रामेछापमा मूल्य वृद्धि आकासिदै : ५ वटा पसलमा पान्थरी मूल्य, चामलको भाउ बोरामा ८ सयसम्म बढाए, अझै बढ्ने

| साउन २२, २०८० सोमबार

A A A
A A A

२२ साउन, रामेछाप । भारतले विभिन्न आन्तरिक कारण देखाउँदै चामल विदेश निर्यातमा रोक लगाएपछि यति बेला नेपालमा चामलको भाउ आकासिन पुगेको छ । त्यो चामलको अभावको बहाना होस् या व्यापारीको मनोमानी । स्थानीय बजारमा ग्राहकले चामल किनेर खान नसक्ने गरी मूल्य आकासिएको हो । सोही भाउको असर रामेछापेलीको भान्सामा पनि परेको छ । 

 

सोमबार सम्म आइपुग्दा यहाँका खुद्रा व्यापारी पनि दैनिक उपभोग्य चामल, चिउरा, चिनी, दालको भाउ छोइ नसक्ने गरी वृद्धि भएको स्वीकार गर्छन् । त्यस्तै तरकारीमा गोल भेडाको मूल्य सोमबार मन्थली स्थित स्थानीय बजार (हाट) मै प्रति केजी १४० रुपैयाँमा खरिद बिक्री भएको छ । भने बजारमा केजीको १५० देखि १६० रुपैयाँसम्म किन बेच भइरहेको छ । 

 

आर्थिक मन्दीको मार्मा परेका देशवासीमा चालु आर्थिक वर्षको सुरुवातमै मूल्य वृद्धिको चपेटामा पर्न बाध्य भएका हुन् । 

 

जिल्ला सदरमुकाम मन्थलीमा खाद्यान्न व्यापार गर्दै आएका रामहरि उप्रेती चामलको भाउ किनेर ल्याएर बेच्नै नसकिने गरी बढेको बताउँछन् । रामेछाप टाइम्ससंग उनले भने ‘चामलको भाउ त, मिलमै बढेको छ भन्छन् यहाँ ल्याएर बेच्दा त धेरै बढेको छ । यस्तै हो भने चामल ल्याएर बेच्नै नसक्ने स्थिति छ ।’ उप्रेती स्टोरका सञ्चालक रामहरिले थपे ‘६ महिना पहिले १५ सयमा बेचेको चामल १९ सय ५० सम्म पुगेको छ ।’

 

अहिले बोरामा समग्रमा ५ सय सम्म मूल्य बढेको उनको भनाई छ । 

यहाँको बजारमा अहिले स्ट्रिम चामल २२ सय ५०, सोना मन्सुली ३० केजीको १९ सय देखि १९ सय ५० सम्म र जिरा मन्सुली २५ केजीको २२ सयदेखि २२ सय ५० सम्म खरिद बिक्री हुँदै आएको आर डी खाद्य स्टोर्सकी देवीका कर्माचार्य बताउँछिन् । 

 

सोही चामल ६ महिना अगाडि स्ट्रिम चामल बढीमा १५ सय ५० सम्म, सोना मन्सुली ३० केजीको १३ सय सम्म र जिरा मन्सुली २५ केजीको १९ सय सम्म बिक्री हुँदै आएको थियो । यसरी हेर्दा पनि सोना मन्सुली चामल बोरामा ८ सयसम्म भाउ बढेको पाइएको छ । 

त्यस्तै व्यापारी रामहरिले अहिले चिनी प्रति केजी १०५ सम्म पुगेको बताउँदै पहिले ९० देखि ९५ सम्म बिक्री हुँदै आएको बताए  । 

 

त्यस्तै चिउराको मूल्य पनि आकासिएको छ । गत ६ महिना अगाडि प्रति बोरा बढीमा ४२ सय सम्म खरिद बिक्री हुँदै आएको चिउरा यति बेला प्रति बोर ५ हजार नाघेको छ । यसले किलोमा ४५ देखि ५० रुपैयाँ सम्म महँगिन पुग्ने व्यवसायी कर्माचार्य बताउँछिन् । 

