कालिका मावि देउरालीमा शिक्षकले कुटे निल्डाम हुने गरी विद्यार्थी, अस्पताल लगियो

| जेठ २८, २०८० आइतबार

A A A
A A A

२८ जेठ, रामेछाप । रामेछाप नगरपालिका वडा नं २ देउरालीमा शिक्षकबाट विद्यार्थी माथि कुटपीट् भएको छ । 

 

वडा नं २ देउरालीको कालिका मावि कक्षा ९ मा पढ्ने विद्यार्थी आयुस पौडेलमाथि शिक्षकले निलडाम बस्ने गरी कुटपिट गरेको आयुसका दाइ अमिर पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘१५–१६ डस्टरले कुटेपछि अन्य विद्यार्थी समेत रोएछन् । अनि निलडाम बसेपछि स्वास्थ्य चौकी लगेर अहिले घर पठाएका छन् ।’

 

आयुसलाइ कुटपिट गर्ने शिक्षक नयाँ विद्यालयमा केही दिन मात्रै अगाडि आएकाले आफूलाई कुटने शिक्षकको नाम थाहा नभएको आयुसले बताए । तर, ती  शिक्षकले विद्यालयका प्रधानाध्यापक ऋषिकुमार खड्काको आदेशमा कुटेको खुलेको अमिर पौडेलले बताए । ‘किन कुटे भन्ने थाहा छैन । तर, प्रधानाध्यापक खड्काले नै कुट्न लगाएको विद्यार्थीहरूले बताउँछन्’ पौडेलले भने । 

 

शिक्षकबाट कुटिएका विद्यार्थी आयुसको शरीरमा निकै निलडाम बसेको देखेपछि विद्यार्थीहरू डाको छोडेर रोएका थिए । उनको शरीरको निलडाम अहिले अलि–अलि रहेको उनका दाइ अमिरले बताए । स्वास्थ्य चौकीले औषधि दिएपछि उनी अहिले घर आएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 

 

घटना बारे बुझ्न प्रअ खड्कालाई रामेछाप टाइम्सले फोन गर्दा सम्पर्क भएन । घटना बारेमा थप जानकारी आउन बाँकि छ ।