मन्थलीमा बजार अनुगमन टोलीले म्याद गुज्रिएको भन्दै म्याद भएका सामान धमाधम उठाएपछि यस्तो सम्म भयो.....

| जेठ २८, २०८० आइतबार

A A A
A A A

२८ जेठ, रामेछाप । मन्थली बजारमा केही दिन अगाडि भएको बजार अनुगमनमा एक पसलबाट म्याद गुज्रिएको भन्दै अनुगमन टोलीले जबरजस्ती उठाएको सामान ‘डेट एक्सपाएर’ नभएको पुष्टि भएपछि फिर्ता गरिएको खुलासा भएको छ ।

 

गत बुधवार जिल्ला प्रशासन रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको नेतृत्वमा रहेको बजार अनुगमन समितिको संयुक्त टोलीले अनुगमनको क्रममा मन्थली स्थित देवकोटा चोकमा रहेको वि.एस स्टोर्स एण्ड सप्लायर्सबाट उपभोग्य म्याद रहेको सामान जबरजस्ती जफत गरी लगेको र दुई दिनपछि सो सामानको म्याद नगएको भन्दै पुनः फिर्ता गरेको वि.एस‍. स्टोर्सका प्रोप्राइटर पार्वती श्रेष्ठले बताइन ।

 

‘‘रियल च्वाइस’ नामको चक्लेट सेप्टेम्बर २०२२ मा बनेको र उपभोग्य म्याद ९ महिना उल्लेख थियो । दिन उल्लेख नभएको सामानको प्याकिङ भएको दिन र म्याद सकिने दिन महिनाको अन्तिम दिनलाई मानिने भएकाले त्यो चकलेटको बिक्री योग्य अवधि जेठ महिना भरी थियो । त्यो कुरा बुझ्दा–बुझ्दै पनि अनुगमन टोलीले सामान जफत गरी २ हजार रुपैयाँ जरिवाना समेत काटेर लागेको थियो । २ दिनपछि ल्याइदिए प्रोप्राइटर श्रेष्ठले’ भनिन् । 

अनुगमन टोलीले फिर्ता ल्याइदिएको सामान

उनले थपिन् ‘त्यो सामान घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख सुबोधकुमार साह कर्मयोगी आफैले जफत गर्नु भएको थियो । घरेलु कार्यालयका प्रमुखलाई खाद्य वस्तुको म्याद गुज्रिएको वा नगुज्रिएको भन्ने थाहा नहुने कुरै भएन, हामीलाई दुःख दिने नियतले सामान जफत गरियो श्रेष्ठले भनिन् यदि त्यो सामानको म्याद नाघेको भए जरिवाना तिर्न हामी तयार थियौँ । तर हामीमाथि प्रतिशोध राखेर सामान जफत गरियो ।’

 

जफत गर्ने बेलामा समेत म्याद नभएको आफूहरूले पटक–पटक बताएको उनले सुनाइन् । तर, जबरजस्ती सामान उठाइयो । २ दिनपछि फेरी म्याद रहेछ भन्दै ल्याइदिए ।’

 

‘यसको क्षति कसले व्यहोर्छ उनले प्रश्न गरिन् ।’

उनले आफूहरू विगत १० वर्षदेखि पसल गर्दै आएको स्मरण गर्दै आफूहरूले सामनाको म्याद र बेच्ने सामान प्रति सचेत रहेको सुनाउँदै म्याद गुज्रिएको सामान बेचेको भनेर मिडियाबाट प्रचारप्रसार गरेर आफ्नो पसलको बदनाम गरिएको बताइन् । ‘यसको क्षति कसले व्यहोर्छ उनले प्रश्न गरिन् ।’

 

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा रहेको बजार अनुगमनटोलीले व्यवसायीप्रति प्रतिशोध राखी अनुगमनका गरेको भन्दै अन्य व्यवसायीहरूले पनि गुनासो गरेका छन् । बजार अनुगमन हुनु राम्रो कुरा हो । तर,यसरी यसलाई सिद्ध्याउनू पर्छ भन्ने नियतले गर्नु राम्रो हैन अर्का एक व्यवसायीले नाम नखुलाउने सर्तमा रामेछाप टाइम्सलाई बताए । 

अनुगमन टोलीले लग्दै गर्दा खिचिएको तस्बिर 

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीनकुमार थापामगरले अनुगमनका नाममा प्रतिशोध साँधेर प्रशासनले व्यवसायीहरूलाई आतङ्कित बनाएको बताए । 

 

म्याद नाघेको वस्तु जफत गरेकोमा व्यवसायीहरूको कुनै गुनासो छैन तर म्याद भएकै सामान समेत जफत गरी व्यवसायीमाथि भएको अत्याचार उद्योग वाणिज्य संघलाई सह्य छैन’ अध्यक्ष थापामगरले भने । 

 

कोरोना र आर्थिक मन्दीले पीडित व्यवसायीलाई राज्यबाटै थप आतङ्कित पर्ने काम भयो’

 

