सुनारपानीको मचबारी मन्दिरमा राखियो ४४ केजी ३४ फिट अग्लो तामाको त्रिशूल, जे माग्यो त्यो पूरा हुने (भिडिओ)

| असार ३१, २०८० आइतबार

A A A
A A A

३१ असार, रामेछाप । मन्थली नगरपालिका वडा नं ५ सुनारपानी स्थित मचबारीमा निर्माणाधीन (स्थानीय भाषामा थानापती महादेव) मन्दिरमा आकर्षक त्रिशूल अभिषेक (राखिएको) छ । ऐतिहासिक, धार्मिक एवं आस्थाको केन्द्र, मन्थलीकै वडा नं ९ पुरानागाउँमा रहेको स्थानापति महादेव मन्दिरपछिको दोस्रो शक्ति पीठ थानापति महादेव मन्दिर मचबारीमा ४४ केजी तामाबाट निर्माण गरिएको ३४ फिट अग्लो त्रिशूल राखिएको हो ।

 

शनिवार एक कार्यक्रमकारबिच मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र सोही वडाका वडा अध्यक्ष रवीन कार्की (नवीन) सहितको उपस्थितिमा पञ्चेबाजाको रमाइलो सहित स्थानीयहरूको चन्द सङ्कलनबाट सङ्कलित रकमबाट तयार पारिएको ४४ केजी तामाको ३४ फिट अग्लो भगवान् शिवको ‘‘अस्त्र’ त्रिशूल अभिषेक गरिएको हो ।  

 

स्थानीय मचबारीमा थानापति नामले परिचित स्थानमा रहेको ऐतिहासिक मन्दिरको पुनः निर्माण गरी चिटिक्क सजाइएको छ । मन्दिरको संरचना तयार भएको हो । 

 

अब तारा–बार, कम्पाउण्ड जाली, पूजारी कक्ष, भजन घर, मन्दिरमा पुग्ने सिँढी लगायतका संरचना अति आवश्यक रहेको वडा अध्यक्ष रवीन कार्कीले नगर प्रमुख श्रेष्ठको ध्यानाकर्षण गराउँदै सुनाए । 

वडा अध्यक्ष कार्कीले अहिले बनेको संरचनाको संरक्षण गर्दै यसलाई आन्तरिक र बाह्य पर्यटकको केन्द्र बनाउनु आफूहरूको दायित्व रहेको छ भने । वडा र नगरको साझेदारीमा मन्दिरको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकको आकर्षक केन्द्रको रूपमा विकास गर्ने आफूहरू लाग्ने उनले प्रतिबद्धता जनाए । 

 

उनले आफूले चुनावी मैदानमा उत्रिँदै गर्दा पहिले यही मन्दिरको दर्शन र पूजा गरेर चुनाव लडेको समेत स्मरण गरे । 

नगरको वडाभित्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्दिरमा आकर्षक त्रिशूल अभिषेक गर्दै नगरपालिका प्रमुख लब श्रेष्ठले मन्दिरको संरचना राम्रो बनेको भन्दै यसलाई आवश्यकतालाई हेरेर नगरले सहयोग गर्ने बचन दिए । उनले यो मन्दिरको ऐतिहासिक तथा पौराणिक महत्त्व रहेको उल्लेख गर्दै यहाँका युवाहरूले मन्दिर पुनः निर्माणमा देखाएको चारो र खेलेको भूमिकाको प्रशंसा गरे । 

 

नगर प्रमुख श्रेष्ठले व्यवस्थित तरिकाले मन्दिर सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार गर्न आवश्यकता हेरेर सहयोग गर्छौँ, तपाईँहरू ढुक्क हुनुहोस् भने ।

 

विशेष गरी हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र बनेको यो मन्दिरमा हरितालिका तीज र एकादशीमा भव्य मेला लाग्दै आएको स्थानीय एवं मन्दिर निर्माण व्यवस्थापन समितिका अध्यक्ष राजाराम बस्नेतले रामेछाप टाइम्सलाई बताए । उनले यो मन्दिर ऐतिहासिक र सच्चा मनले मागेको कुरा पुर्‍याउने मन्दिर भएकाले यसको प्रवर्द्धन गरी वडाको विकासमा टेवा पुर्‍याउनु पर्नेमा जोड् दिए । 

‘यहाँ बोली नआएका बच्चाहरूको बोली आवस् भनेर मागेकाहरूको बोली आएको, चुनाव लड्दा जो यहाँ पूजा र भाकल गरेर जान्छन् तीनले चुनाव जितेको, गाई वस्तु फैलिएको, गाउँ घरमा शान्ति र समृद्धि भएको धेरै प्रमाण छन् । यो शक्तिशाली मन्दिर हो । यसको संरक्षण हुनु पर्छ ।’

२०७२ को विनाशकारी भूकम्प पश्चात् आर्थिक वर्ष २०७७/७८ मा शिलान्यास गरेर पुनः निर्माण गरिएको यो मन्दिरको चिटिक्क बनेको चम्पेश्वर थानापती महादेव श्रेष्ठ समुदायका संयोजक तथा स्थानीय सरोकार सदस्य पूर्णबहादुर श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । ‘अहिले मन्दिर तयार भयो, अझै धेरै संरचना आवश्यक छ, जो वडा र नगरले यसको निर्माणमा भूमिका खेल्नु पर्छ भने ।’

संस्कृति पर्यटन मन्त्रालय अन्तरगतको पुरात्व विभागले समेत ऐतिहासिक मन्दिरको सूचीमा राखेर यो मन्दिरको जिम्मेवारी लिई सकेको छ । जसअनुसार मिलीजुली कन्स्ट्रक्सन राजेश श्रेष्ठले भ्याट सहित १ करोडमा ठेक्कामा लिएर यो मन्दिरको संरचना निर्माण गरेका हुन् । अभिलेखालय पुरातत्त्व विभाग नेपाल सरकारको झन्डै एक करोड २५ लाखको लागतमा छुट्टिएकोमा भ्याट सहित १ करोड लागतमा मन्दिर पुनः निर्माण भएको हो ।