के मन्थली–३ मा स्थानीय युवाले व्यक्तिग लगानीमा सडक खनेका हुन् ? (भिडिओ)

| साउन ४, २०८० बिहिबार

A A A
A A A

४ साउन, रामेछाप । मन्थली नगरपालिका वडा नं ३ कठजोरमा स्थानीय युवाले व्यक्तिगत लागतमा करिब २ किलो मिटर कच्चीको ट्याक ओपन (खनेका) छन् । बिस्नेको ढाँडदेखि राजकुलो सम्म स्थानीय राजु बुढाथोकीले कृषि सडक खनेर स्थानीयहरूलाई सहयोग गरेका हुन् । 

 

गत आर्थिक वर्ष २०७९/०८० मा नगरबाट सो सडक खन्नको लागि छुट्टिएको १० लाख बजेट वडाले सो ठाउँ सडक विस्तारको लागि उपयुक्त नरहेको भन्दै अन्तैबाट सडक विस्तारको लागि खर्च गर्‍यो । तर, त्यहाँका स्थानीयको लागि त्यो ठाउँमा कृषि सडक अति आवश्यक भएको महसुस गरेपछि हिमगंगा यातायात व्यवसायी क्षेत्रमा लामो समयदेखि लागेका बुढाथोकीले व्यक्तिगत करिब ३ लाख ८५ हजारको लागतमा दुई किलो मिटर सडकको ट्याक खोलेको बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

‘त्यो ठाउँमा किसानहरूलाई सहजै हिँड्न सकुन् भन्ने उद्देश्यले मैले त्यो सडक खनेको हु । अहिले कृषि सडक बनेको छ । ५० घर धुरी प्रत्यक्ष लाभान्वित भएका छन् । भने, पाँच सय भन्दा बढीलाई यो सडकले धेरै सहयोग पुगेको छ ।’

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापका संस्थापक एवं पूर्व सभापति समेत रहेका बुढाथोकीले रामेछाप टाइम्ससंग भने ‘मैले मेरो व्यक्तिग सबै गरेर मेरो ४ लाख २० हजार लगानीमा खनेको हुँ । अब स्थानीय सरकारले त्यसको थप विकास र विस्तार गर्छ भन्ने आशा छ । यदि गरेन भने पनि म, आफ्नै लगानीमा मर्मत सिलिङसम्म गरेर दिगो कृषि सडक बनाउने छु ।’ 

बुढाथोकी नगरले खनेको १० लाख लागतको समितिको अध्यक्ष समेत हुन् । उनैको अध्यक्षतामा रहेको समितिले वडामा नगरले छुटाएको १० लाख बजेटको काम सकेर पनि भुक्तानी लिई सकेको छ । 

 

यसैबिच सोही वडाका वडा अध्यक्ष कृष्ण गोपाल थापाले भने स्थानीय युवा राजु बुढाथोकी आफैको निजी लगानीमा उक्त सडक खनेको कुरालाई स्वीकार गर्दैनन् । उनले रामेछाप टाइम्ससंग भने ‘त्यो हुँदै हैन । वडाको लगानीले नै खनेको हो । हामी ले चासो नदिएको हैन । प्राविधिकले त्यो ठाउँमा सडक खन्न अनुपयुक्त भनेपछि फेरिएको हो । त्यो प्राविधिकले भनेपछि हामी जनप्रतिनिधिले भनेर पनि हुने कुरा हैन । राजु बुढाथोकीकै अध्यक्षतामा रहेको समितिले अन्तैबाट सडक खनेको हो’ उक्त समितिले ४ लाखको सडक र २ लाख बराबरको तारा जालीसहित १० लाख वडाले भुक्तानी गरेको छ ।’

 

वडा अध्यक्ष थापाले उक्त सडक वडाकै ‘स्टमेट’ अनुसार खनिएको भन्दै बुढाथोकीले नखनेको जिकिर गरे । 

 

यही १० लाख बाहेक आफ्नो ३ लाख ८५ हजार बराबर आफ्नो व्यक्तिग लगानी भएको बुढाथोकीको भनाई छ । 


आफूहरूले नगरको १० लाख लागत स्टिमेट अनुसार सडक खनेको स्पष्ट पार्दै त्यो भन्दा डेढ सय मिटर जति कृषि सडक खनिएको र त्यो ‘स्टिमेट’ भन्दा बाहिरको रहेको उक्त सडकका सहायक प्राविधिक इन्जिनियर सरोज सुवेदीले रामेछाप टाइम्सलाई बताए । ‘स्टिमेट भन्दा बढी भुक्तानी हुँदैन । कृषि सडक भनेर उत्तपट्टी अन्दाजी १०० डेढ सय मिटर सडक खनिएको छ । त्यो नाप जाँच भएको छैन । नगरले खनेको हैन ।’

 

वडाका इन्जिनियर सुवेदीले उक्त कच्ची सडक ‘ट्याक’ खनिएको बताए । वडा अध्यक्षले कृष्ण गोपाल थापाले भने त्यो सडक कुनै हालमा नखनिएको जिकिर गर्दै बुढाथोकीले गलत प्रचार गरेको दाबी गरे । 

 

सडक खन्न प्रयोग गरिएको जेसिबिका धानी उज्ज्वल भट्टराईले सडक पहिले नगरले खन्नु भनेर खनेको तर अहिले प्राविधिक कारण भन्दै भुक्तानी नदिएपछि बुढाथोकीले आफैले भुक्तानी आफूलाई दिने बताएको जानकारी दिए । भट्टराईले रामेछाप टाइम्सलाई भने ‘सडक खनिएको छ । पहिले वडाले खन्नु भनेर खनेको हो । तरपछि के कारणले भुक्तानी हुँदैन भन्ने भयो । सडक खनिएको छ ।’

 

आफ्नो जेसिबीले खनेको पूर्ण भुक्तानी समेत हुन बाँकी रहेको जानकारी दिँदै भट्टराईले राजुले केही दिनमा भुक्तानी गरिदिन्छु भनेको सुनाए । बाँकी रहेको भुक्तानी १/२ दिनमा म गरिदिन्छु, राजुले भने । 

 

आफूले ट्याक ओपन गरेको सडक व्यक्तिगत लगानीमा खनेको भनेर मैले नगरका मेयरसाप, प्रमुख जिल्ला अधिकारी सबैलाई जानकारी गराएको छु । मैले सडक व्यक्तिग लगानीमा खनेको हुँ बुढाथोकीले दोहोर्‍याए । 

 

भिडिओमा हेर्नुहोस् बुढाथोकीले के-के भने ।

नोटः दिनको २ ः १९ बजे राजुसंगको कुराकानीको आधारमा थपघट गरिएको छ ।