गुन्सीः ‘झ्याप’ भएर वडा कार्यालय पुगेका शिक्षक घिसिङले वडा अध्यक्षमाथि गरे हातपात, एक जना घाइते (भिडिओसहित)

| असार २२, २०८० शुक्रबार

A A A
A A A

२२ असार, रामेछाप । सुनापति गाउँपालिका–१ गुन्सीमा एक शिक्षकले आफू हिँड्ने बाटोमा वडा अध्यक्षले बजेट नछुटाएको भन्दै वडा अध्यक्ष माथि आक्रमण गरेका छन् । उनी मादक पदार्थ सेवन गरेको अवस्थामा ( लट्ठ मातेर) कार्यालयमै पुगेर वडा अध्यक्षमाथि हातपात गरेका हुन् । 

 

गत बुधवार दिउँसो  मातेर वडा कार्यालयमा गुन्सी पुगेर सोही वडा निवासी शिक्षक नीराजन घिसिङले वडा अध्यक्ष ध्रुव चौलागाई माथि आक्रमण गरेका हुन् । शिक्षक नीराजन हाल दोरम्बा शैलुङ्ग गाउँपालिका–६ स्थित बुद्धेश्वरी आधारभूत विद्यालयमा कार्यरत छन् ।

 

सोही वडामा चालु आर्थिक वर्षमा वडा कार्यालयबाट छुट्टाएको बजेटबाट खानेपानी योजना सम्पन्न गरेर अन्तिम भुक्तानीको लागि सिफारिस लिन (झ्याप) भएर पुगेका निराजनले वडा कार्यालयमा प्रवेश गर्ने बित्तिकै सडकमा पैसा किन नछुट्टाएको भन्दै वडा अध्यक्षमा माथि जाइलागेका थिए । 

वडा अध्यक्ष चौलागाईले बजेट परेको छ त भनेको रामेछाप टाइम्सलाई प्राप्त भिडिओमा प्रस्ट सुनिन्छ । शिक्षक निराजनले अकस्मात् अध्यक्ष माथि आक्रमण गरेका थिए । अध्यक्षमाथि शिक्षकले हातपात गरेपछि छेक्न खोज्दा सेवाग्राही देवीप्रसाद गौतम घाइते भएका छन् ।

 

घाइते गौतमको शिक्षक निराजनको मुक्काबाट आँखा माथि र नाकमा चोट लागेको छ । सोही घटनालाई लिएर वडा अध्यक्ष चौलागाईले बुधवार नै प्रहरी चौकी गुन्सीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले शिक्षक नीराजनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा मन्थलीमा ल्याइएको छ । 

 

कार्यालयमा बसेर नागरिकको काम गर्दै गर्दा अकस्मात् मादक पदार्थ सेवन गरी अपशब्द बोली आफूमाथि जाइलागेको भन्दै वडा अध्यक्ष ध्रुव चौलागाईले बिहीबार जिल्ला प्रहरी कार्यालय रामेछापमा अभद्र व्यवहार कसुरमा जाहेरी दर्ता गरेका छन् । 

 

सोही जाहेरीको आधारमा शिक्षक नीराजनलाई जिल्ला प्रशासन कार्यालय रामेछापबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।

 

भिडिओ हेर्नुहोस्