मन्थली नगरको सार्वजनिक सुनुवाइ बहिस्कार प्रकरण : १ र २ नम्बरका वडा अध्यक्षले भने ‘बहिस्कार गरेको हुँदै हैन’

| असार ३१, २०८० आइतबार

A A A
A A A

३१ असार, रामेछाप । मन्थली नगरपालिकाले गत शुक्रवार गरेको सार्वजनिक सुनुवाइ बहुमत वडा अध्यक्षले अघोषित रूपमा बहिस्कार गरेको समाचार प्रकाशन प्रसारण भएको प्रति वडा नं १ र २ का अध्यक्षहरूले बहिस्कार नगरिएको बताएका छन् । 

 

२ नंका वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले ध्यानाकर्षण भएको जनाएका छन् । उनले आफूले कार्य व्यस्तताले सार्वजनिक सुनुवाइमा उपस्थित नभएको दाबी गर्दै सार्वजनिक सुनुवाइ बहिस्कार नगरिएको स्पष्टीकरण दिएका हुन् । 

 

 

सार्वजनिक सुनुवाइमा उपस्थित नभएका २ नंका वडा अध्यक्ष कार्कीले शनिवार सामाजिक सञ्जालमा लेख्दै आफूले सार्वजनिक सुनुवाइ कार्यक्रम बहिस्कार नगरेको बताएका हुन् । उनले लेखेका छन् । ‘मेरो वडाको कामको व्यस्तताको कारण म कार्यक्रममा उपस्थिति हुन नसकेको हो । मैले मन्थली नगरपालिकाको कुनै पनि कार्यक्रम बहिस्कार गरेको छैन ।’ 

 

नगरले आर्थिक वर्ष २०७९÷८० मा गरेको प्रगति प्रतिवेदन समेत सार्वजनिक गरेको सार्वजनिक सुनुवाइमा २ नम्बरसहित १० वटा वडाका वडा अध्यक्ष अनुपस्थिति बनेका थिए ।

 

तर, आफूहरूले नगरको सार्वजनिक सुनुवाइमा उपस्थित हुनै पर्ने बाध्यता नठानेर अनुपस्थिति भएको वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि) ले पनि रामेछाप टाइम्सलाई बताए । उनले सार्वजनिक सुनुवाइ बहिस्कार नगरिएको दाबी गर्दै नगरको सुनुवाइमा शाखाका कर्मचारी र प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय भए उठेका सबैको जवाफ पाउने दाबी गरे । ‘यसमा हाम्रो आवश्यकता नै छैन। उठेका जवाफ शाखा कर्मचारीले दिने हो । हाम्रो अनिवार्यता थिएन । त्यसैले नगएका हौँ । बहिस्कार हैन ।’ 

 

यो पनि पढ्नुहोस्
मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ बहुमत वडा अध्यक्षहरूले गरे अघोषित बहिस्कार