करिब ८ वर्षपछि बन्यो गुम्देल–क्यामा जोड्ने पक्की पुल

| जेठ ३, २०८० बुधबार

A A A
A A A

३ रामेछाप । रामेछापको उत्तरी क्षेत्र गुम्देलमा तत्कालीन जिल्ला विकास समिति (जिविस) हुँदा देखि निर्माण सुरु भएको पक्की सडक पुल करिब ८ वर्ष पछि बनेको छ । साबिकको वडा नं ४ गुम्देल र वडा नं २ क्यामा जोड्ने पाँइटार र क्यामा खोलामा बनेको पक्की पुल निर्माण सकिएको पूर्वाधार विकास कार्यालय रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । 

 

जिल्ला विकास हुँदा २०७३ साल भदौ १६ गते ०७४ साल कात्तिक १६ गते सम्पन्न गर्ने गरी खम्पाचे थापा जेबी निर्माण व्यवसायीले सम्झौता गरेका थिए । तर, तत्कालीन अवस्थामा कुनै काम सुरु नगरी सम्झौता मिति टरेपछि दुर्गम गाउँ जोड्ने पुल निर्माणको काम अलपत्र बनेको थियो । पछि जिल्ला समन्वय समितिले पुल निर्माणको जिम्मेवारीमा पुगे पनि निर्माणले गति लिन सकेन ।

 

पुल नबन्दा साबिकका वडा नं १ लाच्छेवा र वडा २ क्यामाका स्थानीय खहरे खोलामाथि जोखिम पूर्ण यात्रा गर्दै आएका थिए । सो अवस्थामा पुल निर्माण अलपत्र भएपछि त्यहाँका स्थानीयले सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराए । साथै उमाकुण्ड गाउँपालिका वडा नं १ र पालिकाले समेत सम्बन्धित निकायको ध्यानाकर्षण गरेका थिए । 

स्थानीय युवा ङापेम्बा शेर्पाले भने ‘हामीले पुल बन्छ भन्ने आशा मारी सकेका थियौँ । तर, बन्यो हामी खुसी छौँ ।’ पुल बनेपछि विद्यार्थी, वृद्धवृद्धा,पशुचौपाए (खच्चड), जप्के, हिँड्नै भए पनि सहज भएको छ । गाडी पनि जान्छ’ उनले खुसी हुँदै भने ।

 

पुल निर्माणको पटक–पटक गरी ३ पटक म्याद थप गरी पूर्वाधार विकास कार्यालयले गत चैत्र ३० गते सम्पन्न गरेको सो पुलका प्राविधिक अच्युत पोखरेलले रामेछाप टाइम्सलाई बताए । ‘विगतमा यो योजना अलपत्रै जस्तो बनेको हो । हामीले जिम्मा लिएपछि सम्पन्न गरेका हौँ’ उनले भने ‘पहिलो कुरा त भौगौलीक विकटताको कारण निर्माण व्यवसायीहरू जानै मानेनन् । अर्को कुरा कोरोना महामारीको लकडाउन, मूल्य वृद्धि लगायत विभिन्न कुराले गर्दा समस्या भयो । हामीले पटक–पटक खबर गर्दा पनि अटेर गरेपछि कम्पनीलाई कालो सूचीमा राख्ने पक्रियामा समेत जान थालेपछि कम्पनीले काम गर्‍यो ।’

 

लामो समयदेखि अलपत्र बनेको पुल सम्पन्न भएकोमा खुसी हुँदै प्राविधिक पोखरेलले भने ‘यो निर्माण व्यवसायीले १० प्रतिशतका दरले क्षतिपूर्ति समेत तिर्नु परेको छ । उनका अनुसार काम गर्न आलटाल गर्ने खम्पाचे जेबीले २७ लाख ५२ हजार ४ सय ९४ रुपैयाँ ४८ पैसा क्षतिपूर्ति बापत तिरेको छ । साथै गत वर्षको बर्खामा खोलामा आएको बाढीले आधा बनेको पुलको संरचना बगाएको थियो ।

 

तत्कालीन जिविसले ३ करोड ४८ लाख ६२ हजार ८७१ रुपैयाँ ९५ पैसा लागत अनुमान गरेको पुल कूल २ करोड ५१ लाख ५६ हजार ५२१ रुपैयाँ ३३ पैसामा सम्पन्न भएको हो ।