नवजागरण २५ औँ वर्षमा : जगेडा कोषमा जिल्लाकै सबै भन्दा धनी, एक आर्थिक वर्षमै १ करोड २५ लाख नाफा

| साउन १४, २०८० आइतबार

A A A
A A A

१४ साउन, रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना भएकै ठाउँमा गएर २५ औँ स्थापना दिवस अर्थात् ‘रजत वर्ष’ मनाएको छ । २५ वर्ष अघि  जुन ठाउँमा आफ्नो सुरुवात भएको थियो । सोही ठाउँमा साकोषले रजत वर्ष भव्यताको साथ सम्पन्न गरेको सहकारीका व्यवस्थापक रमेश उदासले रामेछाप टाइम्सलाई बताए । ‘२५ वर्ष अगाडि जहाँबाट नवजागरणको सुरु भयो । त्यही ठाउँमा गएर हामीले स्थापना दिवसलाई मनायौँ ।’

 

२०५५ साल साउन १२ गते तत्कालीन मन्थली गाविसको टेकानपूर गाउँमा २५ जना महिलाहरूबाट मासिक रु १०–१० सङ्कलन गरी सुरु भएको सहकारी २५ औँ वर्षमा आइपुग्दा कूल ६६ करोडको कारोबारमा पुगेको व्यवस्थापक उदासले जानकारी दिए । 

 

गत शुक्रवार मन्थली नगरपालिका वडा नं २ टेकानपुर स्थित ताम्राकौशीका आधारभूत विद्यालयको प्राङ्गणमा मन्थली नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको ‘रजत वर्ष’ कार्यक्रम सम्पन्न गरेको बताउँदै यो २५ वर्ष मनाउँदै गर्दा आफूहरू हर्षित र उत्साहित दुवै  रहेको व्यवस्थापक उदासले बताए । 

‘रजत वर्ष’ कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष एवं प्रमुख अतिथि कार्कीले नवजागरणले गाउँको आर्थिक रूपान्तरणमा उल्लेख्य भूमिका खेलेको बताए । साथै आगामी दिनमा सहकारीले आर्थिक कारोबारसँगै उत्पादन मूलक क्षेत्रमा बढी लगानी गर्दै जानु पर्नेमा जोड दिए । उनले अहिले गाउँको बैंकको रूपमा रहेका सहकारीले गरिबी नवरणमा थप सहयोग पुर्‍याएको बताउँदै सहकारीले शेयर सदस्य मैत्री काम गर्नु पर्नेमा जोड दिए । 

 

नवजागरण साकोषका अध्यक्ष श्याम थापाले सहकारी संस्थाले समय अनुसार आफ्ना कार्यक्रम अगाडि बढाएको बताए । युवा सफल व्यवसायी समेत रहेका अध्यक्ष थापाले गाउँका नागरिकलाई आबद्ध गराई आर्थिक रूपमा सम्पन्न र सक्षम बनाउने गरी गाउँ बस्तीमा सहकारी शिक्षा पुर्‍याउने आगामी योजना रहेको सुनाए । 

‘रजत वर्ष’ को अवसरमा दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

नवजागरणले आफ्नो ‘रजत वर्ष’को अवसरमा आयोजित कार्यक्रममा मन्थली नगरपालिका वडा नं २ स्थित ताम्राकौशिका आधारभूत विद्यालय र बाल कन्या आधारभूत विद्यालयमा अध्ययनरत कूल ७७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । व्यवस्थापक उदासका अनुसार साकोषले यी दुई विद्यालयका ७७ जना विद्यार्थी बालबालिकालाई झोला, पेन, पेन्सिल लगायतका स्टेस्नरी सामाग्री प्रदान गरेको हो ।

सम्मान लिँदै 

त्यस्तै सोही अवसरमा सहकारीका संस्थापक अध्यक्ष झम्कबहादुर कार्कीलाई सम्मान पत्रले सम्मान गरिएको व्यवस्थापक उदासले स्मरण गरे ।

 

२५ वर्ष अगाडि २५ जनाबाट सुरु भएको नवजागरणमा हाल ९ हजार २ सय जना सदस्य पुगेका छन् । भने मन्थली, रामेछाप नगरपालिका सहित लिखु तामाकोशी र खाँडादेवी गाउँपालिका गरी ४ स्थानीय तहका ३९ वटा वडामा सेवा प्रदान गर्दै आएको व्यवस्थापक उदासले बताए । ‘४ स्थानीय तहका ३९ वटा वडामा सेवा प्रदान गर्छौँ र धोबीमा सेवा केन्द्र सञ्चालित छ ।’ 

 

कुल पुँजी ६६ करोड माथि पुगेको जानकारी दिँदै २५ औँ वर्षमा पुगेको खुसीयालीमा एटिएम सेवा निःशुल्क (फ्री) गरिएको छ । त्यस्तै सहकारीको सेवा एटिएम, मोबाइल बैंकिङ, कूआर लगायता सदस्य मैत्री सेवा प्रदान गर्न लागि परेको व्यवस्थापक उदासले जानकारी दिए । 

 

एक आर्थिक वर्ष भरीमा नवजागरणले कूल १ करोड २५ लाख नाफा कमाएको छ । ‘१ करोड २५ लाख नाफा आङ्कलन गरिएको छ । अडिट भइरहेकाले यकिन विवरण केही दिनमा हुन्छ ।’

बागमती प्रदेश भरीकै उत्कृष्ट सहकारी भित्र पर्ने नवजागरण २ पटक सम्म प्रवेसन ब्रान्ड प्राप्त सहकारी समेत हो । भने, हाल एक्सेसमा सहभागी भएको छ । नेफ्स्कुनले विभिन्न विधामा सम्मानित गरिसहेको नवजागरण जिल्लामा सबै भन्दा बढी कर तिर्ने सहकारीको रूपमा समेत सम्मानित भई सकेको छ । 

 

४० करोड ऋण लगानी गरी आर्थिक कारोबार गरी रहेको जानकारी दिँदै ५० करोड बचतमा रहेको सहायक व्यवस्थापक रामचन्द्र बुढाथोकीले बताए । 

 

जगेडा कोषमा जिल्लाकै सबै भन्दा धनी

नवजागरण जगेडा कोषमा जिल्लाकै सबै भन्दा धनी सहकारी रहेको सहायक व्यवस्थापक बुढाथोकीले बताए । हाल सम्म ६ करोड ८ लाख ९० हजार ७४ रुपैयाँ ३० पैसा जगेडा कोष रहेको सुनाउँदै यो आर्थिक वर्षमा नाफा कमाएको १ करोड २५ लाखको २५ प्रतिशत थप हुने समेत सुनाए । विगत देखिनै जगेडा कोषलाई प्राथमिकता दिएर अगाडि बढ्दै आएको  बताउँदै बुढाथोकीले भने ‘हामी जगेडा कोषमा जिल्लाकै सबै भन्दा धनी छौँ । यो कोष अति सुरक्षित छ । अरू सबै सम्पत्ति सकिए पनि त्यो रकम सुरक्षित हुनेछ ।’

 

राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकारीले समेत जगेडा कोष निकै राम्रो रहेकाले भ्रमण गरिरहेको जानकारी दिँदै आगामी दिनमा समेत जगेडा कोष थप हुँदै लाने सहकारीको योजना बुढाथोकीले सुनाए ।