खाँडादेवीका ४ विद्यालय : एसइई र पालिका स्तरीय परीक्षामा उत्कृष्ट नतिजा, पालिकाबाट २ लाख नगद सहित शिक्षक, विद्यार्थी र अभिभावक सम्म सम्मानित

| असार २४, २०८० आइतबार

A A A
A A A

२४ असार, रामेछाप । खाँडादेवी गाउँपालिकाले पालिका भित्रका पठनपाठन र नतिजा राम्रो रहेका विद्यालय परिवारलाई सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड (एसइई) को नतिजामा पालिका भरीमा सबै भन्दा राम्रो नतिजा ल्याउने विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति (विव्यस) लाई नगद सहित सम्मान गरेको हो । त्यस्तै पालिकाले उत्कृष्ट सिकाई उपलब्धि भएका विद्यालय सिकाई सुदृढीकरणका लागि प्रोत्साहन अनुदान र पालिका स्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा सिकाई उपलब्धिको आधारमा प्रथम,  द्वितीय, तृतीय र चौथौँ स्थान हासिल विद्यालय पनि संघीय सशर्त अनुदानबाट प्राप्त भएको आर्थिक सहयोगबाट सम्मान गरेको पालिकाले जनाएको छ । 

 

गत शुक्रवार पालिकाको कार्यालयमा पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ, प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने सहितको उपस्थितिमा सम्मान गरिएको पालिकाको शिक्षा शाखा प्रमुख मीनबहादुर थापाले रामेछाप टाइम्सलाई जानकारी दिए ।  

उनका अनुसार पालिकाले शैक्षिक सत्र २०७९ को एसइई परीक्षामा पालिकाभरि कै सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको वडा नं १ राकाथुम स्थित श्री मावि राकाथुमलाई नगद २ लाख सहित सम्मान गरिएको हो । 

 

त्यस्तै कक्षा ८ को परीक्षामा सिकाई उपलब्धिको आधारमा प्रथम भएको बागेश्वर आधारभूत विद्यालयलाई नगद ३० हजार, द्वितीय बनेको श्री मावि राकाथुम २० हजार, तृतीय बनेको निजी क्षेत्रको जिएन बोर्डिङ स्कुल १० हजार र चौथौँ स्थान ल्याउन सफल बुद्ध भवानी मावि नगद ५ हजार सहित सम्मान भएको शिक्षा शाखा प्रमुख थापाले बताए । 

 

त्यस्तै पालिकाभरिका ९ स्रोत केन्द्र स्तरीय उत्कृष्ट सिकाई उपलब्धि भएका ३ जना शिक्षक र ३ विद्यार्थी गरी कूल ५४ जना पनि नगद सहित सम्मानित भएका छन् । जसमा शिक्षकलाई प्रथम, द्वितीय र तृतीयलाई नगद २ हजार १५ सय र १२ सयले सम्मान गरिएको थापाले बताए । भने, विद्यार्थीलाई पनि प्रथम, द्वितीय र तृतीयलाई १५ सय, १२ सय र १ हजार नगदले सम्मान गरिएको उनले बताए । 

 

त्यस्तै कक्षा ८ मा विषयगत उत्कृष्ट सिकाई उपलब्धि भएका ९ वटै विषयगत शिक्षकलाई २ हजार, १५ सय र १२ सय सहित सम्मान गरेको छ । त्यसमा पनि प्रथम, द्वितीय र तृतीय छुटाएर सम्मान गरिएको थियो । 

 

कक्षा ८ को परीक्षा पालिकाले केन्द्र निर्धारण गरेर एसइई जस्तै गरी लिएको हुँदा यो परीक्षाको नतिजा उत्कृष्ट रहेको शिक्षा शाखाको दाबी छ ।  त्यस्तै कक्षा ५ को पनि विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरेर लिइएको शिक्षा शाखाले जनाएको छ । 

कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल एवं पालिकाको उत्कृष्ट विद्यार्थी कुस्पिता तामाङ (मावि राकाथमु) नगद ४ हजार, दोस्रो (बागेशर आवि) का दिवेश श्रेष्ठ नगद ३ हजार, सुप्रिया श्रेष्ठ (मावि राकाथुम) की तृतीय नगद २ हजार र रस्मी भुजेलले १५ सय नगद (बुद्ध भवनी मावि) की सम्मानित भएका छन् । 

 

त्यस्तै १३ मावि तथा हविका (विव्यस) अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्ष पनि सम्मान प्रमाणपत्र सहित सम्मानित भएका छन् । कुल ४५ जनालाई सम्मान पत्र सहित सम्मानित गरिएको शिक्षा शाखा प्रमुख थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

खाँडादेवी गाउँपालिकामा १३ मावि ७ वटा आवि सहित ४९ वटा विद्यालय रहेको थापाले जानकारी दिए ।