 

केही समय अगाडि ३५० रुपैयाँ सम्म पुगेको खाने तेल भने यो बेला घटेर १९० रुपैयाँ देखि लिटरको २ सय सम्म खरिद बिक्री हुँदै आएको छ  । 

 

मासको दाल राम्रो प्रति केजी १९० र १६० सम्म, दाल १३० सम्म बिक्री भई रहेको व्यापारी देवीका कर्माचार्य बताउँछिन् । 

मूल्य सूची

त्यस्तै खाना पकाउने ग्यास सिलिन्डर भरेको मात्रै प्रतिशिलिण्डर १८ सयमा बिक्री हुँदै आएको बताइएको छ । आयल निगमले पछिल्लो पटक खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँले घटाएको थियो । तर, यहाँका व्यपारीहरु अझै पनि घटेको मूल्यमा सामान नआएकाले पहिलेकै मूल्य लिँदै आएको पाइएको छ । तर, भाउ घटेको व्यापारीहरू जानकार छन् । 

 

सरकारले चामलको भाउ तत्काल बढाउनु पर्ने कुनै कारण नभएको दाबी सहित मूल्य बढाए कारबाही हुने सम्मको चेतावनी दिँदै आइरहेको छ । तर, बजारमा भने मूल्य २/४ गुणा वृद्धि भई सकेको पाइएको छ । 

यसरी दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिदाँ उपभोक्ता नराम्ररी ठगिन पुगेका छन् । 

 

यसैबिच होलसेल खद्यय व्यापारी एवं रामेछाप उद्योग वाणिज्य संघ रामेछापका सचिव यज्ञ सुवेदी पनि बजार भाउ आकासिएको स्वीकार गर्छन् । उनले रामेछाप टाइम्सलाई भने ‘अहिले मिलमै चामल महँगो पर्ने थालेको छ । त्यसले बजारमा त ५ पसलमा, ५ थरी मूल्य पाइन्छ । मूल्यमा एक रुपतता छैन । महँगी निकै बढेको छ ।’ 

 

मूल्य बढाउने व्यापारीको हातमा मात्रै नभएको दाबी गर्दै मिलमै चामल नपाउँदा भाउ बढेको बताए । उनले भने ‘मैले चामल लिनको लागि ४/५ दिन अगाडि पठाएको २ वटा गाडी रित्तै आएका छन् । चामल पाउन पनि गाह्रो छ । यसले गर्दा भाउ महँगो हुने स्वाभाविक हो । मिलहरूले नै किलोको ८०/९० रुपैयाँ सम्म लिन थाली सकेका छन् ।’

 

साथै रामेछाप उद्योग वाणिज्य संघले बजारमा व्यपारीहरु जरिवानामा नपरुन् भनेर आफूहरूले सचेत गराउँदै अनुगमन समेत गरेको बताए । उनले बजारमा व्यवसायीहरूलाई सचेत गराएको बताउँदै व्यवसायीहरूले चलन चल्तीको मूल्यमा बिक्री गर्दै आएको दाबी गरे । 

 

चाड पर्व नजिकिँदै मूल्य वृद्धि हुनु र चामल मिलमै अभाव छ भन्नुले यो भाउ अझै बढ्न सक्ने व्यपारीहरुको भनाई छ । 

 

यता जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक  दीपक कोइरालाले पनि आफूहरू बजारमा मूल्य वृद्धि भएकोमा जानकार रहेको रामेछाप टाइम्सलाई बताए । 

 

संयोजक कोइरालाले ‘मूल्य वृद्धि बारे सचेत छौँ, सिडिओसापसंग आज पनि कुरा भएको छ । अब सरोकारवालासँग बसेर छलफल गर्छौँ अनि त्यसपछि के गर्ने भनेर निर्णय गर्छौँ’ भने ।

 

उनले अहिले मूल्य बढाउन नपाइने सरकारले बनेकाले तत्काल मूल्य वृद्धि गर्न नपाइने स्पष्ट पारे ।