जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको राहत सामाग्री कुहियोः मुसाले खायो, कामै नलाग्ने गरी बिग्रियो (फोटो/भिडिओ)

| साउन ३२, २०८० बिहिबार

A A A
A A A

३१ साउन, रामेछाप । प्रमुख जिल्ला अधिकारी (सिडिओ) को संयोजकत्वमा रहने जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले जोहो गरेको ‘विपद्जन्य राहत सामाग्री’ कामै नलाग्ने गरी बिग्रिएको छ । स्टोर गरेर राखिएको राहत सामाग्री कतिपय मुसाले काटेको छ, भने कतिपय कहिएको हो । 

 

‘सिडिओ’को संयोजकत्वमा जिल्लाका स्थानीय तहका प्रमुख, सबै राजनीतिक दल, गैर सरकारी संस्था महासंघ (एनजिओ फ्रेडेसन), नेपाल पत्रकार महासंघ, नेपाल रेड्क्रश सोसाइटी, सबै सुरक्षा निकाय लगायत सामाजिक संस्था सदस्य रहने विपद् व्यवस्थापन समितिलाई २०७२ सालको विनाशकारी भूकम्पको बेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट सहयोग स्वरूप प्राप्त भएको राहत सामाग्री कुहिएको हो । 

 

त्यति बेला बाँड्ने जति सबैलाई बाँडेर उब्रिएको र त्यस्तो विपत्ति जुन सुकै बेला पनि आउन सक्ने भनी तयारी अवस्थामा राखिएको राहत बेला बखत घटेका विपद्जन्य घटनाका पीडितहरूलाई  दिइँदै आइए पनि गोदाममा रहेको सामाग्री भने काम नलाग्ने गरी नष्ट भएको जिल्ला रेड्क्रश सोसाइटी रामेछापका मन्त्री दुर्गाबहादुर श्रेष्ठले जानकारी गराएका हुन् । 

समितिको बुधबार बसेको बैठक तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स

बुधवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा मन्त्री श्रेष्ठले स्टोर गरिएको सामान काम नलाग्ने गरी नष्ट भएकाले उक्त सामाग्री खाल्डो खनेर कतै व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै समितिको ध्यानाकर्षण गरेका हुन् । 

 

 

उनले समितिलाई जानकारी गराए अनुसार स्टोरमा अब त्रिपाल, स्लिपिङ ब्याक, टेण्ट, कालो प्लास्टिक, कार्पेट, जिनका कपडा, प्रोटेबल ग्यास चुलो, प्लास्टिक टेबल, माण्डी, झुल, डोरी रहेको लगायतका सामाग्री छन् । जसमा प्लास्टिका त्रिपाल, डोरी, टेण्ड, लत्ताकपडा जस्ता प्लास्टिका र कपडाका सामान मुसाले काटेको, ओस लागेर धुजा–धुझा बन्ने अवस्थामा पुगेको हो । 

 

अझ स्टोरमा रहेको कूल १ हजार ७ सय ८८ थान त्रिपाल माध्य ११० बाहेक सबै प्रयोग गर्न नसक्ने गरी कुहिएको उनले जानकारी गराए । 

स्टोरभित्र रहेको सामाग्रीहरुको विवरण, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

समितिको यो सामान कुहिएको घटना बारे समितिको बैठकमा  चासो दिएको यो पहिलो पटक भने नभएको बैठकमा चर्चा गरियो । ‘विगतमै यो सामान कुहिएकाले नष्ट गर्न निर्णय नै गरेको थियो । तर, विविध कारणले सामान नष्ट गरिएको छैन’ समितिका सदस्य एवं रेड्क्रशका मन्त्री श्रेष्ठले भने ।

 

 

पछिल्लो पटक बर्खा याम लागेपछि विभिन्न ठाउँमा घटेका विपद्जन्य घटनाका पीडितहरूले समितिको स्टोरमा थन्किएको सामान दिनु पर्ने माग गर्न थालेपछि भने रेड्क्रशको टाउको दुखाईको विषय भन्न पुगेको मन्त्री श्रेष्ठले स्वीकार गर्दै समिति माझ धारणा राखे । ‘काम नलाग्ने सामान स्टोरमा थन्किएको छ । न दिन मिल्दैन । यसरी दबाब खेप्नु भन्दा निर्णय गरेर गाडिदिऊ, मन्त्री श्रेष्ठले थपे ‘यो झन्झटबाट मुक्त हुन रेड्क्रशले सामाग्री नष्ट गर्न पहिले पनि भनेको हो । यसको तत्काल व्यवस्थापन गरौँ । कतै खाल्डो खनेर गाड्ने हो कि । के हो । काम नलाग्ने गरी नष्ट भएका सामाग्री राखेर दबाब नखेपौँ ।’

गोदाममा थुपारिएको राहत सामाग्री तस्बिर सहदेव मुग्राती/ रामेछाप टाइम्स

कतिपय सदस्यहरूले भने अलि–अलि बिग्रिएका सामान गाउँघर तिर यूज् हुने भएकाले गाड्न नहुने धारणा राखे । ‘यो सामाग्री गाड्नु भन्दा अति प्रभावितहरूलाई दिँदा राम्रो हुन्छ । गाड्नू उत्तम हैन ।’ तर, बहुमत सदस्यहरूले बिग्रिएको सामाग्री बाँड्दा नकारात्मक आलोचना खेप्नु पर्ने झमेला आउन सक्ने भएकाले नष्ट गर्न उपयुक्त हुने बताएका थिए । 

 

प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले पनि काम नलाग्ने सामाग्री नष्ट गर्नु पर्ने नै उपयुक्त हुने धारणा राखिन् । उनले विगतमै यो सामान नष्ट गर्ने निर्णय गरेका ले पनि अहिले बाँड्दा निर्णय विपरीत हुनेमा जोड् दिइन् । सिडिओ निरौलाले भनिन् ‘स्थानीय तहहरूले माग गरेको खण्डमा पत्रसहित आएमा समितिले दिन्छ ।’

 

सामाग्री सही तरिकाले नराख्दा समस्या भएको भन्दै यसको व्यवस्थापन जरुरी रहेको बताइन् । 

सामाग्री स्टोर गरिएको मन्थली स्थित जिल्ला समन्वय समिति पिछाडीको घर, तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स

 

त्यस्तै रेड्क्रशका पूर्व मन्त्री जयप्रकाश श्रेष्ठले भने तत्कालीन समयदेखि नै यो राहत सामाग्रीको सही व्यवस्थापन गर्न ध्यानाकर्षण गरेको सुनाउँदै कार्यान्वयनमा ढिलाइ हुँदा समस्या थपिएको बताए । 

 

गोदाममा थुपारिएको राहत सामाग्री तस्बिर सहदेव मुग्राती/ रामेछाप टाइम्स

उनले भने ‘मैले त्यति बेला पनि समितिको ध्यानाकर्षण गराएको हो । अलि–अलि त्यो बेला खाली पनि गर्‍यौँ, तर, विपद् आइ हाल्छ कि भनेर राख्यौँ अहिले कुहियो ।’उनले भविष्यमा आउन सक्ने विपद्को लागि पूर्व तयारी भनेर राख्दा नष्ट हुनु पुगेको सुनाए । उनले पनि यो सामानको व्यवस्थापन गर्नु पर्नेमा जोड् दिए । 

सामाग्री स्टोर गरिएको मन्थली स्थित जिल्ला समन्वय समिति पिछाडीको घर, तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स