मन्थली नगरको ५० प्रतिशत अनुदानमा किसानले ल्याए जिल्लामै पहिलो पटक दूध दुने मेसिन

| जेठ १४, २०८० आइतबार

A A A
A A A

१४ जेठ, रामेछाप । मन्थलीका एक किसानले मेसिनको प्रयोगबाट गाईको दूध दुन थालेका छन् । आधुनिक प्रविधिको प्रयोग गर्दै दूध उत्पादन सहज तरिकाले गर्नको लागि मेसिन खरिद गरिएको मेसिन खरिद कर्ता एवं मिना पशुपालन फर्मका संचालक मनोज श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

‘आज देखि मेसिनले दुन सुरु गरेको छु । नगरपालिकाको ५० प्रतिशत अनुदानमा खरिद गरेर प्रविधिको प्रयोग गर्न थालेको हुँ, श्रेष्ठले भने १६ वटा माऊ गाई, ४ वटा बाछी र एउटा गोरु छ । व्यावसायिक पशुपालनलाई थप सहज गर्न मेसिन किने ।’

 

 

मन्थली नगरपालिका वडा नं १ सोलमारी स्थित मिना पशुपालन फार्मले जिल्लामै पहिलो पटक मन्थली नगरपालिकाको ५० प्रतिशत लागत साझेदारीमा मेसिन खरिद गरेर ८३ हजार रुपैयाँमा मेसिन ल्याएका हुन् ।  

 

गत ४ वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आएका श्रेष्ठ दाम्पतिले समय अनुसार ३ सय लिटर सम्म दूध बिक्री गर्ने गरेको श्रेष्ठले रामेछाप टाइम्सलाई सुनाए । ‘पहिले ३ सय सम्म बेच्थ्यौँ । अहिले गाई ब्याउने तयारीमा छन् । डेढ सय सम्म बेच्छौँ ।’ प्रविधिको प्रयोग गर्न सिक्ने र समयको पनि बचत गर्नको लागि यो मिसिने खरिद् गरिएको संचालक श्रेष्ठले बताए । 

नगरपालिका पशु सेवा तर्फको चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारी अनुदानमा मगाएको मिल्किङ मेशिन जिल्लामै पहिलो पटक भित्रिएको नगरपालिकाका पशु सेवा उपशाखा प्रमुख मुकुन्द खड्काले रामेछाप टाइम्सलाई बताए । 

 

नयाँ प्रविधि भित्रिएकोमा खुसी व्यक्त गर्दै शाखा प्रमुख खड्काले भने ‘खुसीको कुरा हो, हामी प्रविधिलाई प्रयोग गरेर जनतालाई व्यावसायिक बनाउन लागि परेका छौँ ।’

 

उनका अनुसार अन्य किसानहरूले पनि अन्य प्रविधिको माग गरेका छन् । दूधको दुने मेसिन भने एउटा मात्रै माग भएकाले नगरपालिकाले बिल अनुसार भुक्तानी दिने गरी किसान आफैले खरिद गरेर ल्याएको जानकारी दिए ।