आगामी असोज ३० गतेसम्म खिम्ती–फर्पु–बेताली सडकमा ८ टन भन्दा माथिका लोड गाडी संचालनमा रोक

| असार २४, २०८० आइतबार

नामाडी र फर्पुको बिचमा रहेको खोला नजिकै केही समय अगाडि खसेको पहिरोले सडक अबरुद्ध भएपछि यात्रुवाहक टाटा सुमो, तस्बिर फाइल ।
A A A
A A A

२४ असार, रामेछाप । गोकुलगंगा गाउँपालिकाले वर्षातको पानी र ठुला मालवाहक गाडी चल्दा सडक थप बिग्रिएर यात्रुवाहक सवारी र यात्रुलाई सास्ती दिएपछि ठुला मालवाहक गाडी संचालनमा रोक लगाएको छ । 

 

विशेष गरी मन्थली हुँदै खिम्ती–फर्पु–नामाडी–बेताली सडकमा उमाकुण्ड र गोकुलगंगा गाउँपालिका कै गर्जाङ लगायतका स्थानमा निर्माणाधीन जलविद्युत आयोजनाका ठुला लोड गाडी चल्दा खाल्डा खुल्डी भएको र पानी जमेर सडकै भासिने, भत्कने गरेको गुनासो बढेपछि पालिकाले आउँदो असोज ३० गते सम्म उक्त सडकमा ठुला मालवाहक गाडी संचालनमा रोक लगाइएको पालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले रामेछाप टाइम्सलाई जानकारी दिए ।

‘पालिकाको खिम्ती–फर्पु सडकमा मालवाहक गाडी रोक लगाइएको हो । दोलखा हुँदै भित्रिने र बाहिरिने चल्न मिल्छ,’ पालिका अध्यक्ष खड्काले भने । यो सडक भएर जलविद्युत आयोजनाका सामाग्री बोकेका ८ टन भन्दा माथि लोड बोल्ने १२ चक्के सवारी संचालन हुँदै आएका छन् । खाद्यान्न ढुवानीका सवारीको पनि जिल्ला सदरमुकाम र संघीय राजधानी, तराई ओहोर–दोहोर हुँदै आएको छ । 

फर्पु खोलामा सडक सफा गर्दै जेसिबि, तस्बि मिलन घिमिरे/रामेछाप टाइम्स

यसरी ठुला सवारी गुड्दा र वर्षाको समस्याले साना, यात्रुवाहक सवारी आवत्–जावतमा अत्यन्त समस्या भएपछि ८ टन भन्दा बढी लोड भएका गाडीलाई रोक लगाइएको हो । 

 

गत असार ७ गते बसेको कार्यपालिकाको  बैठकले आउँदो असोज ३० गते सम्मको लागि ठुला गाडी संचालनमा रोक लगाइएको हो ।