मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ बहुमत वडा अध्यक्षहरूले गरे अघोषित बहिस्कार

| असार २९, २०८० शुक्रबार

A A A
A A A

२९ असार, रामेछाप । मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ नगरकै ‘बहुमत’ वडा अध्यक्षहरूले अघोषित रूपमा बहिस्कार गरेका छन् । आज शुक्रवार नगरको आर्थिक वर्ष २०७९ साउनदेखि २०८० असार २८ सम्मको प्रगति विवरण सार्वजनिक गर्न आयोजित सार्वजनिक सुनुवाइमा बहुमत वडा अध्यक्षहरूले अनुपस्थित जनाउँदै अघोषित बहिस्कार गरेका हुन् । 

 

नगरको सभा हलमा शुक्रवार बिहान ११ बजेदेखि सार्वजनिक सुनुवाइ हुने भनी स्थानीय रेडियो सहित नगरको फेसबुक पेज, फेसबुक लगायतका विद्युतीय सञ्चार माध्यमबाट सार्वजनिक सूचना सार्वजनिक गरेको देखिन्छ ।

 

यसै पनि वडा अध्यक्षहरूलाई नगरको सार्वजनिक सुनुवाइ हुने बारे जानकारी नहुने कुरै भएन । तर, वडा नं १३ का वडा वडा अध्यक्ष नवराज थापा मगर बाहेक ९ जना वडा अध्यक्षहरू बैठकमै अनुपस्थित हुँदै सार्वजनिक सुनुवाइ अघोषित रूपमा बहिस्कार गरेका हुन् । 

 

नगर भित्रका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि (कर्मचारीको) मात्रै उपस्थिति देखिएको सो सार्वजनिक सुनुवाइमा वडा नं ३, ८,९ र १४ वडा अध्यक्ष बाहेक १० वटा वडाका अध्यक्षहरू अनुपस्थित भए । यसरी नागरिक एवं सरोकारवालाहरूले सम्बन्धित निकायसँग हाकाहाकी जवाफ माग्ने थलो भनिएको सार्वजनिक सुनुवाइमा वडा अध्यक्षहरुनै अनुपस्थित भएको देखेपछि स्थानीय एवं नागरिक समाजका प्रतिनिधिहरूले वडा अध्यक्षहरू खोइ ? भन्दै प्रश्न गरेका थिए । 

 

वडा नं १ की वडा महिला एवं शिक्षिका सोविता न्यौपानेले मेरो वडाका अध्यक्षलाई प्रश्न सोध्नु थियो । तर, देखिन वडा अध्यक्ष खोइ भन्दै प्रश्न गरिन् । उनले सार्वजनिक सुनुवाइको बारेमा कुनै आधिकारी जानकारी थिएन, यसै सुनेर मात्रै आएकी हु ? किन खबर गरिँदैन भनिन् । 

 

त्यस्तै नागरिक समाजका अगुवा एवं गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्न कँडेलले बहुमत वडा अध्यक्षहरूकै अनुपस्थिति देखिनु सार्वजनिक सुनुवाइ विषयमा चिन्ताको विषय भएको बताए ।

आफ्ना धारणा सहित प्रश्न गर्दै रत्न कँडेल, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

त्यस्तै मन्थलीका वीरेन्द्र श्रेष्ठले बहुमत वडा अध्यक्षहरू किन सार्वजनिक सुनुवाइ देखिएनन् भन्दै प्रश्न गरे । उनले यो सार्वजनिक सुनुवाइ ‘कर्मकाण्डी’ तरिकाले किन गरेको भने । उनले यसरी गरिएको सार्वजनिक सुनुवाईको कुनै औचित्य नभएको भन्दै नगरले गरेका कतिपय कामहरूमा पनि राजनीति गन्द मिसिएको हो कि ? विकासमा पनि त्यो खालको अनुभूति भएको छ, त्यस्तो नहोस् भने । 

 

यता नेपाल बारे रामेछापका अध्यक्ष पाण्डव प्रसाइले पनि नगरले सार्वजनिक सुनुवाई गर्दा यहाँका संघसंस्थासंग समन्वय नगरेको बताए । रामेछाप टाइम्ससंग कुरा गर्दै अध्यक्ष प्रसाइले ‘नगरले सबैलाई खबर पुर्याउन नसकेको हो कि के हो ? जेठो संस्था बारलाई अहिले सम्म केही थाहा छैन् । यो राम्रो है न भने’ । सार्वजनिक सुनुवाइमा संगसंस्थासंग सहकार्य र खबर हुनु पर्छ । 

