सौजन्य सत्यालले त्यागे पत्रकार महासंघको सदस्य, अध्यक्ष नयाँघरेले गरे स्वागत

| जेठ २६, २०८० शुक्रबार

A A A
A A A

२६ जेठ, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापका सदस्य सौजन्य प्रसाद सत्यालले आफ्नो सदस्यता त्यागेको घोषणा गरेका छन् । 

 

नेपाल पत्रकार महासंघले पत्रकार शुद्धीकरण अभियान चलाई रहेका बेला पछिल्लो महासंघको अध्यक्ष पदमा हालका अध्यक्ष बद्री नयाँघरेसंग दोस्रो प्रतिस्पर्धिको रुपमा प्रतिस्पर्धा गरेका सत्यालले आफू कानुन व्यवसायी पेसामा लागेकाले सदस्यता त्यागेको घोषणा गरेका हुन् । 

 

शुक्रवार सामाजिक संजला फेसबुकमा लेखेका छन् ‘पुराना–नयाँ सबै पत्रकार साथीहरूलाई सहकार्यका लागि धन्यवाद दिँदै रामेछाप पत्रकार महासंघको सदस्यता त्याग गरेको घोषणा गर्दछु ।’

 

सत्याल हाल रेडियो रामेछापका स्टेसन म्यानेजर र रामेछाप खबर साप्ताहिक पत्रिकाको सम्पादकको भूमिकामा देखिँदै आएका छन् । तर, उनले नाम देखाइए पनि पत्रकारितामा सक्रिय नरहेको कुरा स्वीकार गरेका हुन् । उनी सुरुवाति चरणमा एमाले निकट पत्रकार प्रेस चौतारी रामेछापमा रहेका हुन् भने एकिकृत समाजवादी बनेपछि समाजवादी प्रवेश गरेका थिए । 

 

रामेछापमा असल र कर्तव्यनिष्ठ पत्रकार अझै निकै रहेको उल्लेख गर्दै ‘म पत्रकार महासंघको पूर्व सदस्यको रूपमा सेवामा रहने नै छु, भनेका छन् ।’

 

यसअगाडि नेपाल पत्रकार  महासंघ रामेछापले विधि र प्रक्रिया भित्र नपर्ने आफ्ना सदस्यहरूलाई स्वतःस्फूर्त रूपमा सदस्यता त्याग गर्न आग्रह गरेको थियो । 

 

यसैबिच पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले सत्यालले सदस्यता त्याग्नु स्वागत योग्य कदम भएको बताएका छन् । रामेछाप टाइम्ससंग सत्यालले सदस्यता त्याग गरेको बारेमा कुराकानी गर्दै ‘त्यो स्वागत योग्य कदम हो । म, नीति र विधि भित्र नपर्ने साथीहरूलाई पनि यसरी आफै सदस्यता त्यागेर उदाहरण पेस गर्न आग्रह गर्छु ।’

 

केन्द्रले क्रियाशील रूपमा पत्रकारिता गरिरहेका बाहेक अन्यलाई पत्रकार नमान्ने गरी शुद्धीकरण अभियान चलाउन भन्दै निर्देशन दिएको छ । त्यसको लागि जिल्लामा पनि सदस्यता शुद्धीकरण गर्न महासंघले छलफल गर्दै आएको छ ।