मधेशमा सुन्दरताको ‘व्यापारीकरण’

| भदौ २, २०८० शनिबार

A A A
A A A

आजभोलि मदेशलगायत देशभरि नै सबै समुदायमा दाइजो (Dowry) प्रथाको कारणले विवाहहरू असफल भई रहेका छन् । यो तथ्याङ्क विगतभन्दा हाल डरलाग्दो रूपमा बढिरहेको छ । विवाह असफल हुनुमा दाइजो लगायत, समाज मनोविज्ञान कति दोषी छ र मोबाइल, टिभीलगायतका टेक्नोलोजीले कति असर पारेको छ भनी बुझाउनु यस लेखको मुख्य उद्देश्य हो । विगतमा दाइजो कसरी थियो र आज कसरी भारतबाट नेपालको मधेश हुँदै देशभरि नै छ, यी कुराहरू पनि छाेटाेरूपमा चर्चा गर्दै दाइजो सुन्दरतासँग कसरी गाँसिएको हो, त्यो देखाउनु छ ।

 

सुन्दरताको व्यापारीकरण

सुन्दरताको व्यापारीकरण (Commodifying the beauty or, commodification of beauty) बारे बुझ्न हामीले कार्ल मार्क्सको सिद्धान्तको सहारा लिनुपर्छ । किनकि काेमाेडिफिकेशन शब्द नै मार्क्सवादी चिन्तनमा पर्ने शब्द हो । यो शब्द पुँजी (Capital) सँग सम्बन्धित हो ।

 

जसको सिधा सम्पर्क मान्छेको सोचसँग (Human psychology) हुन्छ । लाेईस टाईसन (Lois Tyson) अमेरिकी लेखकले आफ्नो पुस्तक क्रिटिकल थ्याेरी टुडे (critical theory today) पृष्ठ ६२ मा उल्लेख गर्छिन् कि मार्क्सवादको लागि काेमाेडिफिकेशन वस्तुले के गर्छ (Use value) होइन अपितु सो वस्तुलाई कति रुपैयाँमा बेच्ने वा अन्य कुनै अर्कोसँग साट्ने (Exchange value) र सो वस्तु हुँदा मालिक/स्वामीको कस्तो प्रतिष्ठा समाजमा थपिने (Sign-exchange value) हो । उदाहरणको लागि यदि म एउटा किताब आनन्द उठाउन पढ्छु भने त्यो किताबको युज भ्यालु हो, यदि म त्यही किताब बेच्छु भने त्यो त्यसको एक्सचेन्ज भ्यालु भयो र त्यही किताब म हाेटलकाे टेबलमा लिएर मेरो स्टैटस अरूभन्दा भिन्न र माथि छ भन्ने देखाउँछु भने त्यो किताबको लागि साइन-एक्सचेन्ज भ्यालु हुन जान्छ ।

 

सामान्य रूपमा महिलाको सुन्दरता अमेरिकी र नेपाली समाज जहाँ पनि परम्परागत रूपमा उनको शारीरिक बनावट, छालाको रंग र अनुहारको सुन्दरता तथा पुरुषको लागि उँचाइ, छालाको रंग आदि हुन् । जुन शारीरिक बाह्य सुन्दरता (Physical charming) मात्र हो जसले पुरुषलाई Handsome (ह्यान्सम्) र महिलालाई a beaut or beautiful को ताज दिलाउने क्षणिक कुरा हो । वास्तवमा सुन्दरताको मापदण्ड शारीरिक अङ्ग र बनावटमा सीमित नभई मान्छेको सोच, व्यवहार, चालचलन, बोलाइ आदिसम्म व्यापक हो ।

 

मधेशमा यसको असर

माथिको टाईसनकाे सुन्दरताको परिभाषाको प्रभाव मानव समाजमा जहाँ पनि छ, मधेशमा पनि छ । उदाहरणका लागि विवाहको बेला केटा-केटी दुबैजनाले सुयोग्य जीवन साथी (Life partner) खोज्छन् भने कार्यालय, विद्यालय, बाटामा हिँड्दा वा विपरीत लिङ्गीसँग कुराकानी गर्दा जहाँ पनि सुन्दरताले आकर्षण गरी सकारात्मक-नकारात्मक प्रभाव पारिरहेकै हुन्छन् । विवाहको बेला मधेशमा केटाको उचाइ, शारीरिक स्वस्थ्यता, सम्पन्नता, जागिर वा व्यवसाय आदि हेरिन्छ भने केटीको अनुहार, शृङ्गार, बोलचाल आदि हेरिन्छ नै ।

