मन्थलीमा आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

| जेठ ३०, २०८० मंगलबार

A A A
A A A

३० जेठ, रामेछाप । मन्थलीमा ६ दिने आधारभूत सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ रामेछापमा आबद्ध ३० वटा सहकारीका लेखा व्यवस्थापकहरूलाई दक्ष बनाउनको लागि तालिमको आयोजना गरिएको थियो । यहाँका अधिकांश सहकारीको लेखा व्यवस्थापनलाई चुस्त, दुरुस्त र पारदर्शी नहुँदा समस्या हुँदै आएकोमा यो तालिमले अब पहिलो चरणको अडिट रिपोर्ट समेत तयार पार्न सक्ने गरी तालिम प्राप्त भएको तालिममा सहभागी संगीता श्रेष्ठले अनुभव बताइन् । ‘पहिले हामी अन्यौलमा थियौँ । अब हामीले पहिलो चरणको अडिट रिपोर्ट समेत तयार पार्न सक्ने भएका छौँ । त्यसको प्रमाणित गर्न मात्रै अन्यको खोजी हुन्छ । अब सामान्य प्रक्रिया काम गर्न सकिने भयौँ ।’

 

बागमती प्रदेश सरकार पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, सहकारी प्रशिक्षालय भरतपुर चितवनको आयोजना तथा जिल्ला सहकारी संघ रामेछापको समन्वयमा मन्थलीमा गत बुधवारदेखि सुरु भएको सो तालिम हिजो सोमबार सकिएको हो । 

 

तालिममा सूर्यप्रसाद आचार्य, कृष्णप्रसाद न्यौपाने र दीर्घ राज सापकोटाले प्रशिक्षण एवं लेखा व्यवस्थापन सम्बन्धी विविध विषयमा ज्ञान दिएका थिए । 

तालिम समापन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेलले राम्रो काम गरेर सहकारी क्षेत्रको भ्रमलाई चिर्नु पर्नेमा जोड् दिएका छन् । देशका विभिन्न सहकारीले गरेको बदमासीले गर्दा देशभरिकै सहकारी प्रति नकारात्मक प्रचार तीव्र भइरहेकाले यसलाई बचत कर्ताको आर्थिक सुरक्षित र विश्वासिलो सेवा प्रदान गरेर चिर्नु पर्ने बताएका हुन् । 

यसरी सहकारीले सरकारको तीन खम्बे अर्थ नीति मध्यको बलियो खम्बा रहेको स्मरण गर्दै आफूहरूले पनि यो विश्वासलाई दरिलो पार्न सक्नु पर्नेमा उनले जोड् दिए । लेखा व्यवस्थापकहरूलाई निकै महत्पूर्ण तालिम पाएकोमा खुसी व्यक्त गर्दै सिकेका सबै सिपलाई आ–आफ्नो सहकारीमा लागू गर्न आग्रह गरे ।