पत्रकार महासंघ रामेछाप : शुद्धीकरण अभियान अन्तर्गत ३७ जना सदस्य खारेजीको लागि सिफारिस गर्ने निर्णय

| जेठ २९, २०८० सोमबार

फाइल फोटो ।
A A A
A A A

२९ जेठ, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले सदस्यता टुङ्गो लगाएको छ । केन्द्रबाट आएको निर्देशनलाई स्वीकार गर्दै पत्रकारितामा सक्रिय रूपमा लागेकालाई पेसाप्रति थप क्रियाशील र जिम्मेवार बनाउने गरी नयाँ तथा पुराना सदस्यता टुङ्गो लगाउन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेसँग सदस्य सङ्ख्यको टुङ्गो लागेको हो । 

 

आइतबार –हिजो) महासंघका अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले महासंघमा सदस्य रहेका तर पत्रकारिता पेसामा निष्क्रिय रहेकालाई खारेजीको लागि सिफारिस गर्ने निर्णय गरेको हो । यसरी खारेजीको लागि सिफारिस हुनेमा कूल ३७ जना परेका छन् । जसमा स्वः घोषित रूपमा सदस्यता त्याग गर्ने ३ जना, सदस्यता नवीकरण नगर्ने १८ र निष्क्रिय रूपमा रहेका १६ जना छन् ।

 

यसरी स्वः घोषित रूपमा सदस्य त्याग्नेमा सौजन्य सत्याल, सागर विक्रम बस्नेत र दुर्गा भुजेल रहेका छन् । उनीले पत्रकारिता बाहेक अन्य पेसामा सक्रिय रहेको भन्दै महासंघले गरेको आह्वान अनुसार स्वः घोषित रूपमा सदस्यता त्याग गरेका सामाजिक संञ्जाल मार्फत जानकारी गराएका थिए । उनीहरू तीनै जनाको निर्णयलाई महासंघ रामेछापले स्वागत समेत गरेको अध्यक्ष नयाँ घरेले बताए । ‘उहाँहरूको यो निर्णयलाई महासंघ धन्यवाद सहित स्वागत गर्छ ।’

 

केन्द्रले पछिल्लो पटक पत्रकारितालाई मुख्य पेसा बनाएर काम गर्ने क्रियाशील पत्रकार बाहेकलाई सदस्यता नराख्न निर्देशन दिएपछि जिल्लाको अवस्थालाई मध्यनजर गरेर निर्णय गरिएको शाखा अध्यक्ष नयाँघरेले बताए । उनले यो निर्मम तरिकाले निर्णय गरिएको बताए । ‘अहिलेको अवस्थामा यो निर्मम हो । मिडियामा कुनै न, कुनै रूपमा सक्रिय रूपमा लागेका बाहेक अब सदस्य छैनन्’ अध्यक्ष नयाँघरेले भने ‘हामीले सिफारिस गरेकामा माथिल्लो निकायको निर्णय अनुसार प्रक्रिया पुग्ने बस्छन् । नपुगेका जान्छन् ।’

 

पछिल्लो जिल्ला अधिवेशनको क्रममा महासंघ रामेछापमा कूल ७७ जना सदस्यता रहेका थिए । जो निष्क्रिय रहे उनीहरू पनि अहिले खारेजीमा सिफारिस भएका हुन् । 

 

यस्तै नयाँ सदस्यको लागि ९ जनाको फाइल सिफारिस गर्ने पनि महासंघले निर्णय गरेको महासंघका सदस्य कुमार श्रेष्ठले बताए । बैठकपछि बोल्दै श्रेष्ठले विधि र प्रक्रिया पुगेका र मिडियामा सक्रिय रूपमा लागेका ९ जनाको फाइल सिफारिस गरिएको बताएका हुन् । त्यो पनि केन्द्रले गर्ने निर्णयको आधारमा सदस्य टुङ्गो लाग्ने महासंघ रामेछापले जनाएको हो । 

 

पछिल्लो समय पत्रकारितामा पेसामा राजनीतिक दलमा आबद्ध कार्यकर्ता, नेता, भातृ संस्थामा आबद्ध, शिक्षक, सरकारी जागिरे, व्यवसायी, वकिल, कर्मचारी जस्ता व्यक्ति पनि सदस्य रहेको भन्ने आरोप खेप्दै आएको छ । सोही परिस्थितिलाई लिएर केन्द्रले नै सदस्य शुद्धीकरण अभियान सुरु गरेको छ । तर, महासंघले थालेको अभियान कार्यान्वयनमा निकै चुनौती रहेको देशभरका महासंघले बताएका छन् ।

 

पत्रकारिता पेसाले मात्रै जीवन निर्वाह गर्न मुस्किल हुने भन्दै पत्रकारितालाई सहायक पेसाको रूपमा बनाएर पत्रकारिता गर्नेको बाहुल्यताको कारण पनि चुनौती भएको महासंघ रामेछाप शाखाले जनाएको छ ।