष्ठको छ । ‘हामी सबै मोबाइलमा मात्रै केन्द्रित भयौँ । स्मार्ट चौतारो भयो भने त्यो बानी सुध्रिन्छ । सामूहिक छलफल हुन्छ । वृद्धदेखि युवाहरू सम्म चौतारीमा रमने छन् ।’

 

एउटा स्मार्ट चौतारी बनाउन करिब ८० हजार देखि १ लाख रुपैयाँ सम्म लागत लाग्ने पालिकाको योजना छ । ‘सस्तो लागतमै हामी स्मार्ट बन्ने सक्छौँ । त्यसैले यो गर्न लागेका हौँ ।’ ९ वटा वडामा गरी २५ वटा स्मार्ट चौताराको योजना गरिएको छ । 

ज्ञानकुमार श्रेष्ठ

यसरी राखिएका सबै विभिन्न उपकरण÷प्रविधिको आवाज रेकर्ड हुने सिसिटिभी क्यामेराले पालिकाको एक कक्षबाट २४ सै घण्टा निगरानी गरेर त्यसको सदुपयोगमा काम गर्ने तयारी लगबग सकिन लागेको अध्यक्षको भनाई छ । 

 

विज्ञान र प्रविधिलाई भरपुर प्रयोग गरेर आधुनिक र व्यवस्थित पालिका बनाउने योजना सुनाउँदै पालिका अध्यक्ष श्रेष्ठले जनताको घरदैलो सेवालाई प्राथमिकता दिएको बताए । उनले अहिले युग प्रविधिको युग भएकाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सबैलाई प्रविधिको प्रयोगबाट छिरो–छरितो बनाउन सिङ्गो पालिका लागेको बताए । 

 

ड्रोनबाट बिषादि तथा औषधि कृषिमा प्रयोग गर्न सकिने सम्मको योजना सुनाउँदै यो वर्ष शैक्षिक सुधारमा दत्त चित्त भएर लागेको बताए ।