एकीकृत समाजवादी पार्टी निकट प्रेस संगठन रामेछापको अध्यक्षमा कैलाश खत्री

| साउन २०, २०८० शनिबार

A A A
A A A

२० साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस) निकट प्रेस संगठन रामेछापको अध्यक्षमा कैलाश खत्री निर्विरोध चयन भएका छन् । 

 

आज शनिवार बिहान सदरमुकाम मन्थलीमा सम्पन्न संगठनको प्रथम जिल्ला भेलाले संस्थापक केन्द्रीय कमिटी सदस्य समेत रहेका मन्थली १२ गेलु निवासी खत्रीलाई जिल्ला अध्यक्षमा सर्वसहमतिमा चयन गरेको हो । 

 

नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष समेत नवनिर्वाचित अध्यक्ष खत्रीले आफ्नो कमिटीको बैठक बसेर कार्य योजना तयार पार्ने र सोही अनुसार संगठन विस्तार र पत्रकारीमा आफ्नो संगठनको उपस्थितिलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

शुभकामना मन्तब्य राख्दै महासंघ रामेछापका अध्यक्ष नयाँ घरे, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

विगतमा चन्द्र बुढाथोकीको संयोजकत्वमा रहेको तदर्थ समितिलाई जिल्ला कार्यसमितिमा पूर्णता दिँदै ७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको समाजवादी पार्टीका नेता सौजन्य प्रसाद सत्यालले जानकारी दिए । 

 

एस निकट प्रेस संगठनको उपाध्यक्षमा चन्द्र बुढाथोकी, सचिवमा सौरभ श्रेष्ठ, कोषाध्यक्षमा चाहना प्रधान‌ले जिम्मेवारी पाएका छन् । 

 

एसका केन्द्रीय पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज देवशंकर पौडेलको र समाजवादी प्रेस संगठनको केन्द्रीय र प्रदेश कमिटीका प्रतिनिधिसहितको उपस्थितिमा भएको समिति गठनमा सुजिता केसी, भवानी खड्का र सलिशा कार्की सदस्य बनेका छन् । 

 

समिति गठन कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, पूर्व अध्यक्ष हिमाल ढुङगेल, टिका प्रसाद भट्ट, प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी, प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूह रामेछापका अध्यक्ष मिलन बि ब (घिमिरे) र राष्ट्रिय दलित पत्रकार संघ, नेपाल रामेछापका अध्यक्ष लेखबहादुर बि क लगायत विभिन्न पार्टीका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।