उत्पादक जनसंख्यालाई विकास नीतिमा कहिले समेट्ने ?

५ असार, रामेछाप । नेपाल संघीय शासन प्रणालीमा रूपान्तरण पश्चात् स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित भएर स्थानीय शासन सत्ता सम्हालेको दोस्रो पटकको पहिलो वार्षिकी पूरा भएको छ । यो दोस्रो इनिङ सम्हाल्दै गरेका जनप्रतिनिधिहरू माथि आम जनताले धेरै आशा र अपेक्षाहरू गरी रहेका छन् । यद्यपि सीमित स्थानीय स्रोत साधनहरूको उचित परिचालन र व्यवस्थापनबाट ती असीमित जनअपेक्षाहरूमा आशाको किरण भर्न सकिने प्रशस्त अवसरहरू रहेका छन् । तर यो गएको एक वर्षको कार्यकाल समीक्षा गर्ने हो भने नियमित कर्मकाण्डी बाहेक नवीन सोच र विचार सहितको विकासका खाका र प्रक्रियाहरूको प्रारम्भ भएको खासै देख्न सकिएको छैन । यसको अर्थ केही हुँदै नभएको भन्ने होइन तर जति हुनु सक्थ्यो त्यति भने पक्कै पहल कदम नगरेकै हो त्यसमा कसैको दुईमत नरहला ।
यो गएको एक वर्षको गम्भीर समीक्षा सहित बाँकी चार वर्षको कार्यकाल लाई जीवन्त बनाउने हो भने यति वेला स्थानीय तहका आम जनप्रतिनिधिहरूको लागि एक सुनौलो अवसरले ढोका ढकढक्याई रहेको छ । किनकि यही जेठ १५ गते संघीय सरकारले आगामी २०८०।०८१ को लागि बजेट सार्वजनिक गरिसकेको छ । त्यसरी नै प्रदेश सरकारहरूले पनि आफ्नो बजेटहरू तय गरी रहेको समाचारहरू सार्वजनिक भई रहेको छ ।
अन्ततः स्थानीय तहहरूले पनि अगामी वर्षको लागि योजना तथा नीति कार्यक्रम तयारी गर्न द्रुत गतिमा छलफल बहसमा जुटी रहेको देख्न सकिन्छ । त्यसैले आगामी बाँकी चार वर्षे कार्यकाल सम्झन योग्य बनाउन र आम जनमानसको चाहना माथि तुसारापात नहोस् भन्ने हेतुले केही तथ्य र बस्तुगत पक्षहरू केलाउने प्रयत्न गरेको छु । जसले धेरथोर स्थानीय तहका जनप्रतिनिधिहरूलाई तथ्यमा रहेर नवीन परिणाम मुखी योजनाहरू तर्जुमा गर्न सहायता मिल्नेछ भन्ने अपेक्षा लिएको छु ।
रामेछाप जिल्लाको जनसङ्ख्याकीय अबस्थाः
नेपालको राष्ट्रिय तथ्याङ्क कार्यालयले भर्खरै सार्वजनिक गरेको २०७८ सालको जनगणना प्रतिवेदन अनुसार रामेछाप जिल्लाको कूल जनसङ्ख्या १७०३०२ मध्ये महिला ५२.५ प्रतिशत र पुरुष ४७.५ प्रतिशत रहेको छ । जसमा लैङ्गिक अनुपात प्रति १०० जना महिलामा ९०.३३ पुरुष जनसङ्ख्या रहेको देखिन्छ । त्यसरी नै वार्षिक जनसङ्ख्या वृद्धि दर भने ऋणात्मक अवस्थामा पुगेको छ । जुन वार्षिक वृद्धिदर –१.६७ प्रतिशत रहेको छ । जनसङ्ख्या वृद्धिदर यो ऋणात्मक अवस्थामा पुग्नु भनेको क्रमशः उत्पादक जनसङ्ख्याको कमी बढै जानु हो ।
जसले जिल्लाको समग्र विकासका गतिविधिहरूमा प्रत्यक्ष असर गर्दछ । किनकि उत्पादक जनसङ्ख्याको कमी हुने बित्तिकै आश्रित जनसङ्ख्या भने बढ्दै जान्छ र जिल्ला भित्रै उत्पादक जनशक्तिको अभाव हुन गई बाह्य जनशक्तिमा निर्भर रहनु पर्नेछ । जुन जिल्ला भित्रको आर्थिक पुँजी बाहिरिने सँगै बाह्य जनशक्तिको आयात गर्दा महँगो हुन गई विकासका गतिविधिहरू निर्बाध रूपमा सञ्चालन गर्न कठिनाइ हुनेछ ।
