मन्थलीमा सुरु भयो आधारभूत सहकारी लेखापालन तालिम

| जेठ २४, २०८० बुधबार

A A A
A A A

२४ जेठ, रामेछाप । मन्थलीमा आजदेखि आधारभूत सहकारी लेखापालन तालिम सुरु भएको छ । जिल्लामा संचालित सहकारीहरूको लेखा व्यवस्थापन चुस्त, दुरुस्त र पारदर्शी नहुँदा समस्या हुने छ । सो समस्यालाई बुझ्दै त्यो तालिम आयोजना गरिएको आयोजकको भनाई छ । 

 

बागमती प्रदेश सरकार पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, सहकारी प्रशिक्षालय भरतपुर चितवनको आयोजना तथा जिल्ला सहकारी संघ रामेछापको समन्वयमा मन्थलीमा तालिम सुरु गरिएको जिल्ला सहकारी संघ रामेछापका सचिव नवीन केसीले जानकारी दिए । 

 

उनका अनुसार जिल्ला सहकारी संघमा आबद्ध ३० वटा सहकारीका लेखा व्यवस्थापक, लेखा सहायक व्यवस्थापक वा कर्मचारीको सहभागितामा उनीहरूलाई तालिम दिइन थालिएको हो । तालिम आउँदो २९ गते सम्म चल्ने छ । 

 

बुधवार तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सहकारीहरूले सकरात्कम काम गर्नु पर्ने सुझाए । अहिले राम्रा काम गरेका सहकारीहरूको पनि नकारात्मक प्रचारमा परेको उल्लेख गर्दै जनताको मन जित्ने गरी काम गरेर नकारात्मक प्रचारलाई चिर्नु पर्नेमा जोड् दिए । 

 

आफ्नताहरुको बाहुल्यता रहेको सहकारी व्यवस्थापन टिमले मिलो–मतोमा सहकारीको पैसा चलाउने गर्दा भविष्यमा ठुलो समस्या आउने गरेको मेयर श्रेष्ठले स्मरण गरे । ‘पहिले मिलेर गर्ने अनि पछि कुरा कसरी कसरी बाहिर ल्याउँछन् मेयर श्रेष्ठले थपे ‘घरमा श्रीमान्–श्रीमतीको त कुरा नमिलेर डिभोर्स हुन्छ । त्यसैले यस्तो कुराबाट सचेत हुनु पर्छ ।’

यो तालिम लेखा व्यवस्थापकहरूलाई निकै महत्पूर्ण रहेकाले राम्रोसँग ज्ञान लिन जोड् दिए । 

 

त्यस्तै रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष जगन्नाथ दाहालले आफूहरूले संचालन गरेको सहकारीले गरेका राम्रो काम सुनाउँदै अन्य सहकारीहरूले पनि व्यवस्थापनको टिमले समय–समयमा अनुगमन, निरीक्षण गरेर गलत हुनबाट जोगाउनु पर्ने बताए । 

 

सहकारीहरूले राम्रा धेरै काम गरेको उल्लेख गर्दै केही नराम्राहरूलाई निगरानी बढाएर नियन्त्रण र नियमन गर्नु पर्नेमा उनको जोड् छ । तालिममा सूर्यप्रसाद आचार्य, कृष्णप्रसाद न्यौपाने र दीर्घ राज सापकोटाले प्रशिक्षण एवं लेखा व्यवस्थापन सम्बन्धी तालिम दिने छन् ।