अब मन्थलीमै बिजुली गाडी चार्ज गर्न मिल्ने, खाँद्बारीमा खुल्यो पहिलो पटक ‘चार्जिङ स्टेशन्’

| भदौ ८, २०८० शुक्रबार

A A A
A A A

८ भदौ, रामेछाप । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा इलेक्ट्रिक गाडी चार्जिङ सेन्टर संचालन भएको छ । यो चार्जिङ स्टेसन जिल्लामै पहिलो पटक सुचारु भएको हो । 

 

लामो समयदेखि मन्थलीमा इलेकट्रोनिक पसल संचालन गर्दै आएका प्रमोद श्रेष्ठले मन्थली स्थित खाँदबारीमा चार्जिङ् स्टेसन संचालनमा ल्याएका हुन् । 

 

२० देखि २५ वटा इलेक्ट्रिक गाडी दैनिक राजधानी सहितका ठाउँबाट यहाँ ओहोर-दोहोर हुँदै आएको अवस्थालाई मध्य नजर गरी चार्जिङ स्टेसन सुरु गरिएको श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । ‘अहिले कम्पनीले दई वटा चार्जिङ मेसिन ५–५ लाखको निःशुल्क उपलब्ध गरेको छ । भने अन्य सामाग्रीको लागि मेरो करिब ५ लाख लागत परेको छ ।’

उनका अनुसार कम्पनीको सहयोग सहित कूल १५ लाख लागतमा चार्जिङ स्टेसन सुरु भएको हो । शुक्रबारदेखि औपचारिक रूपमा चार्ज गर्न थालिएको स्टेसनबाट पहिलो दिन ६ वटा गाडी चार्ज भएको छ । एउटा गाडीले चार्ज गर्दा १ युनिट विद्युत् बराबर ७ रुपैयाँका दरले चार्ज शुल्क तिर्नु पर्नेछ । एक पटकमा दुई वटा गाडी चार्ज गर्न मिल्छ । 

 

केही महिना यता जिल्ला सदरमुकाम सहित कालोपत्रे सडक भएका स्थानमा इलेक्ट्रिक गाडी चल्ने क्रम बढ्दो छ । यी गाडी यहाँ चार्जिङ स्टेसन नहुँदा समस्यामा पर्दै आएका थिए । अब चार्जिङ स्टेसन खुलेसँगै त्यो समस्या समाधान भएको छ । यसअगाडि सिन्धुलीको मुलकोट स्थित चार्जिङ स्टेसनमा चार्ज गर्न पुग्नु पर्ने बाध्यता थियो । 

देवकोटा चोकमा यात्रु कुर्दै इलेक्ट्रिक गाडी, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

विद्युतीय गाडीको चार्जिङ स्टेसन समेत संचालन भए पनि यात्रुले भने बिजुली गाडीको भाडा डिजेल गाडीको सरह नै भएको भन्दै गुनासो गर्दै आएका छन् । अन्य गाडीको तुलनामा बिजुली गाडीको खर्च सस्तो भए पनि यात्रुसँग उही दरमा लिनु यात्रु मैत्री नदेखिएको यात्रीहरूको भनाई छ ।