तामाकोशी र रामेछाप सामुदायिक अस्पतालमा उपचार गर्दा रामेछाप उद्योग वाणिज्य संघका सदस्यले विशेष छुट पाउने सम्झौता, साउन देखि दूर्घटना बिमा पनि

| असार १९, २०८० मंगलबार

A A A
A A A

१९ असार, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ रामेछापले आफ्ना सदस्यलाई जिल्ला सदरमुकाम मन्थलीका दुई निजी अस्पतालबाट उपचार गर्दा विशेष छुट्को व्यवस्था गरेको छ । त्यसको लागि संघले अस्पतालहरूसँग लिखित सम्झौता गरेको हो । 

 

गत आइतबार संघको सचिवालयमा संघको तर्फबाट अध्यक्ष नवीन थापा मगर र तामाकोसी अस्पतालका अध्यक्ष गोविन्द घिमिरे र रामेछाप सामुदायिक अस्पताल मन्थलीका सञ्चालक केशव सिंह धामीले संघका महासचिव कुमार श्रेष्ठ, सचिव यज्ञ सुवेदी, उद्योग उपाध्यक्ष आकाश रिजाल, सदस्य झनक बुढाथोकी (उत्तम), कार्यकारी अधिकृत नवीन केसी सहितको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरेको संघका महासचिव श्रेष्ठले जानकारी दिए । यो सम्झौता आउँदो चैत्र मसान्तसम्म कायम रहने । 

 

निजी क्षेत्रका व्यापार व्यवसायीहरू आबद्ध उद्योग वाणिज्य संघमा जिल्लामा १ हजार ४२५ जना सदस्य छन् । भने, संघले पालिका स्तरमा पनि आफ्नो क्षेत्र विस्तार गर्दै छ । 

यी सदस्यहरूको स्वास्थ्य उपचारलाई ध्यानमा राख्दै संघले उपचारमा विशेष छुट हुने गरी सम्झौता गरेको महासचिव श्रेष्ठले जानकारी दिए । अब संघको सदस्यता परिचयपत्रको प्रतिलिपिको आधारमा तामाकोशी अस्पताल मन्थलीबाट सबैखाले औषधि खरिदमा ५ प्रतिशत, सम्पूर्ण स्वास्थ्य उपचार सेवामा २० प्रतिशत छुट पाउने छन् । यसरी तामाकोशी अस्पतालमा संघका सदस्यले कूल ४० प्रतिशत सम्म छुट पाउने छन्  ।

 

त्यस्तै देवकोटा चोक स्थित रामेछाप सामुदायिक अस्पताल मन्थलीबाट सबैखाले औषधि खरिदमा ५ देखि १० प्रतिशत, ल्याबमा २० प्रतिशत, सबैखाले सर्किजल (अप्रेसन) मा १० देखि १५ प्रतिशत र अस्पताल बेड भर्ना ५० प्रतिशत छुट पाउने महासचिव श्रेष्ठले जानकारी दिएका हुन् । रामेछाप सामुदायिक अस्पतालमा संघका सदस्यलय ८५ देखि ९० प्रतिशत सम्म छुट पाउने भएका हुन् । 

 

 संघमा आबद्ध सदस्यहरूले सम्झौता भएका अस्पतालबाट सेवा पाउनको लागि यही असार मसान्तभित्र संघको सचिवालयमा उपस्थित भई सदस्यता नवीकरण गर्नु पर्ने समय तोकिएको छ । त्यस्तै आउँदो साउनदेखि लागू हुने गरी संघका सदस्यहरूको दुर्घटना बिमा समेत गरिने महासचिव श्रेष्ठले जानकारी दिए । 

 

रामेछाप उद्योग वाणिज्य संघमा २८ फागुन २०७९ मा निर्वाचित भएर आएपछि रामेछाप फूट फेस्टिभल, व्यापार व्यवसायीहरूलाई विभिन्न तालिम, अभिमुखीकरण लगायतका कार्यक्रम गर्दै सक्रियता देखाउँदै आएको संघले सदस्यता नवीकरण गर्न आग्रह पनि गरेको छ ।