कोदो–फापरबाट मःमदेखि केक,पिजासम्म बनाउँदै सकियो रैथाने बाली विविधीकरण तालिम (फोटोफिचर)
२३ जेठ, रामेछाप । कृषि ज्ञान केन्द्र रामेछापले संचालन गरेको तीन दिने रैथाने उत्पादन विविधीकरण सम्बन्धि तालिम (आज) मंगलबार सम्पन्न भएको छ । गत आइतबारदेखि सुरु भएको यो तालिमले रैथाने बालीबाट उत्पादन भएका कोदो, फापर, गहुँ, खुदो लगायतबाट विभिन्न परिकार बनाउन सिकाइएको ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले जानकारी दिइन् ।
जिल्लाका आठ वटै स्थानीय तहका २५ जना कृषि र होमस्टे सञ्चालकहरूको सहभागिता रहेको थियो । जस अनुसार किसानलाई रैथाने बालीको संरक्षण गर्दै उत्पादनमा वृद्धि गर्न तालिम दिइएको छ । भने, होमस्टे संचालकहरलाई रैथाने बालीका पिजा, मोमो, केक, किम नुडल्स, भोल्टा, तारेको मस्यांको बाबर, थेन्दुक, कप केक, सखरको सर्बत पानी लगायतका परिकार बनाउन सिकाइएको हो ।
जसअनुसार सिकारुहरुले सो परिकारहरू बनाउन सिकेको बताएका छन् । आफूहरूले तालिमबाट यी परिकार बनाउन तरिका सिकेको अब प्रयोग गर्ने उनीहरूले बताए ।
आइतबार जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की) ले उद्घाटन गरेको तालिम समापन मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले गरेका थिए । उनले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरे । साथै तालिममा सिकेका कुरालाई आफ्नो व्यवसायमा लागू गर्न आग्रह गरे ।
त्यस्तै ज्ञान केन्द्रकी प्रमुख गुरुङले तीन दिने तालिम आफूलाई निकै महत्पूर्ण रूपमा लिएको बताउँदै यहाँ सिकाइएका सिपलाई प्रयोग गरी आयआर्जनमा प्रयोग गर्न जोड् दिँदै आगामी दिनमा पनि यस्ता तालिम आयोजना गर्ने बताइन् ।
तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स