रामेछाप उद्योग वाणिज्य संघले आफ्नो क्षेत्र पालिका स्तरमा पुर्‍याउन थाल्यो : गोकुलगंगामा उद्दव कार्कीको संयोजकमा समन्वय समिति गठन

| असार ४, २०८० सोमबार

A A A
A A A

४ जेठ, रामेछाप । रामेछाप उद्योग वाणिज्य रामेछापले पालिका स्तरमा पनि आफ्नो क्षेत्र विस्तार गरेको छ । सोही अनुसार विभिन्न पालिकामा समन्वय समिति गठन गरेर सो ठाउँका व्यावसायिक कारोबारलाई थप बढवा दिन लागि परेको छ । 

 

जस अनुसार पछिल्लो पटक जिल्लाको गोकुलगंगा गाउँपालिकामा संघले समन्वय समिति गठन गरेको छ । उद्दव कार्कीको संयोजकत्वमा समन्वय समिति गठन गरिएको रामेछाप उद्योग वाणिज्य संघका सचिव यज्ञ सुवेदीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनका अनुसार समन्वय समितिको सह–संयोजक. यमबहादुर कार्की, सचिवमा पुरुषोत्तम बस्नेत सर्व सहमतिमा चयन भएका हुन् । 

 

गोकुलगंगा गाउँपालिकाको सभा हलमा पालिकाको सहयोग,करदाता सेवा कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा असार २ गते सम्पन्न भएको पालिका स्तरीय करदाता शिक्षा, दर्ता नवीकरण सम्बन्धी सहितको  अभिमुखीकरण कार्यक्रमको अवसरमा समन्वय समिति गठन पनि गठन गरिएको सचिव सुवेदीले जानकारी दिए । 

दुई जना मनोनीत सहित ९ सदस्य पालिका समन्वय समितिको गठन गरिएको हो ।

 

पालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश), प्रमुख प्रशासकी अधिकृत होमबहादुर थापा, संघका निवर्तमान अध्यक्ष केशव घिमिरे, अध्यक्ष नवीन थापा मगरसहितको उपस्थितिमा गरिएको अभिमुखीकरण कार्यक्रममा करदाता सेवा कार्यालय मन्थलीका सूचना अधिकारी समेत रहेका नवीन घिमिरेले करका बारेमा विभिन्न जानकारी गराएका थिए ।