यसले द्रुत विकास प्रक्रियामा अवरुद्ध हुन गई जिल्लाको समग्र प्रगति तथा विकास कार्य पछि पर्नेछ । त्यसैले जिल्लाको समग्र विकासलाई द्रुत गतिमा अगाडी बढाउने हो भने हरेक स्थानीय सरकारहरूले हालको जनसङ्ख्या लाभांशलाई भरपुर उपयोगको नीति अवलम्बन गर्न जरुरी देखिन्छ ।
जनसङ्ख्या लाभांश (Population Dividend)
“जनसंख्या लाभांश” भन्ने बित्तिकै कुनै पनि देशको कूल जनसंख्या मध्येको आश्रित जनसंख्या भन्दा आर्थिक गतिविधिमा क्रियाशील हुन सक्ने जनसंख्या बढी भएको अवस्थालाई जनसंख्या लाभांश भन्ने गरिएको पाइन्छ । जसको सर्वव्यापी मान्यता प्राप्त परिभाषाहरू नभएता पनि विभिन्न देशहरूले आफ्नो देशको जनसङ्ख्याको उपयोग र व्यवस्थापनको पक्षबाट अरूमा निर्भर जनसंख्या भन्दा स्वयं उत्पादक जनसङ्ख्याको धेरै भएको अवस्थालाई व्याख्या गरिएको देखिन्छ ।
जनसंख्या लाभांश विशेषतः विकासशील देशहरूमा जनसाङ्ख्यिक सङ्क्रमण अवस्था सँग जोडिएको हुन्छ । किनकि अल्प विकसित देशहरूमा जनसङ्ख्याको वृद्धिदर उच्च अवस्था बाट विकासमा फड्को मारे सँगै वृद्धिदर ओरालो तर्फ लागेको पाइन्छ । उक्त सङ्क्रमण अवस्थामा पनि आश्रित जनसंख्या भन्दा उत्पादक जनसंख्या बढी भएको अवस्थामा ती उत्पादक जनसंख्या लाई भरपुर उपयोग गरेर समग्र विकासमा गतिविधिहरूलाई द्रुत गतिमा अगाडी बढाउने सुनौलो अवसर रहन्छ ।
उत्पादक जनसंख्याः
उत्पादक जनसंख्या भन्ने बित्तिकै आर्थिक गतिविधिमा सक्रिय जनसंख्यालाई जनाउँछ जुन १५ वर्ष देखि ६४ वर्ष उमेर समूहको जनसंख्यालाई लिइन्छ । रामेछाप जिल्लाको यो समूहको जनसंख्या हेर्ने हो भने ११०३३२ रहेको छ र आश्रित जनसंख्या १५ वर्ष भन्दा मुनिका र ६५ वर्ष माथिकालाई जनाउँछ जुन कूल ५९९७० रहेको छ ।
यसरी हेर्दा कूल आश्रित जनसंख्या भन्दा उत्पादक जनसंख्या बढी देखिन्छ । त्यसैले ती उत्पादक जनसंख्या लाई उपयोग गर्ने नीति र वार्षिक विकासका योजना तथा नीति कार्यक्रम तर्जुमा गर्न आवश्यक छ ।
ती उत्पादक जनसंख्यालाई शिक्षा, स्वास्थ्य सेवा, रोजगारीका अवसरहरू र अन्य आवश्यक सेवाहरू उपलब्ध गराएर आफ्नो बढ्दो जनसङ्ख्याको सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्न सकियो भने त्यसले आर्थिक वृद्धि, उत्पादकत्व वृद्धि र जीवनस्तरमा सुधार ल्याउन सकिन्छ ।
सामान्य अर्थमा बुझ्ने हो भने २ जना कमाउने व्यक्तिले १ जना व्यक्तिलाई पालनपोषण गर्नु पर्ने
