अन्ततः यसरी मिल्यो खाँडादेवी गाउँपालिका अध्यक्षमाथि बोतल प्रहार गरिएको प्रकरण ?

| असार २, २०८० शनिबार

सार्वजनिक सुनुवाईमा भएको बिरोध, फाइल फोटो ।
A A A
A A A

२ असार, रामेछाप । खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाइमा पालिका अध्यक्ष माथि बोतल प्रहार गरेको घटनामा मेलमिलाप गरिएको छ । पालिकाले गरेको सार्वजनिक सुनुवाइमा भाँडाभैलो मच्चिएको थियो । साथै स्थानीयहरुले पालिकाले प्रहरी परिचालन गरेर सार्वजनिक सुनुवाइमा आफूहरुको प्रवेशमा अबरोध गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । 

 

३१ गत जेठमा भएको उक्त घटनामा गाउँपालिकाले दोषीलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दिएको थियो । जस अनुसार शुक्रवार प्रशासनमा प्रमुख जिल्ला अधिकारी अनिता निरौला सहितको उपस्थितिमा दुई समूहबिच छलफल भएको थियो । उक्त छलफलमा वडा नं ६ माकादुकमा वडा अध्यक्ष नारायण बहादुर कार्कीले पालिकाको गाउँ कार्यपालिका बैठकमा आत्मा आलोचना गर्ने सहमति पछि विवाद समाधान भएको बैठकमा सहभागी नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति राजेशकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘अध्यक्षले लिखित माफी माग्ने सहमति पछि सहमति भएको हो ।’

 

साथै जिल्ला प्रहरी कार्यालय रामेछापले घटनामा संलगन भएका सुजन केसी, बाबु केसी र निर्माल केसीलाई पालिकाको बैठकमा अध्यक्षले माफी नमागुन्जेल दैनिक बिहान १० बजे हाजिर हुनु पर्ने गरी तारिकमा छोडेको जनाएको छ । 

 

पालिका अध्यक्षले वडा नं ६ माकादुमको सडकलाई परेको रु २७ लाख रुपैयाँ बजेट अन्य शीर्षकमा खर्च गरेर सडकलाई नदिएको विषयमा सार्वजनिक सुनुवाइमा प्रश्न गर्दा पालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले अपशब्द प्रयोग गरेपछि स्थानीयहरूले अवरोध गरेका थिए । उनीहरू नाराबाजी गर्दै पालिका अध्यक्षको राजीनामा समेत मागेका थिए । 

 

 

स्थानीयहरूको अवरोधपछि करिब ३ घण्टापछि रातो किताबमा समेत छापिएर छुटिएको बजेट वडालाई दिने सहमति पछि बैठक सञ्चालन गरिएको थियो । साथै घटनामा नेपाली काँग्रेस, नेकपा एमाले, काँग्रेस निकट तरुण दल, एमाले निकट राष्ट्रिय युवासँग लगायतले आपत्ति जनाएका थिए ।