गोकुलगंगाको फर्पुबाट सुरु भयो भूमिहीन र अव्यवस्थित बसोबासीका लागि जग्गाको निस्सा वितरण

| जेठ १८, २०८० बिहिबार

A A A
A A A

१८ जेठ, रामेछाप । गोकुलगंंगा गाउँपालिकामा जिल्लामै पहिलो पटक भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण सुरु भएको छ । राष्ट्रिय भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापनका लागि निवेदन फारम दर्ताको निस्सा वितरण तथा जग्गा नाप जाँच कार्य प्रारम्भ भएको पालिकाले जनाएको हो । 

 

राष्ट्रिय भूमि आयोग जिल्ला कार्य समिति रामेछापको सहजीकरण र गोकुलगंगा गाउँपालिकाको आयोजनामा बुधवारदेखि जग्गाको निस्सा वितरण तथा नापी कार्य सुर भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाले जानकारी दिए । ‘हामीले चरणबद्ध रूपमा सुरु गरेका छौँ, सबैलाई वितरण गरिनेछ ।’

यसअगाडि राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउनका आह्वान गरेको थियो । सो क्रममा पालिकामा भूमिहीन र सुकुम्वासीको ९२ वटा र अव्यवस्थित बसोबासीहरुको १ हजार १०० निवेदन परेको पालिकाले जनाएको हो । 

 

सो निवेदनमाथि जाँच–बुझ र प्रविष्ट गर्ने क्रममा बिहीबार पालिकाको वडा नं ६ फर्पुमा वडा अध्यक्ष चन्द्रबहादुर सुनुवार, पालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश), उपाध्यक्ष उषा कार्की, भूमि आयोगका रामेछापका प्रमुख गौतम लामा सहितको जग्गाको निस्सा र नापी कार्य प्रारम्भ गरेको वडा अध्यक्ष सुनुवारले बताए । 

 

वडा अध्यक्ष सुनुवारका अनुसार ६ नं वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको एउटा पनि उजुरी दर्ता भएको छैन, भने अव्यवस्थित बसोबासीहरुको ८७ वटा निवेदन परेको छ ।

 

प्रशासकीय प्रमुख थापाका अनुसार पालिकामा हालसम्म ७ सय अव्यवस्थित बसोबासीहरुको निवेदन दर्ता भएका छन् । निवेदन दिई छनौटमा परेकाहरूलाई छिट्टै जग्गा व्यवस्थापन गराउने गरी तीव्र गतिमा काम भइरहेको पालिका अध्यक्ष (दिनेश) ले बताए ।