नवजागरण साकोसः बंगलादेशी टोलीले भ्रमण गर्‍यो, वैशाख सम्म ३४ लाख बढी शुद्ध नाफा

| जेठ १६, २०८० मंगलबार

A A A
A A A

१६ जेठ, रामेछाप । जिल्ला सदरमुकाम मन्थली स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्थामा बंगलादेशका सहकारी अभियन्ताको टोलीले अवलोकन भ्रमण गरेको छ । आर्थिक तथा भौतिक रूपमा अबल रूपमा अगाडि बढ्दै गरेको नवजागरणमा बंगलादेशको बचत तथा ऋण सहकारी केन्द्रीय संघबीच विगत १३ वर्षदेखि हुँदै आएको सद्भावना भ्रमण तथा अनुभव आदान प्रदान गरिएको नवराजगणका व्यवस्थापक रमेश उदासले रामेछाप टाइम्सलाई बताए ।

 

‘सहकारी अभियान्ताहरु आउनु भएको हो । संस्थाका बारेमा हामीले हाम्रो, उहाँहरूले आफ्नो कामका बारेमा अनुभव आदान–प्रदान भयो । पहुनालाई बस स्थान व्यवस्था गर्‍यौँ ।’

 

सोमबार भएको उक्त अवलोकन भ्रमण कार्यक्रमलाई नवजागरण सहकारीकाले अध्यक्ष श्याम थापाको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरेर स्वागत गरेको थियो । विदेशी टोली गत जेठ १३ गतेदेखि यही १८ गतेसम्म २६ औँ सहकारी सद्भावना भ्रमणमा गर्ने योजना सहित भ्रमणमा निस्किएको भ्रमण टोलीका सदस्य एवं (नेफ्कुन) का कार्यक्रम अधिकृत रञ्जनमणि पौडेलले बताए । 

उनले नवजागरण सहकारी सहकारीको स्थापना २५ जना महिलाहरूबाट भएको सुन्दा खुसी लागेको उल्लेख गर्दै सहकारीहरूको विकासको लागि नवजागरणको टिमले गरेको काम निकै महत्त्वपूर्ण रहेको बताए । 

 

नवजागरण साकोसका बरेमा अध्यक्ष श्याम थापा, सचिव शोमेश थापा र कोषाध्यक्षले संस्थागत जानकारी गराएका थिए । 

वैदेशिक सहकारी भ्रमणबाट अनुभव संगालन आएको सो टोलीले नवजागरण बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरूलाई समेत आफ्नो देशका सहकारी अवलोकन गर्न आउन निमन्त्रणा दिएको नवजागरण साकोसका व्यवस्थापक उदासले जानकारी दिए । 

 

वैशाख समान्त सम्म नवजागरण साकोसले कमायो ३४ लाख शुद्ध नाफा

नवजागरण साकोसले गत साउनदेखि वैशाख मसान्त सम्म ३४ लाख २७ हजार शुद्ध नाफा कमाएको व्यवस्थापक उदासले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार सोही अवधिमा कूल ५ करोड ५७ लाख आम्दानी गर्दा ५ करोड २२ लाख कुल खर्च गरेको छ । 

 

जिल्लाको मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, खाँडादेवी गाउँपालिका र रामेछाप नगरपालिका गरी चार वाट स्थानीय तहका ३९ वडालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको साकोसले वैशाख मसान्त सम्म ४ करोड ४० लाख शेयर पुँजी, ४७ करोड ५९ लाख बचत, ६ करोड ९४ लाख संस्थागत पुँजी, २ करोड ६७ लाख जोखिम कोष र अन्य कोष २ करोड ६७ लाख रहेको जानकारी दिएको छ । 

त्यस्तै ऋण ४० करोड ४३ लाख लगानी गर्दा ३ करोड ७ लाख स्थिर सम्पत्ति छ । भने, अन्य सम्पत्ति ५० लाख ६८ हजारको रहेको संस्थाका अध्यक्ष श्याम थापाले जानकारी गराए । 

 

त्यस्तै नवजागरणले हाल सम्म ५३ लाख ३९ हजार  लगानी गरेको छ । भने, नवजागरण साकोससंग ६२ लाख ६१ हजार कूल सम्पत्ति रहेको व्यवस्थापक उदासले जानकारी दिए ।