फोनिजले मनायो २४ औँ स्थापना दिवस : दुई पत्रकार नगद सहित सम्मानित

| साउन २७, २०८० शनिबार

A A A
A A A

२७ साउन, रामेछाप । आदिवासी जनजाति पत्रकार (फोनिज) रामेछापले आफ्नो २४ औँ स्थापना दिवस भव्यताको साथ मनाएको छ । सो अवसरमा फोनिजले विगतको जस्तै यो पटक पनि २ पत्रकारलाई सम्मानित गरेको छ । 

 

शनिवार मन्थलीमा फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम गरी मनाइएको हो । सोही अवसरमा जिल्लामा पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका दुई पत्रकारलाई नगद सहित सम्मानित गरिएको कार्यक्रमका सञ्चालक एवं फोनिज रामेछापका उपाध्यक्ष निरोज श्रेष्ठले बताए । 

 

फोनिजले आफ्ना पूर्व अध्यक्ष समेत रहेका पत्रकार सुमित श्रेष्ठलाई ‘खोज पत्रकारिता’ पुरस्कार र रिता मगर (घिमिरे) लाई उत्कृष्ट आदिवासी जनजाति खोज पत्रकारिता पुरस्कारले सम्मान गरेको हो । 

 

उत्कृष्ट खोज पत्रकारिता पुरस्कार प्राप्त गरेका श्रेष्ठलाई नगद ५ हजार सम्मान पत्र र दोसल्ला ओडाएर प्रमुख अतिथि श्रेष्ठले सम्मानीत गरेका हुन् । त्यस्तै उत्कृष्ट आदिवासी जनजाति खोज पत्रकारिता पुरस्कार प्राप्त गरेकी मगर (घिमिरे) लाई पनि मेयर श्रेष्ठले नगद १० हजार सहित सम्मान पत्र र दौसल्ला ओडाएर सम्मान प्रदान गरेका हुन् ।

 

सम्मान पत्र ग्रहण गर्दै पत्रकार श्रेष्ठले आफूले ‘खोज पत्रकारिता पुरस्कार’ ले सम्मानित हुँदै गर्दा त्यो दायित्व कतिको पुरा गरे भन्ने प्रश्न तेर्सिएको धारणा राखे । उनले भने ‘म आफैलाई यो विधाको पुरस्कार लिनु कत्तिको राम्रो हो भन्ने प्रश्न छ । मलाई यो चुनौती थपिएको छ । आगामी दिनमा हाम्रो सबैको कलम त्यसतर्फ अगाडि बढ्नु पर्छ भन्ने महसुस गरेको छु, पत्रकार श्रेष्ठले थपे हामी पकिपेस्टमा मात्रै लागि परेका छौँ त्यो पत्रकारिताले अर्थ राख्दैन ।’ 

 

त्यस्तै पत्रकार महासंघ रामेछापकी उपाध्यक्ष समेत रहेकी सम्मानित मगर (घिमिरे) ले आफूले तथ्यमा आधारित भएर समाचार लेख्न गरेको सुनाउँदै खोप पत्रकारिता निकै चुनौती पूर्ण रहेको बताइन् । सम्मानित दुवैले यो सम्मानले आफूहरुको काम प्रति थप प्रेरणा मिलेको बताए । 

 

त्यस्तै प्रमुख अतिथि एवं मन्थली नगरपालिका प्रमुख श्रेष्ठले फोनिज स्थापनाको शुभकामना दिँदै मन्थली नगरपालिकाले पत्रकारहरूलाई अगाडि बढाउने कुरामा संधै सहयोग गर्ने बचन दिए । उनले नगरले गरेका गतिविधिलाई पत्रकारहरुले सही भए सही र गलत भए औँल्याइ दिन आग्रह गरे । उनले नगरपालिकाले शिक्षा सुधारलाई प्राथमिकता दिएको जानकारी गराउँदै यहाँका समुचित विकास गर्न लागि परेको धारणा राखे । 

 

पत्रकारहरूले पनि आफूले गरेका गल्तीलाई सुधार्दै जनहितमा र लुकेर रहेका धर्म, संस्कृति, चालचलन, भेषभुषा, खानपान, रहन–सहनलाई बाहिर ल्याउने काम गर्नु पर्नेमा जोड् दिए । 

 

खोज पत्रकारीताको आवश्यक्तामा जोड्

त्यस्तै पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष हिमाल ढुङ्गेल र टिका प्रसाद भट्टले विगतदेखि जिल्लाका पत्रकारले जातजाति भाषा, धर्म लगायत सबै क्षेत्रमा कलम चलाउँदै आएको स्मरण गर्दै यी क्षेत्रमा अझै पनि थप कलम चलाउन जरुरी रहेकोमा जोड् दिए । उनीहरूले पत्रकारहरू सङ्ख्यात्मक हिसाबले धेरै भए पनि हामीले दिने विषय वस्तु जनरुचिको नभएको तर्फ ध्यानाकर्षण गरे । उनीहरूले यी विषयलाई बुझेर हाम्रो कलम त्यसतर्फ मोड्न जरुरी रहेको बताए । 

 

पूर्व सभापतिद्वयले जिल्लामा बाहिर ल्याउन आवश्यक धेरै समाचार रहेको भन्दै खोज पत्रकारिता अति नै आवश्यक रहेको बताए । उनीहरूले पत्रकारिता पछिल्लो समय पत्रकारहरू माथि नै खनिने, आलोचना गर्ने, खुट्टा तान्ने तिर रुमल्लिँदै गएको तर्फ सचेत हुने पर्छ र, हामीले खोज पत्रकारिताको माध्यमबाट हाम्रो समाजमा लुकेर रहेका नेवार, माझी, तामाङ्, शेर्पा, मगर, थामी, हायु लगायत जाति भित्रकै विविध विषय बाहिर ल्याउनु पर्छ भने । 

 

जिल्लाका विभिन्न मिडियाहरूमा आबद्ध पत्रकार तथा संचारकर्मीहरको उपस्थिति रहेको स्थापना दिवस कार्यक्रममा फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, पत्रकार महासंघ बागमती प्रदेशकी सदस्य ज्ञानु श्रेष्ठ, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, नेपाल प्रेस युनियनका अध्यक्ष अप्रिल अधिकारी, प्रेस चौतारी नेपालका अध्यक्ष नवराज श्रेष्ठ, समाजवादी प्रेसका अध्यक्ष कैलाश खत्री, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष मिलन बि.क र राष्ट्रिय दलित पत्रकार संघ, नेपालका अध्यक्ष लेखबहादुर बि.कले शुभकामना सहित पत्रकारिता क्षेत्रको तत्कालीन समस्या, चुनौती र खोज पत्रकारिता आजको आवश्यकता माथि जोड दिँदै आफ्नो धारणा राखेका थिए ।