 

नगरपालिकाले एक आर्थिक वर्षमा गरेका उपलब्धि एवं कामहरू बारे ४ पृष्ठ लामो प्रगति प्रतिवेदन समेत सार्वजनिक गरिएको सो सार्वजनिक सुनुवाइमा वडा नं १, २, ४, ५, ६, ७, १०, ११, १२ र १३ का वडा अध्यक्षहरू उपस्थित थिएनन् । 

नगरमा २, ३, ८, ९, १३, १४ गरी ६ वटा वडामा नेकपा एमालेका वडा अध्यक्षहरूले जितेका छन् । भने, १, ४, ६, ७, १२ नेपाली काँग्रेसका वडा अध्यक्षहरूले जितेका छन् । वडा नं ५ नेकपा एकीकृत समाजवादी र ११ नेकपा माओवादी केन्द्रका वडा अध्यक्षहरूले जितेका हुन् । १३ नं का वडा अध्यक्ष नवराज थापा मगरले भने आफूलाई स्वास्थ्यमा समस्या भएको कारण सार्वजनिक सुनुवाइमा उपस्थित हुन नसक्ने जानकारी गराएको तर, अन्य अध्यक्षहरू उपस्थित नहुनुको कारण आफूलाई जानकारी नभएको नगरप्रमुख लव श्रेष्ठले सार्वजनिक सुनुवाइमा जवाफ दिँदै बताए ।

 

नेकपा एमालेबाट निर्वाचित भएका नगरप्रमुख श्रेष्ठले ‘यसमा कुनै राजनीति विषय वस्तु केही पनि छैन । किन आउनु भएन त्यो उहाँहरूलाई थाहा होला तर, मलाई केही पनि जानकारी छैन ।उहाँहरूलाई पनि सोध्न सक्नु हुन्छ, नगरको केही आन्तरिक विषय छैन ।’

 

नगर प्रमुख श्रेष्ठले वडा अध्यक्षहरूको अनुपस्थिति हुनु स्वयं अध्यक्षहरूको विषय भएको बताएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रम पत्रकार नवराज पथिकले सञ्चालन गरेका थिए । 

उपस्थित नहुने वडा अध्यक्षहरू यसो भन्छन् ?

वडा नं ५ का अध्यक्ष रविन कार्की (नविन) वडाकै कार्य व्यस्तताको कारण अनुपस्थित भएको रामेछाप टाइम्सलाई बताउँछन् । उनले भने ‘वडाकै कामले आज अन्तिम दिन व्यस्त भएको कारण जना सकिन । त्यो पनि नगरको सार्वजनिक सुनुवाइमा हो । नगरले गर्न हो, अरू किन जानु भएन त्यो थाहा भएन तर, म कार्य व्यस्तताले गइन् ।’ उनले बैठक बहिस्कार नगरिएको दाबी गरे।

 

वडा नं २ का वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीलाई फोन गर्दा फोन उठेन । 

 

वडा नं ४ का वडा अध्यक्ष राजन घिमिरेले भने सार्वजनिक सुनुवाइमा आफूहरू आउनै पर्ने खबर नभएकाले उपस्थित हुन नसकेको बताए । ‘कार्यपालिका लगायत कुनै पनि बैठकले निर्णय गरेको पनि थिएन । आउनै पर्छ भन्ने, कुनै शाखाको जिम्मेवारी पनि थिएन । सार्वजनिक सुनुवाइ छ भन्ने मात्रै सामान्य सूचना पाएका थियौँ । त्यसैले मेरो कामले काठमाडौँ तिर पो आएको छु भने । उनले तपाईँहरूले बहिस्कार गरेको भन्ने कुरा छ भन्ने प्रश्नमा बोल्न चाहेनन् । 

 

बहुमत वडा अध्यक्ष नआएको सार्वजनिक सुनुवाइमा बोल्दै के भने मेयर लब श्रेष्ठले सुन्नुहोस् लाइभ भिडिओ