यो सिजनमा रामेछाप विमानस्थलबाट २४१९ उडान मार्फत करिब १३ हजार यात्रु बाहिरिए, स्थानीय बोक्ने निर्णय अझै अन्यौल

| जेठ २५, २०८० बिहिबार

फाइल फोटो ।
A A A
A A A

२५ जेठ, रामेछाप । रामेछाप विमान स्थलबाट वसन्त ऋतुको सिजनमा हुँदै आएको लुक्ला उडान अन्त्य भएको छ । सगरमाथा जाने सिजन सकिएसँगै यहाँबाट हुँदै आएको लुक्ला उडान पनि सकिएको रामेछाप विमान स्थल कार्यालयले जनाएको हो । 

 

२०७९ साल फागुन १७ गते मंगलबार अर्थात् अङ्ग्रेजी महिना मार्च १ देखि सुरु भएको नियमित उडान २०८० जेठ १७ गते बुधवार अर्थात् जुलाई ३१ तारिकको दिनदेखि सकिएको रामेछाप विमानस्थल कार्यालय प्रमुख अशोक थापाले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘काठमाडौँको एयर्पोटमा चाप भएपछि रामेछाप विमानस्थलबाट उडान भएको थियो । अब अर्को सिजनमा के हुन्छ, त्यो हेर्न बाँकी छ । यहीँबाट गर्न पनि सक्छन् । अन्तैबाट पनि हुन सक्छ । अहिले सिजन सकियो ।’

 

विमानस्थल प्रमुख थापाका अनुसार अर्को सिजन यहाँबाट हुने/नहुने टुङ्गो लागि सकेको छैन । 

काठमाडौँबाट धुलिखेल–काभ्रे–खुर्कोट हुँदै मन्थली सम्म सडक यात्राबाट यात्रु ल्याएर यहाँबाट विमानमार्फत लुक्ला उडान भएको हो । यसरी यो सिजनमा दैनिक २० देखि ३० वटा उडान मौसम हेरेर दैनिक भएको विमानस्थल प्रमुख थापाले बताएका हुन् । साथै चैत महिनामा यो सिजनको सबै भन्दा धेरै ५८ वटा वडान भएको प्रमुख थापाले जानकारी दिए ।

 

जिल्लाको एक मात्रै विमानस्थलबाट भएको यो सिजनको उडान मार्फत कूल २४ हजार ४ सय ९४ जना यात्रुले उडान भरेका छन् । त्यसमा एक हजार २१२ वटा रामेछाप विमान स्थलमा ओर्लिएको जानकारी गराइएको छ । भने, यहाँबाट एक हजार २०७ वटा उडान मार्फत लुक्ला गएका छन् । यसरी जानेमा अधिकांश विदेशी पर्यटकहरू छन् । 

 

यो पनि पढ्नुहोस्
जेठको २४ गतेदेखि रामेछापेलीले जाहाजमा मन्थली-काठमाडौं यात्रा गर्न पाउने
 

विमान स्थलका अनुसार यहाँ कूल दुई हजार २१९ वटा उडान भएको छ । यी उडान मार्फत ११ हजार ५ सय ७२ जना यात्रु भित्रिँदा १२ हजार ९ सय २३ जना यात्रु बाहिरिएका छन् । प्रमुख थापाका अनुसार यो सिजनमा कूल २४ हजार ४ सय ९५ जनाले उडान भरेका हुन् । 

 

सगरमाथाको प्रवेशद्वारले परिचित भएको रामेछाप विमानस्थलबाट २४ हजार ४९५ जना यात्रु बाहिरिँदा कूल १ लाख ६३ हजार ९५६ केजी सामान बाहिरिएको विमानस्थल प्रमुख थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

रामेछाप विमान स्थलबाट सिता, तारा र समिट एयरलाइन्सले उडान भर्दै आएका छन् । तर, स्थानीयहरुले भने हाल सम्म विमानको यात्रा गर्न पाएका छैन । 

 

स्थानीयहरूको लागि यही जुलाई पहिलो हप्ताबाट मन्थली–काठमाडौँ र काठमाडौँ–मन्थली उडान भर्ने भनेर पहल भए पनि हाल (बिहीबार जुलाई ८ तारिक) का दिन सम्म उडान हुन सकेको छैन । 

त्यसको लागि माथिल्लो निकायमा छलफल भइरहेको बताइए पनि ठोस निर्णय भने गर्न सरोकारवालाहरू नसकी रहेको बुझिएको छ । स्थानीय बोक्ने गरी जहाज चल्नेबारे आफूहरूलाई पछिल्लो केही जानकारी नआएको यहाँका विमानस्थल प्रमुखको भनाई छ । ‘उडान हुन्छ भन्ने छलफल चलेको हो । तर, पत्र आइ सकेको छैन । त्यसै केही भन्न सक्ने अवस्था छैन । अझै केही दिन भन्न सकिन् ।’ 

 

यस अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्थलीबाट हप्ताको १ दिन शुक्रवार उडान गर्ने निर्णय गरेको सार्वजनिक भएको छ । उक्त निर्णय अनुसार जिल्लामा समेत निर्देशन आएको भनिएको छ । 

 

 जिल्लाबाट प्रतिनिधित्व गर्न सांसदहरू, स्थानीय नगर तथा पालिकाका जनप्रतिनिधि र स्थानीयहरुले भने जिल्लाबाट हप्तामा ओहोर–दोहोर उडान हुनु पर्ने माग गर्दै आएका छन् । तर, हाल सम्म के हुने भन्ने टुङ्गो नलागेको समिट एयरलाइन्स रामेछापका स्टेसन म्यानेजर प्रविन सुवेदीले रामेछाप टाइम्सलाई बताए ।