साथै, यदि केटी काली छ वा पढेलेखेको छैन वा काली भएर शिक्षित भए पनि मोटो दाइजो लिएर केटाले क्षतिपूर्तिको सिद्धान्त (Theory of compensation) अनुसार कतिपय ठाउँमा आफ्नै मनले वा परिवारको दबाबमा बिहे गर्छन् । तर त्यस्तो विवाह जुन मानले मानेको हुनुपर्थ्यो तर त्यो धनले मानेको हो, त्यो धेरै टिक्दैन, टिकाउने नाममा धाने पनि कचकच भइरहन्छ ।

 

त्यो पवित्र दुई मनको मिलन भन्दा पनि गलपासो बन्धन विवाह हुन जान्छ । जहाँ सुख दुःखको साथी श्रीमान्/श्रीमतीले एकले अर्कालाई ठान्नुको साटो "झेलिरहेको" अनुभव भई त्यहीँबाट परपुरुष वा परस्त्रीसँग विवाहेत्तर सम्बन्ध (Extramarital affairs) सम्म धकेलिदिन्छ । तर बुझ्नुपर्ने के हो यहाँ भने यो मधेशकाे मामिलामा त छँदै छ साथै हरेक समाजमा पनि छ । मधेशकाे चर्चा यहाँ भइरहेकोले गर्दा मात्र उपशीर्षक मधेशमा असर भनेर उल्लेख गरिएको हो । 

 

दाइजो किन हटेन त ?

पहिला दाइजो के हो ? वास्तवमा विवाह अघि दुई परिवार बिच बिहेको लागि केटा-केटीबारे कुरा छिनोफानो भइसकेपछि कुल देवी, देवतालाई धार्मिक, सांस्कृतिक रूपमा खुशीपार्न सम्झनलाई दिइने वैवाहिक सगुन (Good Omen/Good Star Shining) अर्थात्, साइत जुराउने निम्ताेमात्र हो जुन अपार खुसीको प्रतीक हो आमाबुवा, परिवार र इष्टमित्र, मानव समाजकै लागि पनि कि हामीले सभ्य मानव समाजको विकासको लागि हामीले एउटा अभिभारा आज पूरा गर्नतर्फ लम्कियौँ ।

 

नेपाल-भारतकाे सनातन हिन्दु-बौद्ध समाजमा मान्छेले रामायण, महाभारतको घट्नाको उदाहरण दिई केटी पक्षबाट दाइजो माग्छन् । यो गलत कुरा हो किनकि समाजपिच्छे सुपारी, रक्सी, दाम, सामान आदि दाइजो जे पनि कम वा बढी सगुनताकाे प्रतीक खुसी मनले हुनसक्छ, यसमा कर चाप नै पहिलाको युगदेखि आजसम्म उल्लेख गरेको पुस्तक, कानुन वा धारावाहिक कथा केही पनि छैन ।

व्यवसाय चलेन भने र पढाइ अनुसारको "सामाजिक प्रतिष्ठा" धान्नलाई घर, कार किन्दा सोबापत पैसा विवाहबाट उठाएको पाइन्छन् ।

 

अवश्य पनि रामायणमा राजा जनकले छोरी जानकीका लागि वा राजा द्रुपदले छोरी द्रौपदीका लागि क्रमशः दुलहा राम वा अर्जुनलाई दाइजो दिए । तर पौराणिक कालको घटना दिएर दाइजो असुल्ने गैर कानुनी काम गर्नेले भने के बिर्सन्छन् भने १) सो बेला दाइजो मागेर होइन खुसीले दिन्थ्यो वा नसक्नेले दिंदैनथ्याे, २) बिहे पछि मात्र सामान, सुन, चाँदी, नाेकरानी, लुगा कपडा, जिन्सी आदि दिईन्थ्याे जबकि आज बिहे अघि शर्तनामामा मागिन्छन्, ३) दाइजोको कुरा सो बेला गौण थियो र क्षमताका आधारमा दुलहा (Bridegroom) र दुलही (Bride) खोजिन्थे, आजकाे जस्तो लाेभलाचमा खोजिने जस्तो होइन अर्थात्, आज दुलहा मान्छेलाई नै काेमाेडिफाई (Commodify) गरियो जबकि दुलहीको सुन्दरता र सिपको गणना हुन छाड्यो । पढेलेखेको समाजमा यी कुराहरूमा व्यापक सुधार आइरहेको पनि छ तर अनपढ परिवार गाऊँ र शहर जहाँ पनि गरिबी र अशिक्षामा उही विकराल दाइजोको छ । 

 

 

