खाँडादेवी माकादुम वडाले गर्‍यो जिल्लामै पहिलो पटक सार्वजनिक सुनुवाइ, यी हुन् मुख्य उपलब्धिहरू (सूचीसहित)

| जेठ २७, २०८० शनिबार

A A A
A A A

२७ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुमले सार्वजनिक सुनुवाइ गरेको छ । यसरी चालु आर्थिक वर्ष २०७९÷८० मा वडाले अनिवार्य रूपमा गर्नु पर्ने सार्वजनिक सुनुवाइ गर्नेमा माकादुम पहिलो वडा समेत भएको छ । वडा कार्यालय माकादुम भन्दा पहिले जिल्लाका ६४ वटा वडा माध्ये कुनै वडाले पनि ऐन कानुनमा व्यवस्था भए पनि सार्वजनिक सुनुवाइ गरेका छैन । अझ कतिपय गाउँपालिकाले नै नागरिकलाई चालु आ.व.मा गतिविधि बारे जानकारी दिने सुनुवाइ हाल सम्म पनि गर्न सकेका छैन । यस्तो अवस्थामा माकादुमले भने वडा बासीको भव्य उपस्थितिमा सार्वजनिक सुनुवाइ गरेको हो । 

 

शुक्रवार वडा कार्यालयमा वडा अध्यक्ष नारायण कार्कीको अध्यक्ष र जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की) को प्रमुख आतिथ्यतामा प्राहार मिडिया प्रा.लिको सहजिकरणमा सार्वजनिक सुनुवाइ भएको हो । 

 

चालु आर्थिक वर्ष २०७९÷०८० को सुरुदेखि वैशाख मसान्त सम्ममा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाह विषयमा वडा बासीलाई जस्ताको त्यस्तै जानकारी गराउने उद्देश्यले कार्यक्रम गरेको वडा सचिव बिना ओझाले जानकारी गराइन् । वडा सचिव ओझाले हाल सम्म सम्झौता भएका सबै कामहरू अन्तिम चरणमा पुगेको बताइन् ।  साथै सो कार्यक्रममा सहभागीहरूले वडाका जिम्मेवार वक्ताहरूसँग हाका–हाकी बहस गरेका थिए । 

कार्यक्रम उद्घाटन गर्दै जिसस प्रमुख कार्की, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, सोही वडाका  अध्यक्ष नारायण कार्की, वडा सचिव विना ओझाले सम्बोधन गरेका थिए । पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्ष रमा घिसिङलाई पनि कार्यक्रममा डाकिएको भए पनि उनीहरू कार्यक्रममा देखिएनन् ।

 

वडा सचिव ओझाले सार्वजनिक गरेको हाल सम्मको वडाको प्रगति विवरणमा गाउँपालिकाबाट चालु आ.व. मा कूल ९९ लाख २७ हजार बजेट छुटिएको जानकारी गराउँदै छुटिएको बजेटलाई आवश्यकताको आधारमा मुख्य ६ वटा शीर्षकमा खर्च गरेको बताइन् । 

 

सचिव ओझाका अनुसार वडाले खानेपानी ट्याङ्की कुवा निमार्ण तथा पाइप खरिद योजना उपभोक्ता समिति, गोरेटो बाटो चौतारा तथा प्रतीक्षालय निमार्ण योजना उपभोक्ता समिति, मठ मन्दिर तथा गुम्बा घेराबार उपभोक्ता समिति, सिंचाँई ट्याङ्की निमार्ण तथा पाइप, खरिद उपभोक्ता समिति, सडक मर्मत कोष उपभोक्ता समिति र महाजनटोल भटौली धर्मशाला गोरेटो बाटो निर्माण समिति शीर्षकमा बजेट बाँड–फाँडा गरेर खर्च गरेको जानकारी दिइन् । 

 

यी हुन् वडामा भएका कामहरु/ योजना हेर्नुहोस्

सोही कार्यक्रमको अवसरमा वडा भित्र चालु आवमै उत्कृष्ट पठनपाठन गर्ने शिक्षक, कक्षा ५ बाट ६ कक्षामा जाँदा उत्कृष्ट अङ्क ल्याएर पास हुने प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थी, साबिकका ९ वटै वडाका स्वयम् सेविकालाई सम्मान गरिएको थियो । 

कार्यक्रममा सहभागी स्थानीयहरु

कार्यक्रमलाई सम्बोधन गर्दै (जिसस) एवं प्रमुख अतिथि कार्कीले वडालाई राम्रो बनाउन स्थानीय र जनप्रतिनिधि सबैको भूमिका रहने बताइन् । उनले भनिन् ‘तपाईँहरूलाई कुनै पनि समस्या परे, जिज्ञासा भए पहिला वडा अध्यक्षलाई गएर भन्नु । नभए पालिकामा भन्ने यदि कसैसँग भन्न नसके अप्ठ्यारो लागेमा सिधै जिल्ला समन्वयमा आएर भनेमा मलाई भन्नुहोस् । वडा बनाउन सबैको उत्तिकै दायित्व रहन्छ ।’

 

उनले जिसस सधैँ जनताको सेवामा रहेको भन्दै वडाले उत्कृष्ट काम गरेको प्रशंसा गरिन् । त्यसैले कसैले विरोध गरेको सुनिन् भनिन् । उनले जनताको कामलाई पहिलो प्राथमिकता दिन समेत सुझाव दिइन् । उनले पालिका अध्यक्षले वडालाई राजनीति नजरले हेरेको आभास भएको भन्दै त्यसो नगर्न पालिकालाई आग्रह गरिन् ।