रामेछाप नगरपालिकाको प्रशासकीय भवन सहित ‘हाट एरिया’ पहिरोको उच्च जोखिममा

| भदौ १, २०८० शुक्रबार

A A A
A A A

१ भदौ, रामेछाप । भिरालो जमिनमा खनिएको सडक र वर्षाको पानीले जमिन चिरा–चिरा परेर बग्न थालेपछि रामेछाप नगरपालिकाको प्रशासकीय भवन सहित आसपासका घर पसल पहिरोको उच्च जोखिममा परेको छ । प्रशासकीय भवनसहित बस्ती पहिरोको उच्च जोखिममा परेपछि नगरपालिकाले पत्र काटेरै सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ । 

 

नगरपालिकाकी उप–प्रमुख बाला कुमारी कार्की (थापा) ले जिल्ला प्रशासन कार्यालय रामेछाप (जिप्रका) लाई गत साउन ३० गते एक पत्र लेख्दै यस बारेमा जानकारी गराएकी हुन् । उनले जिप्रकालाई लेखेको पत्रमा ‘साउन २७ गते देखिको अविरल वर्षाको कारण नगरपालिकाको वडा नं ८ भेटिनरी–वादी–विर्ता सडकको माथिल्लो भागमा रहेको रामेछाप नगरपालिकाको कार्यालय भवनलाई समेत जोखिम हुने अवस्था आएकोले उक्त जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्था गरिदिनु’ भनिएको छ ।  

 

नगरपालिकाको प्रशासकीय भवन तलबाट खनिएको भेटिनरी–वादी–बिर्ता सडककै कारण बढी असर परेको हुँदा अविरल वर्षापछि पहिरो जाने, चिरा–चिरा पर्ने, चर्किने र सुख्खा माटो निरन्तर बग्न थालेपछि माथिको प्रशासकीय भवन सहित बस्तीमा जोखिम बढेको हो । 

नगरपालिकाको गेट अगाडिको रामेछाप बजार, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

उपप्रमुख कार्कीले केही स्थान दब्ने र ठुलो क्षेत्र भएर पहिरो समेत बग्न थालेकाले समस्या बढेको रामेछाप टाइम्सलाई बताइन् ।उनले रामेछाप टाइम्ससंग भनिन् ‘माटो बग्ने, चर्किने र फाट्टफुट्ट पहिरो समेत गइरहने भएकाले प्रशासकीय भवन सहित हाट, घरहरू जोखिममा परेको हो, तत्कालको लागि ग्याबिन जाली हालेर केही काम हामीले गरेका छौँ’ उपप्रमुख कार्कीले थपिन् ‘त्यतिले मात्रै नहुने भएकाले माथिल्लो निकायको ध्यानाकर्षण गरेका छौँ ।’

 

नगरको प्रशासकीय भवन परिसर सँगै जोडिएको ठाउँ/‘हाट एरिया’ मा बिहीबारे हाट लाग्दै आएको छ । 

उपप्रमुख कार्कीका अनुसार भिरालो जमिन त्यो पनि फूको माटो रहेको त्यहाँ पहिरोको उच्च जोखिममा प्रशासकीय भवन, बिहीबारे हाट र वरपर रहेका केही घरहरू परेका हुन् । ‘हामीले वरपर ग्याबिन जाली हाल्न सक्यौँ भने रोकिन्छ । तर बगिरहेकाले समस्या भयो ।’

 

नगरको सो पत्रबारे जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले समेत चर्चा गर्दै प्रदेश सरकार र विपद् व्यवस्थापन प्राधिकरणमा पनि जानकारी गराउने प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिता निरौलाले बताइन् । सिडिओ निरौलाले जिल्लाका विभिन्न ठाउँमा अविरल वर्षाको कारण बस्ती, स्कुल, खेतबारी जोखिममा परेको बताउँदै दीर्घकालीन समस्या न्यूनीकरण गर्नको लागि सोच्नु पर्ने बेला आएको बताइन् । 

 

त्यस्तै रामेछाप नगरपालिकाले ३ वटा विद्यालहरुमा समेत पहिरोको जोखिममा परेको जानकारी गराउँदै विद्यालयलाई पहिरोबाट जोगाउन समेत जिप्रकाको ध्यानाकर्षण गराइएको छ । 

 

रामेछाप नगरपालिकाले जिप्रकालाई लेखेको पत्र हेर्नुहोस्