लिखु–२ः सुरुङमा पानी हाल्न बन्द, जम्मा भएको पानी आयोजनाले नफाल्दा समस्या जस्ताको तस्तै

| जेठ १७, २०८० बुधबार

आयोजनाको ड्यामसाइद, फाइल फोटो
A A A
A A A

१७ जेठ, रामेछाप । सुरुङबाट ‘टेस्टिङ’को लागि हालिएको पानी चुहिएको आशंकामा पानी बन्द गर्नु पर्ने भन्दै स्थानीयले आन्दोलन गरेपछि लिखु–२ जलविद्युतको सुरुङमा हालेको पानी तत्कालको लागि बन्द गरिएको छ । 

 

सुरुमा पानी हालेपछि आयोजना (जलविद्युत उत्पादन गर्ने पावसहाउस क्षेत्र) उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको  कोर्याम, पेकरनास र बच्छी लगायतका बस्तीका दर्जन भन्दा बढी स्थानबाट पानीको खोल्सा, भुल्का हुँदै निस्किएपछि स्थानीय आयोजनाको कारण विस्थापित हुने स्थिति आएको भन्दै आन्दोलन गरेका थिए । २ बुँदे माग गर्दै आन्दोलित भएका उनीहरूको माग सम्बोधन ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत् विकासले गरेपछि सुरुङमा पानी नहाल्न भनेको थियो । 

 

त्यसपछि अहिले सोमबार अबेरदेखि पानी बन्द गरिएको छ । तर, बस्तीमा पानी भने आइरहेको त्यहाँका स्थानीय सुवास बस्नेतले रामेछाप  टाइम्सलाई जानकारी दिए । उनले भने ‘सुरुङमा पानी हाल्न बन्द त गरियो । तर, पहिलेको पानी फालिएको छैन । तल पानी झर्नु पर्ने ठाउँ खोलिएको छैन । यसले गर्दा पानी बन्द मात्रै गरेर समस्या समाधान हुँदैन । अहिले भएको पानी सबै रित्तो बनाउनु पर्छ । हाम्रो माग त्यसपछि मात्रै थाहा हुन्छ ।’

 

 

उनका अनुसार सुरुङमा पानी नहालिए पनि जम्मा भएको पानी केही हप्ता सम्म पुग्ने रहेकाले उक्त पानी झर्नु पर्ने ठाउँबाट नझार्दा सम्म पानी सकिने छैन । उनले थपे ‘सुरुङमा जम्मा भएको पानी आयोजनाले फालेर नसुकाउँदा सम्म समस्या जस्ताको तस्तै हुने देखिन्छ । त्यसैले त्यो बन्द गरेर मात्रै यो समस्याको समाधान हुँदैन ।’

 

‘मान्य’  सहितको टोलीले पनि उक्त क्षेत्रको स्थलगत अनुगमनमा आउने

 

सुरुङको पानी चुहिएको हो या हैन भन्ने विषयमा मन्त्रालयको विज्ञ सहितको टोलीले स्थलगत अनुसन्धान गरिरहेको छ । उनीहरूको प्रतिवेदनले पनि थप प्रस्ट हुने अपेक्षा गरिएको छ । यसअगाडि जिल्ला प्रशासन, सुरक्षा निकायहरू सहितको टोलीले पनि स्थलगत अनुगमन गरी सकेको छ । 

 

त्यस्तै मंगलबार ‘मान्य’  सहितको टोलीले पनि उक्त क्षेत्रको स्थलगत अनुगमनमा आउने भनिएको स्थानीय सुवासले रामेछाप टाइम्सलाई बताए । 

 

मंगलबार आयोजनाले पारेको प्रभाव र असरको बारेमा पालिका अध्यक्ष शेरबहादुर सुनुवार र उपाध्यक्ष सावित्री सुनुवारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि भेटेर ध्यानाकर्षण गरेको जानकारी उपाध्यक्ष सुनुवारले दिएकी छन् ।