किनकि जनसंख्या लाभांशको अवधारणा युवा र जनसंख्या आर्थिक विकासको लागि फाइदाजनक पक्षबाट लिएको छ ।त्यसैले शिक्षा र सीप तालिम जस्ता सही नीति र लगानीका साथ यो युवा जनसङ्ख्याले आर्थिक उत्पादकत्व, नवप्रवर्तन र उद्यमशीलतामा महत्त्वपूर्ण योगदान दिन सक्दछ । तसर्थ रामेछाप जिल्लाको आठ वटै स्थानीय तहहरूको उत्पादक जनसङ्ख्याको विवरण निम्न अनुसार प्रस्तुत गरिएको छ ।
स्थानीय तहको नाम | आश्रित जनसंख्या (१४ वर्ष सम्म र १६ वर्ष माथिका) |
उत्पादक जनसंख्या (१५ वर्ष देखि ६४ वर्षका) |
प्रति १०० उत्पादक जनसंख्यामा आश्रित जनसंख्या |
उमाकुण्ड गा.पा. | ५७०४ | १०८८६ | ५२ |
दोरम्बा शैलुङ गा.पा | ६१७६ | ११५१९ | ५४ |
गोकुलगंगा गा.पा | ६३३३ | ११४६५ | ५५ |
खाँडादेवी गा.पा | ६७४२ | १२५७० | ५४ |
लिखु तामाकोशी गा.पा | ६६९६ | ११६२९२ | ५८ |
मन्थली न.पा | १४०७५ | २५६२० | ५५ |
रामेछाप न.पा | ९१२९ | १५८२४ | ५८ |
सुनापति गा.पा | ५०२५ | ९६३३ | ५२ |
(स्रोत: जनगणना २०७८ को प्रतिवेदनको आधारमा तयार पारिएको)
समग्रमा हेर्ने हो भने प्रति १०० जना उत्पादक तथा आर्थिक गतिविधिमा सक्रिय जनसंख्या बराबर ५० जनाको हाराहारीमा आश्रित जनसंख्या देखिन्छ । सामान्य अर्थमा बुझ्ने हो भने २ जना कमाउने व्यक्तिले १ जना व्यक्तिलाई पालनपोषण गर्नु पर्ने हुन्छ । जसले गर्दा आर्थिक विकास लगायत अन्य विकासका गतिविधिहरू लाई द्रुत गतिमा रूपान्तरण गर्न सकिने यो सुनौलो अवसर रहेको छ ।
यद्यपि जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको कारण कालान्तरमा यो सुविधा भने रहँदैन र आश्रित जनसंख्या भने बढ्दै जानेछ । त्यसैले निम्न क्षेत्रमा नीति तथा कार्यक्रम तर्जुमा हुन सकेमा जिल्लाका स्थानीय तहहरूले जनअपेक्षा अनुसार विकासका गतिविधिहरूलाई दिगो रूपमा सञ्चालन र व्यवस्थापन गर्न सकिन्छ ।
उद्यमशील तथा व्यावसायिक शिक्षा:
हरेक स्थानीय तहले औपचारिक शिक्षा सँगै उद्यमशील व्यावसायिक शिक्षालाई जोड दिनु पर्ने देखिन्छ । किनकि १५ देखि ६४ वर्ष उमेर समूहका जनसंख्या हरेक स्थानीय तहमा उच्च रहेको हुँदा ती वर्गलाई लक्षित गरी एक घर एक उद्यमशीलता तथा व्यवसायलाई जोड दिनु आवश्यक छ ।
विद्यालयका औपचारिक शिक्षाले उद्यमशीलता विकास र रोजगारी प्रबद्र्धनमा खासै भूमिका खेलेको देखिँदैन । त्यसैले औपचारिक शिक्षा लाई उद्यमशीलता तथा व्यावसायिक शिक्षामा रूपान्तरण तथा समायोजन गर्दै लैजानु पर्ने हुन्छ । जसको लागि निश्चित मोडल तयार गरी कार्यान्वयनमा लैजान सकिन्छ । अन्यथा आम जनमानसले भने झैँ शैक्षिक बेरोजगार उत्पादन भन्दा खासै केही अर्थ राख्दैन ।
भू उपयोग र कृषि प्रबद्र्धनः
समग्र देश कृषि प्रधान भनेर चिनिएता पनि कृषि क्षेत्रको वार्षिक बजेटले त्यसको सम्बोधन गर्न सकिएको देखिँदैन । साथै स्थानीय तहहरूको पनि ठोस एकीकृत कृषि विकास योजना भन्दा पनि स साना टुक्रे वितरणमुखी योजनाहरूको वर्चस्व देखिन्छ । जुन प्रत्युत्पादक भएको गएको आम जनमानसले देखिरहेको छ ।
