मन्थली नगरपालिकाले बजार अनुगमनमा जफत गरेको ३ लाख बराबरको सामाग्री खाल्डो खनेर ‘डिस्पोज’ गर्‍यो (भिडिओ)

| साउन २५, २०८० बिहिबार

A A A
A A A

२५ साउन, रामेछाप । मन्थली नगरपालिका नगरभित्रका मुख्य बजारमा गरेको अनुगमनको क्रममा म्याद गुज्रिएका सामाग्री जफत गरेर नष्ट गरेको छ । 

 

हिजो बुधवार र बिहीबार आज नगरको वडा नं १३ फुलासीको मिल्ती र देवीटार, वडा नं ४ सालुको सालुबजार र वडा नं ५ सुनारपानीको मुख्य बजारमा गरेको स्थलगत अनुगमनको क्रममा फेला परेका सामाग्री आजै मन्थली स्थित तामाकोशी नदी किनारमा खाल्डो खनेर गाडेको (डिस्पोज्) गरेको हो । 

 

उपप्रमुख एवं बजार अनुगमन समितिकी संयोजक ईश्वरी बस्नेतको नेतृत्वमा रामेछाप उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार सहितको संयुक्त टोलीले ३ वटा वडाका पहिलो दिन ४१ वटा र दोस्रो दिन २६ वटा गरी ६७ वटा विभिन्न होटेल, पसल, भेटेरिनरी, मेडिकलमा आकस्मिक अनुगमन गरेको उपप्रमुख बस्नेतले बताइन् । सो क्रममा म्याद गुज्रिएका करिब ३ लाख बराबरको औषधि, खाद्यान्न ‘आइटम’, मादक पदार्थ, पिए पदार्थ, जङफूड्, होटेलका सामाग्री जफत गरिएको थियो । 

यसरी जफत गरिएको सामाग्री तामाकोशी नदी किनारमा नगरको जेसिबीले खाल्डो खनेर नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय रामेछापकी प्रशासकीय अधिकृत अस्मिता बानियाँ, नगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँ, जिल्ला प्रहरीका प्रतिनिधि, नेपाल पत्रकार महासंघका  जिल्ला अध्यक्ष बद्री नयाँघरे सहित २ दिने बजार अनुगमनको टोलीले जफत गरिएको सामाग्री कुहिने र नकुहिने छुटाएर डिस्पोज गरेको हो । 

 

२ दिने बजार अनुगमनले नगरका उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकता राखेर अनुगमन गर्दा भेटिएका गुणस्तरहीन सामाग्री जफत गरिएको बताउँदै आगामी दिनमा सबै व्यापार व्यवसायी सचेत हुने पर्नेमा उपप्रमुख एवं अनुगमन समितिकी संयोजक बस्नेतले सचेत गराइन् । 

उनले उपभोक्ताहरू पनि ‘डेट्’ हेरेर मात्रै खरिद गर्न सक्नु पर्नेमा जोड् दिँदै व्यापारीहरूले म्याद गुज्रिएका सामाग्री नबेच्न सचेत गराइन् ।

 

भिडिओमा हेर्नुहोस्