लिखु–२ः सुरक्षित स्थानान्तरण भनेर १६ घर परिवारलाई छिमेकीको घरमा दाल-चामल दिएर राख्न लगायो कम्पनीले, पीडितहरु झन समस्यामा

| जेठ २४, २०८० बुधबार

फाइल फोटो ।
A A A
A A A

२४ जेठ, रामेछाप । टेस्टिङको लागि सुरुङमा हालेको पानी चुहिएर बस्तिनै जोखिममा परेका उमाकुण्ड गाउँपालिका–१ गुम्देल पेकारनासका १६ घरपरिवारलाई अति जोखिम क्षेत्रबाट सुरक्षित भनिएको क्षेत्रमा बस्न आयोजनाले भनेको छ । सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भनेर हल्ला फैलाएको भन्दै स्थानीयहरूले भने आक्रोश व्यक्त गरेका छन् । 

 

लिखु–२ जलविद्युत आयोजनाको पानी चुहिदाँ सो ठाउँका अति जोखिम र जोखिम गरी कूल १०३ घरपरिवार विस्थापित हुन पुगेका छन् । तर, आयोजनाले अहिले १६ घर परिवारलाई सुरक्षित स्थानमा भनेर अति जोखिमका घरबाट जोखीम क्षेत्र भनिएका छिमेकीको घरमा मिलाएर बस्न लगाएको पीडित परशुराम बस्नेतले रामेछाप टाइम्सलाई बताए । सो घरहरु पनि सुरक्षित नभई जोखिममै रहेको पीडितहरुको तर्क छ । 

 

‘सुरक्षित स्थान भनेर अलि पल्लो पट्टी छिमेकीको घरमा दाल,चामल, नुन, तेल दिएर बस्न लगायो । हामीले सुरक्षित स्थानमा भन्दा हाइड्रोले खाना नपाएको जस्तो बनाएर नुन, तेल दिएर राखेको छ । हामीलाई  सुरक्षित स्थानमा सारिएको छैन ।’ 

 

 

पीडित बस्नेतले ‘थपे पहिले पनि हामी छिमेकीकैमा बस्दै आएका थियो । अहिले पनि मिलेर बस्नु भनेर खाद्यान्न बाँडेर आयोजनाले भुलाउन खोज्यो । अझ मिडियामा सुरक्षित स्थानमा स्थानान्तरण गरियो भनेर माथिबाटै हाल्ला फिँजाइएछ । त्यो झुटो हो उनले भने ।’  यसरी आफूहरुलाई सुरक्षित बासस्थानको समस्या भए पनि आयोजनाले माग्नेको जस्तो व्यवाहर गर्दा आफूहरु झन पीडित भएको उनीहरुको गुनासो छ। 

 

जिल्ला प्रशासन कार्यालय रामेछापकी सूचना अधिकारी अस्मिता बानियाँले पनि पीडितहरुको सुरक्षित स्थानमा स्थानन्तरण भएको जानकारी आएको रामेछाप टाइम्सलाई बताइन् । उनले तत्कालको लागि १६ घर-परिवारलाई सुरक्षित स्थानमा स्थानन्तरण भएको बताएकी हुन् । तर, कहाँ राखिएको भन्ने बारेमा स्पष्ट जानकारी नभएको उनको भनाई छ । 

यो पनि पढ्नुहोस्
रामेछाप प्रशासन र लिखु–२ का कर्मचारीले एकलौटी निर्णय गरेपछि काँग्रेसको आपत्ति, ‘सिडिओ’ले साँठगाँठ र स्वार्थमा केन्द्रित निर्णय गरेको आरोप
 

 

केही दिन अगाडि जिल्ला प्रशासनमा (जिप्रका) र आयोजनाबिच पीडितहरूको मागलाई सम्बोधन गर्ने निर्णय भएको थियो । तर, हाल सम्म पनि कार्यान्वयन हुन नसकेको स्थानीयहरूको भनाई छ । 

 

५५ मेगावाट क्षमताको आयोजनाको उत्पादन गृहमा पानी खसाली परीक्षण गर्ने क्रममा सुरुङको पानी चुहिएर बस्तीमा पसेको हो । सुरुङबाट पानी चुहिएको बारेमा अध्ययन गर्न विद्युत् विभागले विज्ञ टोली सो ठाउँमा अध्ययन गर्दै छ ।