मधेशबाट सबैले देखिने गरी व्यापक दाइजोको रूप उपत्यका र पहाडमा सबै समुदायमा नगदबाट कार, मोटरसाइकल, गरगहना, पलंग, जमिन आदि लिने जिन्सीसम्म पुगिसक्यो । कानुनले वर्जित गरिसकेको अवस्थामा पनि शिक्षित डाक्टर/इन्जिनियर तथा महँगो पढाई पढेका भनिएकाहरूले पनि लिन्छन् किनकि पडाइको खर्च उठाउन खोज्छन् । व्यवसाय चलेन भने र पढाइ अनुसारको "सामाजिक प्रतिष्ठा" धान्नलाई घर, कार किन्दा सोबापत पैसा विवाहबाट उठाएको पाइन्छन् ।

 

जसमा राज्यले महँगो शिक्षा प्रदान गरेको तथा देशको सरकारी जागिरमा पारदर्शिता नरही अयोग्यले पनि पसेर भ्रष्टाचार गर्न पहिला जागिरमा पस्नलाई घूस दिने अब त्यो विवाहबाट असुल्ने धेरैले सोच पलाएको हुन सक्नेलाई कारण मान्छन् । अर्थात्, सरकारले सुशासन र पारदर्शिता अपनाइरहेको परिवेशमा अझ धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ, खासगरि नेपाली समाज र मधेशलाई त्यसभित्र राम्ररी हेर्ने हो भने । 

केटाको स्वयंको विवाहमा लाजले अगाडि बढ्न अप्ठ्यारो अवस्थामा उसको बुवा नभएको नाजायज फाइदा उठाएर दाइ-भाईसमेतलाई अलग पारेर झुक्याएकाे अवस्था छ

 

मधेशमा दाइजोको विकृति अवश्य पनि भारतीय समाजबाट आयातित हो । जहाँ आज पनि कानुनलाई छलेर दुलहा डाक्टरलाई कमलको पुष्प (Lotus), ईञ्जिनियरलाई गुलाफको फूल (Rose) क्याटेगरी तथा व्यापारी, सरकारी जागिरेलाई यस्तै विभिन्न क्याटेगरीमा विभाजन गरी सबभन्दा बढी लाेटस दुलहाको दाइजो रेट गरी असुलिन्छ, मानवताको शर्मशार तर उनीहरूले पढाई खर्च आर्थिक बाध्यता भन्छन् ! 

 

मधेश वा नेपाली समाजमा दाईंजाेप्रति कस्तो विकृति पनि पाइन्छन् भने एउटै परिवारमा छोरा र छोरी छन् भने पहिला छोरीको बिहेमा दाइजो विरोधी "चर्को अभियन्ता" भई मुफ्तमा बिहे गर्छन् तर छोराको बिहेको बेला "अभियन्ता"को जागिरबाट "राेगविशेष" ले मुक्ति पाएर मोटो रकम असुलिन्छ । कति जनाको केसमा त के देखियो भने जनकपुर-महोत्तरी कायस्थ जातिमै पनि जुन उच्च जात र साक्षर मधेशमा गनिन्छन् कि कति क्लिष्ट जस्तो सफा मनको केटा ले एक सुको दाइजो लिन चाहेनन्, बलजफ्ति भिडाइयो, केटा सरकारी जागिरदार रहँदा केटी सबै विषयमा अनिवार्य विषयमा जस्ट पासबाहेक अनुत्तीर्ण, आफ्नो खानासमेत नपकाउने अल्छीलाई इन्जिनियर केटी भनेर भिडाइयो र भिडाउनेमा राजनैतिक दलकै नेताको संलग्नता पाइयो ।

किनकि केटी पक्षको घरमा नेताको सम्बन्ध पहिलादेखि कसैको विहेभएर गाँसिएको छ र उसले यही "गुण तिर्न"लाई अल्छी, बदमास तथा पढ्नमा अक्षम केटीलाई राम्रो केटा आर्थिक रूपले कमजोरसँग विभिन्न अर्थमा बेमेल विवाह हुन भिडाइयो । जसमा नेताले सूचना केटीबारे लुकायो कि केटीको मन पर्ने ब्वायफ्रेण्ड परजातमा अर्कै छ ! फलस्वरूप विवाह त टिकेन नै अब त्यस नेतालाई के गर्ने कानुनले जो मेरो संलग्नता कानुनी ढंगले छैन भन्दै उल्टै "समाजसेवा"मा लागेका छन् ? यहाँ दाइजोको नाममा ढाकछोप, पारदर्शिता नअपनाउने र केटाको स्वयंको विवाहमा लाजले अगाडि बढ्न अप्ठ्यारो अवस्थामा उसको बुवा नभएको नाजायज फाइदा उठाएर दाइ-भाईसमेतलाई अलग पारेर झुक्याएकाे अवस्था छ ।

