पशु स्वास्थ्य प्राविधिक थापा भन्छन्- ‘लम्पी स्किन लागेका गाई भैँसीको दूध खानु हुन्छ, हल्लाको पछि नलाग्नुस्’ (भिडिओ)

| साउन १७, २०८० बुधबार

A A A
A A A

१७ साउन,रामेछाप । लम्पी स्किन रोगबाट सङ्क्रमित गाई भैँसीबाट सङ्कलित दूध खान नहुने भनेर दूध र दूधजन्य पदार्थ खरिद बिक्रीमा समेत गिरावट हुँदै गइरहेको अवस्थामा पशु प्राविधिकले त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । सङ्क्रमित भएका पशुबाट दोएको दूधको प्रयोग गर्न नहुने वा खान नहुने भन्ने हल्ला गलत भएको पशु प्राविधिकको भनाई छ ।

 

पछिल्लो समयमा गाई, गोरु, भैँसी, राँगा र चौरीगाई र याकमा समेत तीव्र गतिमा फैलिएको लम्पी स्किन रोगका कारण दूध उत्पादनमा समेत प्रभाव पर्दै गएको छ । यसले गर्दा दूध उत्पादक किसानहरु मर्कामा पर्दै गएका छन् । साथै यसरी सङ्क्रमित गाई भैँसीको दूध खान नहुने, दूधमा रगत लगायत रोगको सङ्क्रमण हुन्छ भन्ने अन्यौलले कतिपयले दूधको सेवन गर्नै बन्द गरेका छन् । त्यस्तै कतिपयले दूधको चिया, दही, महीसमेत खान छोडेको डेरी र चिया पसल सञ्चालकहरू बताउँछन् । तर, जिल्ला स्थित पशु स्वास्थ्य प्राविधिक एवं सम्पर्क कार्यालय रामेछापका प्रमुख प्रकाश थापाले सङ्क्रमित दूध दिने पशुबाट दोएको दूधको सेवन गर्दा कुनै असर नपर्ने स्पष्ट पारे । 

 

उनले सङ्क्रमित पशुबाट दोएको दूधको प्रयोग गर्न नहुने कुनै विज्ञ आधार र प्रमाण नभएको भन्दै विज्ञहरूले यस्तो दूध सेवन गर्न सकिन बताएको जानकारी दिए । ‘खान हुँदैन भन्ने हुँदै हैन । तर, दूधमा त्यस्ता रगत र पिप देखियो भने त्यो दोएर फाल्नु पर्छ । खानु हुँदैन भन्ने हैन ।’

रामेछाप टाइम्ससंग बुधवार कुराकानी गर्दै पशु प्राविधिक थापाले रामेछापमा पछिल्लो समय सङ्क्रमण केही न्यूनीकरण तर्फ गएको बताए । 

उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा लम्पी स्किन रोगबाट संक्रमित बनेर थलिएको गोरु, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

बुधवार सम्म ८ वटै स्थानीय तहमा गरी कूल २८ हजार ४ सय ८२ पशुमा सङ्क्रमण भएको बताए । जसमा ६७७ वटा पशु यो रोगको सङ्क्रमणका कारण मरेका छन् । भने, १० हजार २ सय १६ पशु हाल सक्रिय सङ्क्रमित रहेको बताए । 

 

स्थानीय तह र पशु स्वास्थ्य कार्यालय सङ्क्रमित पशुलाई खोप तथा उपचार गरेको बताउँदै रोकथाम गर्न गाई भैँसीको गोठ सफा राख्नु पर्ने उनको सुझाव छ । ‘पहिलेको भन्दा केही कम हुँदै गएको छ । तर, रोकिएको छैन सफा सुगर गर्नु नै यसको रोकथामको उपाय हो ।’

 

बुधबारसम्म रामेछापका कुन स्थानीय तहमा कति पशु संक्रमित, कति मरे ? कति सक्रिय ? हेर्नुहोस्