जसले गर्दा कृषिमा आधारित उद्यमशीलता विकास र प्रवर्द्धन गर्ने हो भने आम किसानले उत्पादन गरेको बस्तुहरूको बजार सुनिश्चित स्थानीय सरकारले गरी दिनु पर्नेछ । जसको लागि दुई वटा मोडलमा अगाडी बढ्न सकिन्छ । पहिलो स्थानीय सरकारद्वारा प्रत्यक्ष रूपमा खरिद विक्रीको प्रवर्द्धन र दोस्रो सार्वजनिक निजी साझेदारी मार्फत व्यवस्थापन गर्न सकिन्छ ।
सांस्कृतिक तथा प्राकृतिक पर्यटन प्रबद्र्धनः
रामेछाप जिल्ला जैविक विविधता मात्र नभएर धार्मिक, सांस्कृतिक र जातीय विविधताले भरि पूर्ण रहेको छ । त्यसैले स्थानीय तहहरूले आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन गर्न एकीकृत आकर्षणका योजनाहरू तयार गर्न आवश्यक देखिन्छ । जसको लागि विभिन्न अनुसन्धानकर्ताहरूलाई जिल्लाका विभिन्न पक्षहरूको अध्ययन अनुसन्धान गराई अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न सकिन्छ ।
जनसंख्या लाभांशलाई उपयोग गरेर नीति तथा कार्यक्रमहरू विकास नगर्ने हो भने रामेछाप जिल्लाले द्रुत गतिमा विकासमा छलाङ मार्न सकिने छैन ।
त्यसरी नै विभिन्न जातजातिका सांस्कृतिक अध्ययन अनुसन्धान सँगै प्राकृतिक स्रोतहरूको व्यवस्थापन र धार्मिक पर्यटन प्रवर्द्धन महत्त्वपूर्ण पाटो हुन सक्दछ । साथै इको टुरिजमको प्रवर्द्धन मार्फत आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन गर्न सकिन्छ । यसको लागि एउटा मात्र स्थानीय निकायको जोड बलले पूर्ण हुन सक्दैन र जसको लागि एकीकृत रूपमा समन्वय गरी योजना तर्जुमा गर्न आवश्यक रहेको देखिन्छ ।
अन्तमा, हाल सम्म विभिन्न दृष्टिकोणबाट विकासका योजनाहरू तर्जुमा भएता पनि हालको जनसंख्या लाभांशलाई उपयोग गरेर नीति तथा कार्यक्रमहरू विकास नगर्ने हो भने रामेछाप जिल्लाले द्रुत गतिमा विकासमा छलाङ मार्न सकिने छैन । किनकि, जनसंख्या सबै भन्दा महत्त्वपूर्ण पक्ष हो जसको अवस्थालाई मध्य नजर गरेर विकासका योजना तर्जुमा नहुने हो भने विकास कसका लागि र किन भन्ने प्रश्न खडा भई रहन्छ ।
साथै जिल्ला भित्रको जनसंख्या वृद्धिदर एक त ऋणात्मक अवस्थामा पुगेको छ र जसले आश्रित जनसंख्यालाई उत्पादक जनसङ्ख्याले प्रतिस्थापन गर्न नसक्दा जन विकराल अवस्थाको सृजना हुन सक्दछ । त्यसरी नै उत्पादक जनसंख्या मध्येको एक हिस्सा वैदेशिक रोजगारी र अध्ययन को लागि विश्व बजारमा पलायन हुनेको होडबाजी नै चलेको छ ।
त्यस मध्ये केही हिस्सा सहर तर्फ केन्द्रित हुँदा बिस्तारै ग्रामीण गाउँहरू मानव बस्ती विहीन अवस्थामा पुग्नेछ । त्यसैले उत्पादक जनसंख्यालाई अधिकतम उपयोग गर्ने नीति तथा कार्यक्रम तर्जुमा आजको महत्त्वपूर्ण आवश्यकता रहेको छ ।
सगरमाथा चड्दै पर्यटकहरु, तस्बिर फाइन
दिपक घिसिङ्ग
विकास अध्येता