उमाकुण्ड गाउँपालिकाले आलु चिप्स उत्पादन थाल्ने, कक्षा १२ सम्मै दिवा खाजा, एमबिबिएस पढ्नेलाई सहयोग

| असार ९, २०८० शनिबार

A A A
A A A

९ असार, रामेछाप । उमाकुण्ड गाउँपालिकाले पालिकाका स्थानीयहरूको आय,आर्जन बढाउन जोड् नीति तथा कार्यक्रम ल्याएको छ । पालिका अध्यक्ष शेरबहादुर सुनुवारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा आय आर्जन बढाउँदै समृद्ध पालिका बनाउने योजना सुनाए । 

 

सोही कुरालाई कार्यान्वयनमा लान पालिकाले बजेट पनि छुटाएको पालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले बताइन् । उनले शिक्षालाई पहिलो प्राथमिकता दिँदै कृषि उत्पादनलाई निर्यात गरी आय आर्जन बढाउन सक्ने बजेट बनाइएको दाबी गरिन् । 

कूल ६० करोड ५८ लाख ६३ हजार १ सय रुपैयाँको बजेट सार्वजनिक गरेको यो पालिकाले आगामी आर्थिक वर्षबाट पालिकामा उत्पादन हुने आलुबाट आलु चिप्स उत्पादन थाल्ने भएको छ । 

 

त्यस्तै मासु पसल सञ्चालन गर्नेलाई अनुदान दिने, वर्षमा ३ पटक पालिका बासीको स्वास्थ्य परीक्षण गर्ने, ‘हाम्रो उमाकुण्ड’ पाठ्यक्रम निर्माण गरी १–३ सम्म पठनपाठन गर्ने, कक्षा १२ सम्मै दिवा खाजा व्यवस्था दिने, ‘अध्यक्ष छात्रा’ वृद्धि कार्यक्रमलाई निरन्तर दिने गरी बजेट विनियोजन गरेको उपाध्यक्ष सुनुवारले सार्वजनिक गरेकी हुन् । 

 

 

स्थानीय खेलाडीलाई सम्मान गर्ने, प्रत्येक स्वास्थ्य चौकीमा २ बेड अक्सिजन सहितको उपचार व्यवस्था गर्ने, उच्च शिक्षा (एमबिबिएस) पढ्न चाहने विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्ने लगायतका कार्यक्रम समावेश गरिएको उल्लेख छ ।