पहिरोको कारण रामेछाप नगरको हिमगंगा र गोठगाउँका ३ विद्यालय उच्च जोखिममा

| भदौ १, २०८० शुक्रबार

A A A
A A A

१ भदौ, रामेछाप । रामेछाप नगरपालिकाले नगर ३ वटा विद्यालय पहिरोको कारण जोखिममा परेको भन्दै संरक्षणको पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ । 

 

नगरपालिकाले नगरभित्रको वडा नं ४ हिमगंगाका दुई वटा र वडा नं १ गोठगाउँको एउटा विद्यालय पहिरोको उच्च जोखिममा परेपछि पत्र लेख्दै विद्यालय भवनको व्यवस्थापन एवं सुरक्षाको लागि आवश्यक व्यवस्थापन गरी दिन जिल्ला प्रशासन रामेछापलाई उपप्रमुख बाला कुमारी कार्की (थापा) ले आग्रह गरेकी हुन् । 

 

नगरको प्रशासकीय भवन सहित ‘हाट एरिया’ पहिरोको उच्च जोखिममा परेपछि उपप्रमुख कार्कीले जिप्रकालाई लेखेको पत्रसँगै विद्यालयहरू पनि जोखिममा परेकोले ‘पर्खाल लगायतका संरचना निर्माण तथा मर्मतका लागि आवश्यक बजेटको व्यवस्था गरी दिन’ भनिएको छ । 

 

यसरी जोखिममा पर्नेमा हिमगंगाको जनता आधारभूत विद्यालय तिलबारी, जन सक्रिय आधारभूत विद्यालय आपडाँडा र वडा गोठगाउँको सिद्धेश्वर आधारभूत विद्यालय गोठपानी रहेका छन् । 

 

नगरभित्र निरन्तरको वर्षाले आपत्कालीन कुनै क्षति नपुर्‍याएको भए पनि विभिन्न वडामा जोखिम बढाएकाले भविष्यमा हुन सक्ने ठुला क्षतिलाई रोकथाम गर्न कदम चाल्नु पर्ने अवस्था सिर्जना गरेको उपप्रमुख कार्कीको भनाई छ । 

 

‘अहिले ठुलो क्षति भइसकेको छैन। तर, यसलाई रोकथाम गर्न सकिएन भने पछि ठुलो क्षति हुन सक्ने अवस्था बनेको छ । त्यसैले बेलैमा पहल थालेका छौँ’ रामेछाप टाइम्ससंग उपप्रमुख कार्कीले भनिन् । 

 

पत्रमा हेर्नुहोस्