व्यवसायीहरू बोल्न सक्दैन, यिनीहरूलाई जे गरे पनि हुन्छ भन्ने र उपभोग्य म्याद भएको सामान समेत जफत गर्ने काम भयो । कोरोना र आर्थिक मन्दीले पीडित व्यवसायीलाई राज्यबाटै थप आतङ्कित पर्ने काम भयो’ अध्यक्ष मगरले भने ‘म्याद नाघेको सामान जफत गर्नु हुँदैन भन्ने पक्षमा हामी छैनौँ, गलत गर्ने व्यवसायीलाई कारबाही गर्नुपर्छ, त्यसमा हामी सहयोग गर्न तयार छौँ । तर प्रतिशोध साँधेर हुनु भएन । निश्चपक्ष हुनु पर्‍यो । 

 

कोरोना लगायतका कारण थलिएको व्यवसायले रामेछापमा अझै गति लिन सकेको छैन । व्यापार, व्यवसाय चौपट हुँदा व्यवसायीहरूले आत्महत्या गर्ने सम्मको अवस्था भएको अवस्था छ । 

 

राज्यले व्यवसायीको संरक्षण गर्नुपर्ने बेलामा उल्टै राज्यबाट पीडित बनाउने काम हामीलाई सह्य कदापि हुँदैन (राउवा) अध्यक्ष मगरले भने ‘१ सय रुपैयाँको म्याद गएको सामान भेटिएका व्यवसायीलाई १५ हजार रुपैयाँ जरिवाना गर्दा कत्तिको न्याय हुन्छ, त्यसको बिचार गर्नु पर्छ ।’

 

कतिपय सामाग्रीहरू बेच्दै हिड्नेहरुले नियतवश छाडेर जाने गरेको व्यवसायीहरू बताउँछन् । 

 

त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले पनि अनुगमन टोलीले म्याद भएको सामान उठाउनु भनेको जफत गर्नु नभई व्यवसायीलाई लुट्नु भएको बताए । केही व्यक्तिको सन्कीपनका कारण निर्दोष व्यवसायीहरूमाथि अन्याय हुनु दुःखद भएको उनको भनाई छ । ‘अनुगमन समितिले अनुगमनमा कर्मचारी खटाउँदा सही र गलत छुटाउन सक्ने कर्मचारी खटाउनु पर्छ ।’

ती व्यवसायीहरूलाई २ हजार देखी १० हजार रुपैयाँसम्म जरिवाना

 

यता सामानै उठाएका घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख सुबोधकुमार साह कर्मयोगीले आफूहरूले कारणबास अनुगमनमा कमजोरी गरिएको स्वीकार गरेका छन् । उनले भने हाम्रोतर्फबाट त्रुटि भएकै हो । हामीले आगामी दिनमा यस्तो कमजोरी नदोहोर्‍याउने समीक्षा गर्दै उक्त सामान व्यवसायीलाई फिर्ता गरिसकेका छौँ उनले भने ।   

 

सो दिन अनुगमनमा टोलीले १९ विभिन्न व्यवसायी÷पसललाई एकै पटक कारबाही गरेको थियो । यसरी टोलीको कारबाही पर्नेमा रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारी समेत रहेका छन् सदरमुकाम मन्थलीका १५ वटा खाद्यान्न, ९ वटा कस्मेटिक र ११ वटा हार्डवएर पसलको अनुगमन गर्दा १९ वटा कारबाहीमा परेका थिए ।

 

अनुगमनको क्रममा म्याद ग्रुजीएका सामाग्री विक्री, वितरण गर्दै आएका ६ वटा कस्मेटिक पसललाई कारबाही घरेलु तथा साना उद्योग कार्यालय रामेछापले जनाएको छ । 

 

म्याद गुज्रेका सामाग्री विक्री÷वितरण नगर्न पटक–पटक आग्रह गरे पनि त्यसलाई बेवास्ता गर्दै आएका अनुराग इन्टरप्राइजेज, अनीश इन्टरप्राइजेज, रजनिश फेन्सी पसल, दाश जेनेरल स्र्टोस, पाल् इन्टरप्राइजेज र जानकारी फेन्सी पसललाई प्रदेश व्यापार तथा व्यवसाय ऐन २०७६ बमोजिम प्रति व्यवसायी १५ हजारका दरले जरिवाना थियो । 

 

त्यस्तै मनकामना सप्लार्यस, पिके जनरल स्र्टोस, विएस स्र्टोस र तामाकोशी जनरल स्र्टोसमा समेत म्याद गुज्रिएका खाद्यान्न बरामद गरी सामाग्री नष्ट गरेको छ भने अनधिकृत रूपमा सामान विक्री वितरण गरेको भन्दै ती व्यवसायीहरूलाई २ हजार देखी १० हजार रुपैयाँसम्म जरिवाना गरेको छ । 

 

त्यस्तै मन्थलीमा रहेका ११ वटा हार्डवएर पसलको समेत अनुगमन गरेको छ । जसमा मामा भान्जा हार्डवएर एण्ड सप्लार्यस, पूर्वे एण्ड सन मन्थली, लक्की हार्यवएर एण्ड सप्लार्यस, दिपज्योती हार्डवयएर एण्ड सप्लार्यस, विएस हार्डवएर, नवमी हार्डवएर, रुद्र हार्डवएर, शुभ लक्ष्मी हार्डवएर र नकर्मी हार्डवएर पसल गरी ९ वटा हार्डवएर पसललाई प्रदेश व्यापार तथा व्यवसाय ऐन २०७६ बमोजिम प्रति व्यवसायी १५ हजारका दरले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक अनोजकुमार घिमिरेले बताए ।