घरेलु कार्यालय रामेछाप : गत आर्थिक वर्षमा १ करोड ५० लाख बजेट खर्च गर्दा ८१.७० प्रतिशत कूल प्रगति, ५७ जनाले अनुदानमा के–के लगे (सूची)

| साउन २०, २०८० शनिबार

A A A
A A A

२० साउन, रामेछाप । घरेलु तथा साना उद्योग कार्यालय रामेछापले गत एक आर्थिक वर्षमा ८१ प्रतिशत प्रगति हासिल गरेको छ । बजार अनुगमन, औजार, उपकरण लगायतका सामाग्री हस्तान्तरण एवं प्रदान, सिपमूलक तालिम प्रदान लगायतका विभिन्न कार्यक्रम गरी कार्यालयले एक आर्थिक वर्ष २०७९/०८० मा ८१.७० प्रतिशत वित्तीय प्रगति हासिल गरेको कार्यालयका प्रमुख सुबोध कुमार साह कर्मयोगीले रामेछाप टाइम्सलाई बताए । ‘यो भन्दा बढ्ने अपेक्षा थियो । तर, कृषि तर्फका साथीहरूले समयमा काम गर्नु भएन समग्रमा सन्तोष जनक काम गर्‍यौँ ।’

 

शनिवार रामेछाप टाइम्ससंग कुरा गर्दै कार्यालय प्रमुख कर्मयोगीले गत आर्थिक वर्षमा १७४ वटा नयाँ उद्योग दर्ता, ४२६ वटा नवीकरण, १७ वटा नामसारी ४ वटा ठाउँसारी, ३५ वटा पूँजीवृद्धि गरिएको जानकारी दिए । सो आ.व‍‍.मा विभिन्न कारण निष्क्रिय बन्न पुगेका जिल्लाभरिका ४५ वटा उद्योग खारेजी गरिएको कार्यालय प्रमुख कर्मयोगीले बताए । 

 

त्यस्तै वाणिज्य प्रशासन तर्फ ५१ वटा नयाँ दर्ता हुँदा ३७३ वटा नवीकरण, नामसारी ११ वटा, १० वटाको ठाउँसारी, ६० वटाको पुँजी वृद्धि, ३६ वटा खारेजी भएको कर्मयोगीले बताए । 

 

यसरी एक आर्थिक वर्षमा यी लगायतका विभिन्न नियमित कार्यबाट ६४ लाख ३० हजार ४ सय ३५ रुपैयाँ ५१ पैसा राज्वश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी निरोज खड्काले रामेछाप टाइम्सलाई बताए । 

 

आठ वटै स्थानीय तहमा एक आर्थिक वर्ष भरीमा २९ पटक बजार अनुगमन गरिएको बताउँदै ३७८ वटा पसल र व्यवसायमा गरिएको अनुगमनको क्रममा कैफियत भेटिँदा गरिएको जरिवानामा कूल ४ लाख २७ हजार जरिवाना सङ्कलन भएको सूचना अधिकारी खड्काले जानकारी दिए । 

 

उनका अनुसार गत आर्थिक वर्षमा विभिन्न १३ वटा तालिम प्रदान गरिएको छ । जसबाट १९० जना लाभान्वित भएको जानकारी दिए ।  

 

बागमती प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय अन्तर्गतको यो कार्यालयको लागि सो आर्थिक वर्षमा कूल १ करोड ८३ लाख २७ हजार ५९९ रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमा १ करोड ४९ लाख ७३ हजार ७४ रुपैयाँ कूल खर्च गरिएको कार्यालय प्रमुख कर्मयोगीले रामेछाप टाइम्सलाई बताए । 

 

त्यस्तै चालु आर्थिक वर्षको लागि पनि सोही हाराहारीमा बजेट छुट्टिएको जानकारी दिँदै केही दिनमा बजेट सार्वजनिक गर्ने प्रमुख कर्मयोगीले रामेछाप टाइम्सलाई बताए । 

 

करिब १ करोड ५० लाख बजेट खर्च गरेको घरेलु कार्यालयले २०७९÷०८० मा प्रविधि हस्तान्तरण एवं अनुदान प्रदान कार्यक्रममा ५६ जना उद्यमीलाई ५० प्रतिशत अनुदानमा विभिन्न प्रविधि, औजार तथा उपकरण प्रदान गरेको छ । 

 

अनुदानमा सामाग्री तथा औजार वितरण गर्दा अन्य कार्यालयसँग समन्वय र सहकार्यमा प्रदान गरिएको स्मरण गर्दै कार्यक्रम डुप्लिकेशन रोक्न आफूहरूले सक्दो प्रयास गरेको कार्यालय प्रमुखको भनाई छ । 

 

घरेलु कार्यालयबाट ५० प्रतिशत अनुदानमा कसले के पाए हेर्नुहोस् ।