स्थानीयलाई स्वरोजगार बनाउन गोकुलगंगाको जोड  : ३५० जनालाई विभिन्न सिपमूलक तालिम, ‘नौमती बाजा सेट’ प्रदान

| असार २४, २०८० आइतबार

A A A
A A A

२४ असार, रामेछाप । गोकुलगंगा गाउँपालिकाले दलित समुदायको लोप हुँदै गएका पूर्खेउली पेसा र परम्परालाई जगेर्ना गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले परियार समुदायको लागि पञ्चेबाजा लगायतका सामाग्री प्रदान गरेको छ । चालु आर्थिक वर्षमा पालिकाले करिब ६० लाख बढीको सिप मूलक र आय–आर्जन बढाउने कार्यक्रम गरेको जनाएको हो । पालिकाका युवाहरूलाई स्वरोजगार नबनाउँदा सम्म आफूहरूले जे–जे गरेपछि काम नदेखिने भन्दै यहाँका युवा र स्थानीयलाई स्वरोजगार बनाउनु पालिकाले प्राथमिकता दिएको पालिकाकी उपाध्यक्ष उषादेवी कार्कीले यस अगाडि नै बताएकी थिइन् । 

 

पालिकाको करिब ६० लाख लागतमा ग्रामीण बिजनेश प्रोमोशन प्रा.लि.मन्थलीसँगको सहजिकरणमा दलित समुदाय सहित सो पालिका भित्रका कृषि, पशुपालन, सिपमूलक तालिम लगायतका कार्यक्रम चालु आर्थिक वर्षमा गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘हामीले करिब ६० लाख लागतमा ग्रामीण बिजनेश प्रोमोशन प्रा.लि.मन्थलीसँगको सहजिकरणमा सिपमूलक तालिम, बाख्राका पाठी, प्लास्टिक टनेल, आरणका सामाग्री र पञ्चेबाजा लगायतका सामानहरू जिविको पार्जनमा सहयोग पुग्ने विश्वासको साथ प्रदान गरेका हौँ ।’

 

प्रमुख प्रशासकीय अधिकृत थापाका अनुसार पालिकाले त्यहाँका स्थानीयहरूलाई ग्रामीण बिजनेश प्रोमोशन प्रा.लिसंगको समन्वयमा दलित, सीमान्तकृत, अल्पसंख्यक र पछाडि परेका १८० जनालाई आधुनिक तरकारी खेती, ७० जनालाई बाख्रा बंगुर पालनको तालिम र पाठा पाठी, ७ जनालाई सुधारिएको आरण, ७ जनालाई जुत्ता चप्पल बनाउने तालिम दिइएको छ । 

पञ्चेबाजा सेट पाएपछि बजाएर रमाउँदै,स्थनीय

त्यस्तै तरकारी खेती सम्बन्धी रुग्ण उद्यमीहरूलाई १–१ थान प्लास्टिक टनेल ३ सय ५० जनालाई प्रदान गरेको छ । 

 

यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन भएको र आउँदो वर्ष पनि अगाडि बढ्ने जानकारी दिए । पछिल्लो पटक शनिवार पालिकाको सभा हलमा पालिका भित्रका ६ वटै बडाभरि बिहे, शुभकार्यहरुमा प्रचलित परियार समुदायको पेसा पञ्चेबाजाको प्रयोग र संरक्षण गर्ने उद्देश्यले १०–१० जनाको ४ वटा समूहलाई ‘नौमती बाजा सेट’  हस्तान्तरण गरिएको हो । 

 

पालिकाकी उपाध्यक्ष उषादेवी कार्की, प्रमुख प्रशासकीय थापा र ग्रामीण बिजनेश प्रोमोशन प्रा.लि.मन्थलीका कार्यकारी अधिकृत युवराज सुवेदी लगायतको उपस्थितिमा पालिका उपाध्यक्ष कार्कीले उक्त सामाग्री हस्तान्तरण गरेकी हुन् ।

 

उनले सामाग्री प्रदान गर्दै गाउँपालिका भित्र रहेका दलित, अल्पसङ्ख्यक, सीमान्तकृत तथा पछाडि परेका समुदायलाई माथि उठाउने गरी सञ्चालन गरिएको कार्यक्रमले लोप हुँदै गएको पेसा संरक्षण हुने बताइन् । 

 

झन्डै ३ सय बढी स्थानीय सहभागी हुने गरी सञ्चालन गरिएको विभिन्न तालिममा १ नं वडा देखि ६ नं वडा सम्मका नागरिक समेटिएको ग्रामीण बिजनेश प्रमोशन प्रा.लिका कार्यकारी अधिकृत सुवेदीले बताए ।