 

उपसंहार

सुन्दरता मापनको कुनै तराजु संसारमा र कुनै मानक (ढक) बनेको छैन । अर्थात्, यो मान्छेको मनले ठहर्‍याउने विषय हो कि कसैको कुन कुरा, गुणले, व्यवहारले, लुगाले, वक्तव्य आदिले म सुन्दर वा कुरूप भन्ने हो । यस सुन्दरतालाई व्यापक अर्थमा नबुझीकन केवल शारीरिक आकर्षणमा सीमित राखेर अब स्वार्थवश थप कुरा विवाहको बेला केटा पक्षले केटी पक्षबाट माग्नु वा पाउने मनसुबा (आशा) पालेर बस्नु नै केटातर्फका त्रुटि असफल विवाहको कारण हो र दाइजोले जडो गाड्ने कारण हो ।

 

त्यस्तै, केटी पक्षले पनि केटा सरकारी जागिर भएको र आर्थिक सम्पन्नता भएकै केटा खोज्ने, आफ्नी कन्या हरेक विषयमा कक्षामा ठ्याक्कै उत्तीर्ण (Just pass) भए पनि वा ब्याकलागेकाे भए पनि विवाहको बेला केटालाई सूचना नदिने, झुक्याउने, धेरै तेज तथा राम्रो अंकले उत्तीर्ण केटा खोज्नु, विवाह अघिको केटाको चरित्र केरकार गर्ने तर केटीको चरित्रबारे नबोल्दिने, केटा मिहिनेती खोज्ने तर केटी भने दिनभरि मोबाइल चलाउने र टिभी सिरियल हेरेर बस्ने तर खानासमेत राम्ररी नपकाउने, जायज कामहरू गर्न नसक्ने र हाेटलबाट मगाएर खाने कारणहरू छन् । त्यस्तै, अन्य कारणमा कति केटी पक्षले विवाहपछि केटाको आमाबुवासँग नै सम्बन्ध टुटाएर आफ्नो पूर्ण पकडमा कब्जामा राख्न खोज्ने वा केटीलाई केटाले पूर्ण नियन्त्रणमा लिने जस्ताहरू माथिको विश्लेषणबाट थाहा पाइन्छ ।

 

मुख्य कुराे हो स्वतन्त्रताकाे नाममा पराकाष्ठामा पुगेर समाज, कुल, खानदान, घर, परिवारको मर्यादा नबुझेर छाडापन केटा वा केटी कसैले देखायो भने अर्को पक्षले प्रश्न उठाउँछ र घरमा कलह बढ्छ । विवाह आर्थिक समानतामा भयो भने टिकाउ तुलनात्मक रूपमा हुन्छ किनकि आर्थिक समानता हुँदा केटा वा केटी कसैले हेप्ने वा विभेद गर्ने पाटो सकिन्छ, यससँगै पढाई लगायत शारीरिक रंग आदिको समानता, सोच्ने क्षितिज/दायरा फराकिलोको समानता केटा-केटीमा भए भने अझ सुनमा सुगन्ध थपिने जस्तो हुनेछ । तर परम्परागत (Arranged marriage) मा परिवारद्वारा यति कुरा मिलाउन आजकाे व्यस्त जमानामा गाह्रो हुने देखिन्छ भने केटा र केटीले नै सामुमा बसेर मन र दिल खोलेर इमानदारी साथ बिहे अघि अभिभावककै सामुमा अलि पर कुराकानी गर्न सीमित दायरा समाजले बढायो भने अझ सरल हुनेछ जस्तो लाग्छ । जुन कुरा समाज मनोविज्ञानमा भर पर्छ, व्यक्तिको सोचमा भर पर्छ ।

 

 अतः दाइजो गैर कानुनी हो नै साथै सफल विवाहको लागि विवाहको बेला पारदर्शिता अपनाउने र गोरो-कालाे जस्तो भए पनि सुन्दर ताको परिभाषा व्यापक बनाएर अरू गुणमा पनि सन्तोष गरेर जानू उचित देखिन्छ । जीवनमा सबैथाेक मनले चाहेर सबैले पाउन सकिँदैन ।

 

लेखक थोकर समाजशास्त्रमा स्नातकोत्तर गरेकी सामाजिक अभियन्ता हुन ।

कन्चन कार्की
| भदौ २८, २०८१ शुक्रबार
समिन बरुवाल
| चैत १५, २०८० बिहिबार