मन्थली–१२ गेलुः पानीको चरम अभावमा गाउँ, पानी सापटी लिने चलन, राति ३ बजे देखि लाइन (भिडिओ)

| बैशाख ३१, २०८० आइतबार

A A A
A A A

३१ वैशाख, रामेछाप । मन्थली नगरपालिका वडा नं १२ गेलु सिक्राल स्थित भुमेथान गैरामा पानीको चरम अभावले स्थानीयहरू हत्तु हैरान भएका छन् । खानेपानी र घरायसी प्रयोजनको लागि अति नै आवश्यक पानीको मुहान गाउँ भरी कतै नहुँदा स्थानीयहरू आधा घण्टा लाग्ने काली थान गैराबाट मुहानको पानी बोक्न बाध्य छन् । 

 

त्यो ठाउँमा पनि पानी पर्याप्त मात्रमा आउँदैन । हिउँदा याम लागेसँगै झन् समस्या हुने गरेको कक्षा १० (एस.इ.ई) को परीक्षा दिएर बसेकी किशोरी अञ्जली आछामीले सुनाइन् । ‘कहिले कहीँ पढ्न जान पाइँदैन । राति ३ बजेदेखि धारामा लाइन हुन्छ । बोकेको पानीले नुहाउन, कपडा धुन, गाई वस्तुलाई खुवाउन भने जति पाइदैन् । पानीकै कारणले पढ्न, होमवर्क गर्न  पनि पाइँदैन ।’ 

 

उनले थपिन् ‘घरमा पानी हुँदैन । पानी लिनलाई आएपछि कहिले एक बिहान, दिनै लाग्छ । कहिले त त्यो पनि आउँदैन । पानीकै कारणले धेरैको पढाइ बिग्रन्छ ।’

 

करिब ८० घर धुरीले हाल सम्म यसरी गाग्रोमा मुहानको पानी बोकेरै प्रयोग गर्दै आएका छन् । चालु आर्थिक वर्षको बजेटबाट वडाले पुरानो ढुङ्गे धारोलाई पुनः निर्माण गरेर नयाँ धारो बनाएको छ । वडा अध्यक्ष खिलेन्द्र खत्री भन्छन् ‘पानीको मुहान नै नभएर समस्या भएको हो । मुहान भए जसरी पनि पानी खुवाउने चाहना छ । अहिले यसै मुहानलाई राम्रो बनाएका छौँ ।’ 

वडाले बनाएको नयाँ पानी धारो,तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

मन्थली नगरपालिकाले ‘एक घर, एक धारो’ अवधारणा लिएको छ । तर, घरमा धारो र शौचालय भए पनि पानी अभावमा तिनको प्रयोग बिहिन् छन् । ‘यी भएर के गर्नु प्रयोग गर्न पानी छैन स्थानीय मैयाँ आछामीले सुनाइन् । 

 

सो ठाउँका जनतालाई पानी खुवाउन तामाकोसी नदीबाट लिफ्ट गरेर पानी तान्ने काम भइरहेको वडा अध्यक्ष खत्रीले सुनाए । तर, यो पानी घर घरमा आउन अझै ५ वर्ष लाग्ने सुनेको स्थानीय महिला मैयाँले सुनाइन् । ‘आउँदै छ भन्छन्,  ५ वर्ष लाग्छ रे । कहिले आउने हो थाहा छैन ।’ 

पानी लिन मुहान तर्फ आउँदै गैता तल्लो टोलकी एक महिला, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

मैयाँले पानी अभावले स्थानीय र आफूले भोग्दै आएको समस्याको फेरिस्ता सुनाउँदै चुनावमा भोट माग्न आउँदा नेताहरूले घर–घरमा धारो, पानी ल्याइदिने सपना बाँडे पनि चुनाव जिते पछि नदेखिएको सुनाउँछिन् । 

 

पानी कै कारण कहिले कहीँ झगडा समेत पर्ने गरेको सम्झना छ उनलाई । कहिले घरमा पानी नभएर छिमेकीकोबाट पानी सापटी मागेर काम चलाएको पनि उनले सुनाइन् । ‘एक बोतल मागेर भोलि ल्याइदिन्छु भनेर कति खाइयो ।’

 

पानी कै समस्याले घरमा पाउन पनि नआए पनि हुन्थ्यो जस्तो हुन्छ खिसिक्क हाँस्दै उनले भनिन् । ‘पाउन आएपछि अरुत खाना दिन सकिन्छ जसो-तसो । तर, के गर्नु पानी हुँदैन । पाउनलाई भन्न पनि गाह्रो । ट्वाइलेटमा पनि पानी, खाना पानी, पकाउन पानी, गाई, भैँसीलाई पानी । केटा–केटीलाई स्कुलमा पनि पठाउनै पर्‍यो एक दिनमा ९/१० गाग्रो पानी चाहिन्छ । कहिले त पानीमै दिन बित्छ ।’ 

पानी थाप्दै स्थानीय महिला,तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

पानी भएत मेलाको काम, घरायसी काम सबै बेलैमा गर्न सकिन्थ्यो । छतमा पनि तरकारी रोपेर खाना सकिन्थ्यो । तर,के गर्न यस्तै छ । पानीको प्यास त्यहाँ मान्छे देखि गाई वस्तुले समेत धित मर्ने गरी मेटाउन पाउँदैनन् । 

 

पहिले-पहिले त आकाशे पानी पर्थो । अबत पानी पर्न पनि छाड्यो । बोकेर लगेको पानीले के–के पो गर्नु र ?

 

बिहानको करिब १० बज्नै लाग्दा त्यहाँ पानी थाप्ने रित्ता भाँडाको लामै लाइन् थियो । हामी करिब आधा घण्टा बस्न नपाउँदै लाइन् थपिँदै जान थाल्यो । त्यहाँका महिला, आमा, दिदी बहिनीको दिन चर्या नै जता हिँडे पनि घरबाट रित्तो भाँडो बोकेर हिँड्नु पर्ने बाध्यता  छ । ताकि घर फर्किँदा पानी पनि लिएर पुगियोस् । 

 

दूधे आमाहरूलाई झन् समस्या छ कि गाग्रोसँगै नानीहरू काखी च्यापेर मुहान पुग्नु पर्छ ।