जिल्ला अस्पताल रामेछापमा ३६ बेड निःशुल्क, बागमती प्रदेशका यी अस्पतालमा पाइन्छ निःशुल्क बेड ?

| भदौ ८, २०८० शुक्रबार

A A A
A A A

८ भदौ, रामेछाप । जिल्ला अस्पताल रामेछापमा ३६ वटा ‘बेड’ सेवाग्राहीको लागि निःशुल्क गरेको अस्पतालले जनाएको छ । रामेछाप डाँडा स्थित रामेछाप अस्पतालमा अब यी बेडको सेवाग्राहीले चार्ज तिर्नु पर्दैन ।  

 

स्वास्थ्य मन्त्रालय अन्तरगत बागमती प्रदेशका १३ वटा जिल्लामा  मन्त्री सहितको निर्देशनमा आई.सि.यु., एन. आई.सि.यु.र क्याबिन बाहेकका ८ सय ११ वटा बेड गत भदौ १ गतेदेखि बिरामीको लागि निःशुल्क गरेको प्रदेश स्वास्थ्य मन्त्रालयले रामेछाप टाइम्सलाई जानकारी दिएको हो । यसअगाडि संघीय स्वास्थ्य मन्त्रीले सरकारी अस्पतालमा बेड निःशुल्क गर्ने घोषणा गरेका थिए । 

 

सोही अनुरूप प्रदेशको स्वास्थ्य मन्त्रालयले पनि यो नीतिलाई कार्यान्वयन गर्दै कडा निर्देशन सहित अस्पतालमा बेड निःशुल्क गर्न निर्देशन दिएको हो । जसअनुसार प्रदेश राजधानी स्थित हेटौँडा अस्पताल मकवानपुरले १७५, त्रिशूली अस्पताल नुवाकोटले ९२, धादिङ अस्पताल धादिङले ७९, भक्तपुर अस्पताल भक्तपुरले ७५, चौतारा अस्पताल सिन्धुपाल्चोकले ३६, मेथिनकोट अस्पताल काभ्रेपलान्चोकले ५१ र बकलुहर रत्ननगर अस्पताल चितवनले ७६ बेड निःशुल्क गरेका छन् । 

 

त्यस्तै सिन्धुली अस्पताल सिन्धुलीले ७७, पशुपति चौलागाई मेमोरियल अस्पताल दोलखाले ४५, बज्रबारही चापागाउँ अस्पताल ललितपुरले २५, रसुवा अस्पताल रसुवाले १९, टोखा चण्डेश्वरी अस्पताल काठमाण्डौंले २५ र रामेछापले अस्पतालले ३६ गरी ८ सय ११ बेड निःशुल्क गरेको प्रदेश स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो । 

 

सूची हेर्नुहोस्