बाम्तीभण्डारः करडौं लागतको मध्यमार्गी सडकमा हिँड्नै मुस्किल भएपछि बजेट छैन भन्दै ‘जनश्रमदानबाट’ मर्मत गर्न वडाको आह्वान

| असार २७, २०८० बुधबार

A A A
A A A

२७ असार, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डारले सडक मर्मत गर्न स्थानीय सरकारसँग बजेट छैन भन्दै जनश्रमदानबाट मर्मत गर्न स्थानीयहरूलाई आह्वान गरेको छ । बजेट अभाव रहेको अवस्थामा सडकमा आवत–जावत् गर्न मुस्किल पर्ने स्थित आएपछि श्रमदान गरेर सडक बनाउने वडाले निर्णय गरेको हो । 

 

पालिकाले निर्माण गरेको ७ वटै वडा कार्यालयलाई जोड्ने मध्यमार्गी सडक खण्ड अन्तर्गत वडा नं २ को डल्लेमाने–बाम्ती–सोतर्मु हुँदै वडा नं २ बाम्तीभण्डार र वडा नं ३ कुँबुँकास्थली आवत-जावत गर्ने करिब २५/३० मिटर कच्ची सडक अविरल वर्षाको कारण हिलाम्मे भएर हिँड्नै मुस्किल परेपछि वडाले श्रमदानबाटै भए पनि सडकमा सवारी चल्ने बनाउने कदम चालेको वडा कार्यालय बाम्तीभण्डारले जनाएको छ । 

 

त्यसको लागि वडा नं २ र वडा नं ३ का वडा कार्यसमिति साथै वडा नं २ का सबै टोल विकास संस्थाका पदाधिकारीसँग समेत वडाले संयुक्त छलफल गरी श्रमदानबाटै सडक मर्मत (सोलिङ) गर्ने निर्णय गरेको वडा सचिव जीवन बरुवालले एक पत्र जारी गर्दै जानकारी दिए । 

 

वडा सचिव बरुवालले जारी गरेको पत्रमा ‘स्थानीय तहबाट तत्काल कुनै बजेट नभएको अवस्थामा वडा कार्यालयको सहकार्यमा सोलिङ ढुङ्गा व्यवस्थापन गरी स्थानीय स्तरबाटै जनश्रमदानमार्फत सोलिङको कार्य गर्न आह्वान गर्ने निर्णय भएको छ’ भनिएको छ । 

 

सडक सोलिङ गर्न वडाले ढुङगाको व्यवस्थापन गर्ने वडा सचिव बरुवालले बताए । ‘वडा नं २ र ३ का श्रमदान गर्न इच्छुक कृषक, बुद्धिजीवी, शिक्षक, कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू साथै आम नागरिकहरूमा श्रमदानको लागि भोलि बिहीबार (२८ गते) का दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म डल्लेमाने स्थित मध्यमार्गी सडक खण्डमा उपस्थित भईदिनु हुन अनुरोध गरिन्छ’, श्रमदान गर्न आह्वन् गरिएको पत्रमा भनिएको छ । 

 

भौतिक पूर्वाधार सडक, खानेपानी, भवन निर्माणलगायतका संरचना निर्माण गर्न पालिकाले करडौं खर्च गरी रहेको अवस्था छ । तर, यसरी स्थानीय सरकारले गरेको करडौं खर्चबाट दिगो विकास, स्थानीय स्रोत साधनको सही सदुपयोग, समयमै विपद्को पूर्व तयारी हुन नसक्दा श्रमदानबाट काम गर्नु पर्ने परिस्थिति देखिनु दुःखद हो । जनश्रमदान गर्ने कुरा नराम्रो नरहे पनि पालिकाले गरेको करडौंको लगानी बालुवामा पानी हाले जस्तो बन्नु सुखद पक्ष हैन । 

 

हिउँदमा पानी नपर्दा धुलो र बर्खामा पानी पर्दा हिलोको सास्ती खेप्न बाध्य स्थानीयहरू, स्थानीय सरकारको करडौं लगानीको बहुवर्षीय आयोजनामा समेत श्रमदान गर्नु पर्ने स्थितिमा पुगेका हुन् ।