खाँडादेवी गाउँपालिका : सार्वजनिक सुनुवाइमा बोतल प्रहर भएको घटनाले थप उग्र रूप लिँदै, आ-आफ्नो बचाउ गर्दै राजनीतिक दल

| असार १, २०८० शुक्रबार

A A A
A A A

१ असार, रामेछाप । खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाइमा भाँडभैलो भएको घटनाले थप उग्र रूप लिँदै गएको छ । पालिका दलहरूले घटनालाई राजनीतिकरण गर्दा र पालिका आफैले पनि केही व्यक्तिलाई कारबाही गर्न भन्दै विज्ञप्ति जारी गरेपछि घटना ले थप आरोप प्रत्यारोपको वातावरण बनेको हो । 

 

गत जेठ ३१ गते पालिकाको सभा हलमा सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नं ६ माकादुकमको सडक आयोजनालाई विधि र प्रक्रिया सम्बत तरिकाले परेको २७ लाख बजेट पालिकाले नदिने भनेर रोको विषयमा स्थानीयले जवाफ माग्दा उल्टै पालिका अध्यक्षले स्थानीयलाई रोक्न खोजेपछि नाराबाजी गर्दै सार्वजनिक सुनुवाइ बिथोलिएको थियो । सोही विषयलाई लिएर बिहीबार पालिकाले ‘केही व्यक्तिले कानुन विपरीत अवरोध गरेको’ भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ । 

 

पालिकाले जारी गरेको जिल्ला प्रशासन कार्यालय रामेछापलाई जानकारी गराउन लेखिएको पत्रमा ‘घटनाको समीक्षा गरी (सिसिटिभी) र फेसबुक लाइभ फुटेजका आधारमा सौरभ के.सी. सन्दीप कार्की, निर्मल के.सी. सुजन के.सी. बाबु के.सी. र सञ्जय बुढाथोकीलाई कानुन बमोजिम प्रक्रिया अगाडि बढाई दिन हुन अनुरोध गरिन्छ’, लेखिएको उल्लेख छ । नाम उल्लेख हुनेहरू नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र (नेविसंघ) का नेता कार्यकर्ताहरू हुन् । 

पालिकाले लेखेको पत्र

पालिकाले यसरी ८ जना नेता कार्यकर्ताको नाम उल्लेख गरी कारबाहीको लागि सिफारिस गरेपछि नेपाली काँग्रेस रामेछापकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी उपसभापति लेखबहादुर कार्कीले पालिकाले जारी गरेको उक्त पत्र प्रति ‘नेपाली काँग्रेस रामेछापको गम्भीर ध्यानाकर्षण भएको लेखेका छन् ।’  खाँडादेवी गाउँपालिकाले गरेका कार्यक्रमहरू नेपाली काँग्रेसले नजिकबाट नियालेको भन्दै उपसभापति कार्कीले पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नो स्वइच्छा र मनोमानी रूपमा करडौं रकम खर्च गरेको बताएका हुन् । ‘स्मार्ट चौतारी जस्ता हावादारी कार्यक्रमहरूमा लगानी गरी रकम भ्रष्टाचार जन्य कार्यहरू गरेको, विपक्षहरूको अस्तित्व माथि धावा बोलेको काँग्रेसले जितेको ६ नम्बर वडामा विकास निर्माणका कार्यहरूमा चरम विभेद गरेर जनता माथि अपमान गरेको र सत्ताको चरम दुरुपयोग गरेको देखिएको’ सामाजिक सञ्जालमा पालिकाको पत्रको फोटो राख्दै लेखेका छन् । 

साथै उपसभापति कार्कीले ‘यो निरंकुशताको विरुद्ध बोल्ने र आवाज उठाउने हाम्रा साथीहरूलाई प्रहरी प्रशासन लगाउने पत्रले राज्यसत्ताको समेत दुरुपयोग गर्न खोजेको  प्रस्ट हुन्छ । प्रहरी प्रशासन खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठका कठपुतली हैनन् । बुझे हुन्छ नेपाली काँग्रेस तिम्रा अराजक र अनियमित कार्यको सधैँ विरुद्ध छौँ’, चेतावनी उक्त भाषामा लेखिएको छ । 

उपसभापति कार्कीले यो निरङ्कुशता कुनै पनि हालतमा नटिक्ने अगाडि व्यक्त गर्दै पालिका अध्यक्ष श्रेष्ठलाई बेलैमा ‘सच्चिनुस् । प्रहरी प्रशासनको घेरामा कति दिन टिक्छौँ भनेका छन् । 

 

यसैबिच नेकपा एमाले खाँडादेवी गाउँपालिकाले पनि प्रेस विज्ञप्ति जारी गर्दै पालिका अध्यक्षको बचाउमा उत्रिएको छ । उनले सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त घटनामा वडा नं। ६ का वडा अध्यक्ष नारायण कार्कीको नेतृत्वमा केही आवान्छित तथा आपराधिक गतिविधि गरिएको आरोप लगाएको छ । एमाले गाउँपालिका कमिटीका अध्यक्ष पुष्कर कुमार कार्की र सचिव मोतीलाल तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा वडा अध्यक्ष कार्कीको नेतृत्वमा करिब २०/२२ जनाको ‘जत्था’ले सवाल जवाफ चलिरहेको बेला एक्कासि हल भित्र प्रवेश गरी पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत जनप्रतिनिधीहरूलाई भौतिक आक्रमण गर्दै बोतलले हान्नेको भनेको छ । 

त्यस्तै उसले पालिकाको भौतिक संरचना तोडफोड गरेको भन्दै कार्यक्रमलाई बिथोल्न खोजेकामा घोर भर्त्सना गर्दै भावी दिनमा यसको मूल्य महँगो पर्ने चेतावनी समेत दिएको छ । साथै दोषी माथि प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहीको माग गरेको छ । 

 

त्यस्तै नेपाली काँग्रेस खाँडादेवी गाउँपालिकाले पनि प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे फेरिसस्ता उल्लेख गरेको छ । उसले पालिकाको वडा नं. ६ का जनप्रतिनिधि, स्थानीय जनसमुदायले आ.व. ०७९/८० को नीति तथा कार्यक्रम (रातो किताब) मा उल्लेखित पेच नं १०८ को क्र.म.सङ्ख्या ३० मा वडा नं.६ मा रहेको सडक मर्मत कोषको शीर्षकमा विनियोजित रु २७ लाख सम्झौताको लागी वडाको सिफारिस सहित २०७९ मंसिर १० गते देखि पटक–पटक जाँदा समेत पालिका अध्यक्षले सम्झौता नगरेको उल्लेख गर्दै उक्त विषयमा प्रश्न उठाउँदा अध्यक्षले अपशब्द तथा बल प्रयोग गर्दै अभद्र व्यवहार देखाएको, माकादुमका स्थानीय आम–नागरिकलाई प्रहरी प्रशासन लगाई प्रवेश निषेध तथा आफ्नो अभिव्यक्ति व्यक्त गर्न समेत नदिएको बताएको छ । 

साथै पालिका प्रमुखले सार्वजनिक मञ्चबाटै धम्कीपूर्ण शैलीमा खाँडादेवी गाउँपालिको कार्यालय नै सार्ने समेत अभिव्यक्ति दिएको भन्दै काँग्रेस वडा नं। ६ ले घोर भर्त्सना गरेको उल्लेख छ । पुनः यस्ता खाले हर्कत गरिएमा लोकतन्त्रको रक्षाको लागि काँग्रेस माकादुम जस्तो सुकै मूल्य चुकाउन तयार रहेको समेत उसले प्रेस विज्ञप्तिमा लेखेको छ।