बाबियाखर्काको शारदा संस्कृत मावि : पढाई सुधार्न विद्यार्थीले नै लागू गरे शिक्षकलाई १५० विद्यार्थीलाई २० रुपैयाँ जरिवाना नीति

| जेठ २१, २०८० आइतबार

शारादा संस्कृत मावि, बाबियाखर्क
A A A
A A A

२१ जेठ, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ को बाबियाखर्का स्थित शारदा संस्कृत माविमा विद्यालयको पठनपाठन सुधारको लागि विद्यार्थीहरूले नै नयाँ विधि लागू गरेका छन् । शिक्षा सुधारको निम्ति यस्तो विधि लागू गर्ने जिल्लाकै पहिलो विद्यालय भएको दाबी गरिएको छ । 

 

२०८१ सालमा जिल्लाकै पहिलो बालमैत्री स्थानीय तह घोषणा गर्ने गरी विभिन्न चरणमा काम भइरहेको यो नगरपालिकामा टोल, वडा, नगर बाल सञ्जाल र विद्यालयमा बाल समूह गठन भएर तीव्र गतिमा चरण–चरणका काम हुँदै आएको छ । 

 

सोही बाल समूहले विद्यालयमा पठनपाठनलाई थप गुणस्तरीय र सिकाई मूलक बनाउनको लागि आफ्नो विद्यालयमा एक नीति अवलम्बन गरेका छन् । जुन विधिको प्रभावले शिक्षामा सुधार र पठनपाठनमा सबैको ध्यान तानेको प्रधानाध्यापक नारायण प्रसाद घिमिरेले रामेछाप टाइम्सलाई जानकारी दिए । (प्रअ) घिमिरेका अनुसार विद्यालयमा गठित बाल समूहले पठनपाठन सुधारको लागि शिक्षक र विद्यार्थीलाई ‘जरिवाना’ नीति लिएको हो । 

 

‘बाल समूह बनेपछि अहिले विद्यार्थीहरू चलाख भएका छन् । केही न÷केही नयाँ गर्न रुचि देखाउँछन् ।

 

‘बालबालिकै आफैले यो विधि लागू गरेका छन् । कक्षा कोठामा शिक्षक तोकिएको समयमा ढिला आएमा रु १५० जरिवाना विद्यार्थीले असुल्छन् । भने, विद्यार्थी ढिला आएमा समूहले बनाएको ‘मोनिटर’ले रु २० देखि ५० सम्म ‘जरिवाना’ लिने विधि लागु गरेका छन्, प्रअ घिमिरेले खुसी हुँदै भने ‘यो विधि लागू गरेपछि विद्यार्थी ढिलो पुग्ने र शिक्षक अल्छी गरेर ढिलो कक्षामा जाने परिपाटी हटेको छ । शिक्षक त, लाजले पनि जान्छन् । कति दिन जरिवाना विद्यार्थीलाई तिर्नु ढिला हुने बित्तिकै जरिवानामा परिन्छ भनेर पहिले ल्यार्याङ–त्यार्याङ गर्नेहरू अहिले टाइममा क्लासमा जान्छन् ।’

 

(प्रअ) घिमिरेले थपे ‘बाल समूह बनेपछि अहिले विद्यार्थीहरू चलाख भएका छन् । केही न÷केही नयाँ गर्न रुचि देखाउँछन् । कार्यक्रमहरू आफै आयोजना गरेर गर्छन् । शुक्रवार, विभिन्न दिवस पारेर सरसफाइ, सामूहिक सहभागिता हुने क्रियाकलापहरू गर्नु पर्छ भन्छन् हामी उनीहरूको काममा साथ दिन्छौँ । हुँदैन भनेर निराश पार्दैनौँ । अन्तिममा फिट ब्याक मात्रै दिन्छौँ । अर्को पटक देखि सुधार पनि गर्न थालेका छन् । यो समूहले बालबालिकालाई केही गरौँ भन्ने बनाएको छ ।’ 

दलित विद्यार्थीहरू समेत संस्कृति पढ्दै आएको यो माविमा ‘राधाकृष्ण बाल समूह’ ले यस्तो नीति लागू गरेर पठनपाठन गुणस्तरीय बनाउन लागि परेको नगरपालिकाका कानुनी सल्लाहकार कुशहरि दाहालले पनि बताए । 

 

विद्यालयको पठनपाठन सुधारको लागि विद्यार्थी नै सक्रिय बन्दा विगतको भन्दा पढाइमा केही सुधार देखिन थालेको शिक्षकहरूको पनि अनुभव छ । थोरै विद्यार्थी भएर पनि गुणस्तरीय पठनपाठन नहुँदा अहिले सो नगरपालिकामा नै धमाधम ‘विद्यालय मर्ज’ समेत हुँदै आएको अवस्थामा शारदा माविमा विद्यार्थीकै जोड् बलमा शिक्षा सुधार गर्न पाउँदा खुसी लागेको प्रअ घिमिरे बताउँछन् । 

 

‘यो बालमैत्री स्थानीय तहको मुख्य प्रभाव हो ।’  

१९६ जना कूल विद्यार्थी सङ्ख्या रहेको यो माविमा १५ जना शिक्षक–शिक्षिका अध्यापनरत छन् । विद्यालयको पठनपाठन सुधार हुनुमा नगर बालमैत्री तर्फ अग्रसर हुनु र त्यसको प्रभाव रहेको सोही विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री नयाँघरेले रामेछाप टाइम्सलाई बताए । 

 

 

‘अहिलेका बालबालिका पनि प्रविधि, सूचना र जिज्ञासु छन् । स्थानीयहरूको राम्रो सहयोग र सहकार्य रहँदा सुधार हुँदै छ । यसमा अभिभावकको पनि विशेष भूमिका रहँदै आएको छ (पूविव्यस) अध्यक्ष नयाँघरेले भने ‘यो बालमैत्री स्थानीय तहको मुख्य प्रभाव हो ।’

 

विद्यार्थी, शिक्षक र अभिभाव÷स्थानीयहरू सबैले शिक्षामा चासो दिएर सुधारमा लागेको परिवर्तन हुने गतिलो उदाहरण यो भएको नयाँघरेको भनाई छ ।