रास्वपाले उमाकुण्ड गाउँपालिकामा समिति गठन गर्यो, सभापतिमा नवराज बस्नेत

१७ असार, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप संगठन विस्तारमा गाउँ–गाउँ पुग्न थालेको छ । केही दिन यता रास्वपा रामेछाप संगठन विस्तार गर्न बाँकी रहेका नगर तथा गाउँपालिकाहरूको दौडधुपमा देखिएको हो ।
सोही क्रममा शनिवार जिल्लाको उमाकुण्ड गाउँपालिकामा प्रथम भेला गर्दै समिति गठन गरेको छ । केन्द्रमा रवि लामिछाने नेतृत्वको सो पार्टीले जिल्लामा आठ वटै स्थानीय तहमा समिति विस्तार नसकेको हुँदा बाँकी रहेका स्थानीय तहमा पूर्णता दिन गाउँ–गाउँमा भेला तथा संगठन विस्तारमा जुटेको पार्टी प्रदेश समिति सदस्य एवं जिल्ला संयोजक रमेश रायमाझीले रामेछाप टाइम्सलाई जानकारी दिए ।
उनका अनुसार प्रथम उमाकुण्ड पालिका भेलाले नवराज बस्नेतको सभापतित्वमा ११ सदस्यीय पालिका समिति गठन गरेको छ । जसको उप–सभापतिमा प्रदीप खड्का, कोषाध्यक्षमा कंचन खड्का, सचिवमा विनोद कुमार सुनुवार मनोनीत भएका छन् ।
त्यस्तै सन्तबहादुर बस्नेत, प्रेमबहादुर बस्नेत, दोर्जे शेर्पा, टङ्कलाल तामाङ, अम्बिका बस्नेत, दुर्गा देवी सुनुवार र सङ्गीता बस्नेत नवगठित सदस्य बनेका हुन् ।