सुनारपानीको शिव ज्योति आविः कक्षा–५ मा ४ जना, ४ मा ५ जना, ३ र २ मा ४–४ जना कूल विद्यार्थी ३३

| असार ३१, २०८० आइतबार

A A A
A A A

३१ असार, रामेछाप । पछिल्लो समय गुणस्तरिय शिक्षाको चर्चा परिचर्चा धेरै हुने गरेको छ । राज्यले पनि तीन तहबाटै शिक्षालाई प्राथमिकता दिँदै आएको छ । लगानी पनि यसैमा अरबौँ भइरहेको छ । आजको आवश्यकता पनि त्यही हो, गुणस्तरिय शिक्षा । 

 

प्रविधिको उच्चतम प्रयोग गरी बालबालिकालाई जीवन उपयोगी शिक्षा प्रदान गर्नु तपाई हामी सबैको दायित्व पनि हो । तर, परिस्थिति यस्तो बन्दै छ, कि एक जना बालबालिकालाई गुणस्तरिय र सहज शिक्षा प्रदान गर्न राज्यको करडौंको खर्च गर्नु पर्ने स्थिति देखा पर्न थालेको छ । 

 

गुणस्तरीय शिक्षा प्रदान गर्ने रामेछापको सन्दर्भमा त, झन् जनसंख्या ऋणात्मक छ, भन्दा पनि सहज हुन्छ । जन्मदर निकै कम हुँदा विद्यालयमा भर्ना हुने बालबालिकाको संख्या न्यून छ । त्यसको असर यती बेला विद्यालय, स्थानीय तह हुँदै पूरै देशलाई महँगो परिरहेको छ । 

 

यस्तै समस्या खेप्दै छ, मन्थली नगरपालिका वडा नं ५ सुनारपानीको मचबारी स्थित श्री शिव ज्योति आधारभूत विद्यालय । कुनै समयमा निमावि तहसम्म पढाइ हुने यो आधारभूत विद्यालयमा अहिले कूल ३३ जना विद्यार्थी छन् । ४ जना शिक्षकबाट पठनपाठन हुँदै आएको यो आ.वि.मा विद्यार्थीकै अभावमा विद्यालय बन्द हुने स्थितिमा पुगेको हो । 

 

२–२ कोठे तीन वटा भवन रहेको यो विद्यालयमा बालकोटाका-१ जना, राहातको-१ जना र दरबन्दीका-२ जना शिक्षक,शिक्षिका छन् । स्रोतका अनुसार अझै पनि यो विद्यालयमा शिक्षकको अपुग छ । यसरी हेर्दा र सुन्दा ३३ जना विद्यार्थी भएको ठाउँमा शिक्षक अभाव हुन स्वाभाविक जस्तो पनि लाग्छ तर, कक्षामा विद्यार्थीको संख्या सुन्दा भने तपाई छक्क पर्नु हुने छ । 

 

कि, कक्षा-५ मा ४ जना, कक्षा-४ मा ५ जना, कक्षा-३ मा ४ जना कूल विद्यार्थी छन् ।

 

त्यस्तै कक्षा-२ मा पनि कूल ४ जना विद्यार्थी छन् । भने, कक्षा-१ मा ७ जना विद्यार्थी छन् । योसंख्या केही बढ्नुमा कोरोना महामारीको र जनचेतनामा वृद्धि हुनु रहेको स्थानीय नीरबहादुर श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । उनी विद्यालय सहयोगी हिरामायाका श्रीमान् हुन् । 

कूल विद्यार्थी सख्या, नाम,ठेगाना, परिवारिक जानकारी र सम्पर्क सहित, तस्बिर मिलन घिमिरे, रामेछाप टाइम्स

उनी भन्छन् ‘पहिले त, यी कोठामा राखेर पढाउने ठाउँ नपुगे बाहिर राखेर पढाइ हुन्थ्यो अहिले विद्यार्थी छैनन् । यहाँ सा–साना नानीहरूलाई निकै उपयुक्त ठाउँमा विद्यालय भए पनि  भर्ना हुने विद्यार्थी नै नहुँदा थप समस्या छ ।’

 

यो वर्ष बाल कक्षामा ९ जना विद्यार्थी छन् । यसरी नै बढ्दै गएर १०० डेढ सय सम्म भएत राम्रो हुन्थ्यो, श्रेष्ठ भन्छन् ।  

 

विद्यार्थी अभावमै निमाविबाट घटुवा भएर आविमा २०७४ सालमा कायम भएको थियो । पछिल्लो समय शैक्षिक क्षेत्रलाई पहिलो प्राथमिकता दिँदै आएको मन्थली नगरपालिकाले कम विद्यार्थी संख्या भएका विद्यालयलाई मर्ज गर्ने अभियान पनि अगाडि बढाएको छ ।